NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राष्ट्रियसभा सदस्य निर्वाचन : गण्डकी प्रदेशमा मतदान जारी

काठमाडौं । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ ।

गण्डकी प्रदेश
गण्डकी राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशबाट चुनिने तीन सदस्यका लागि मतदान सुरु भएको छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा रहेका दुई मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

“दिउँसो ३ बजेसम्म मतदानको अवधि रहेको छ”, कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले भने, “गण्डकीमा दुई सय ३० जना मतदाता रहनुभएको छ ।” अन्य, महिला र अपाङ्गता÷अल्पसङ्ख्यकतर्फ गरी तीन सिटका लागि मतदान भइरहेको हो ।

चार दलका आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको सूचना अधिकारी न्यौपानले जानकारी दिए । सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसले अन्य र अपाङ्गता/अल्पसङ्ख्यक कलस्टरमा क्रमशः गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ ।

महिलामा नेकपा (माओवादी केन्द्र) बाट पर्वतकी मनरुपा शर्मा चुनावी प्रतिस्पर्धामा छिन् । नेकपा ९एमाले०ले अन्य कलस्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, महिलातर्फ गोरखाकी सम्झना देवकोटा र अपाङ्गता÷अल्पसङ्ख्यक कलस्टरमा हेमन्द्र शेरचनलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठलाई उम्मेदवार छिन्। राप्रपाले अपाङ्गता÷अल्पसङ्ख्यकतर्फ भने उम्मेदवार उठाएको छैन । अन्य, महिला र अपाङ्गता÷अल्पसङ्ख्यकतर्फ यसअघि निर्वाचित तीन सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिन लागेकाले ती सिटमा निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा प्रदेशसभाका ६० र स्थानीय तहका एक सय ७० गरी कूल दुई सय ३० मतदाता रहेका छन् । चुनावमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार रहेको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार रहेको छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ मतदाता छन् । जसको कूल मतभार दुई हजार सात सय चार रहेको छ । बाइस प्रदेशसभा सदस्य र ६८ स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको एमालेको मतभार दुई हजार चार सय ५८ रहेको छ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ३० गरी कूल नौ सय ९४ मतभार रहेको छ । दुई जना प्रदेशसभा सदस्य मात्र रहेको राप्रपाको एक सय छ, तीन स्थानीय तहको प्रमुख र उपप्रमुख रहेको राष्ट्रिय जनमोर्चाको ५७, एक प्रदेशसभा सदस्य र एक स्थानीय प्रमुख रहेको नेकपा (एकीकृत समाजवादी) को ७२ र स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित मनाङको ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङको १९ मतभार छ ।