NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नबिल बैंकको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’, के–के छन् सुविधा ?

काठमाडौं । नबिल बैंकले नबिल दक्ष प्रवासी उद्यमशील कर्जा योजना सञ्चालनमा ल्याएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच बैंकले औपाचारिक रुपमा सो कर्जा योजना सञ्चालनमा ल्याएको हो ।

वैदेशिक रोजगारीमा गएर नेपाल फर्केका नेपालीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित बैंकले सो कर्जा योजना ल्याएको जनाएको छ । आयमूलक व्यवसाय सुरु गर्न वा विस्तार गर्न चाहने प्रवासी नेपालीले यो कर्जाका लागि आवेदन दिन सक्छन् ।

प्रवासी नेपाली र उनीहरुको परिवारलक्षित उक्त कर्जा योजना सहुलियत ब्याजदरमा  १० वर्ष अवधिको लागि न्युनतम १५ लाख रुपैयाँदेखि १० करोड रुपैयाँसम्मको लागि उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो कर्जा सुविधा चार भागमा विभाजन गरेको छ । बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रूपैयाँको कर्जा प्रदान गर्नेछ । त्यसैगरी, बैंकले लगानी थप गरी उद्योग विस्तार गर्न चाहनेलाई १५ लाख रूपैयाँदेखि १ करोड रूपैयाँसम्म कर्जा दिनेछ । सञ्चालनमा रहेका उद्योगलाई थप लगानी गरी व्यवसाय अगाडि बढाउनेलाई १ करोडदेखि ५ करोड रूपैयाँसम्म र  सञ्चालन गर्दै आएका व्यवसायलाई बजारमा ठूलो क्षमतामा अगाडि बढाउने योजना बनाएका युवाहरूलाई बैंकले १० करोड रूपैयाँसम्म कर्जा प्रदान गर्ने छ ।साथै यो कर्जा नबिल बैंकमार्फत रेमिट्यान्स पठाउनेहरुलाई विशेष सहुलियत प्रदान गरिने छ ।

यो कर्जा सुविधा अनलाइनबाटै लिन सकिन्छ भने तीनदेखि पाँच दिनभित्र कर्जा स्वीकृत हुने बैंकले जनाएको छ । कर्जा लिनको लागि नेपाली नागरिक हुनुपर्नेछ भने कोल्याट्रलको आवश्यक पर्नेछ । बैंकका अनुसार कर्जाको लागि धितोको रुपमा व्यक्तिगत ग्यारेन्टी, जग्गा वा आफूसँग भएको सम्पति देखाउनुपर्ने छ ।

कार्यक्रममा नबिल बैंकले सुरु गरेको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा व्यवसाय मात्र नभई एक अभियान रहेको बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले बताएका छन्। वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूको सीप र काम गर्ने जोशलाई प्राथमिकतामा राखेर बैंकले आवश्यकीय सबै खाले सेवा सुविधासहित कर्जा उपलब्ध गराउने  बताउछन्।

अध्यक्ष पौडेलले नाफा कमाउने उद्देश्यभन्दा पनि वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै केही गर्न प्रोत्साहन होस् भनेर यो कर्जा योजना सञ्चालनमा ल्याएको उल्लेख गरे । विदेशमा सिकेर आएको सीप दिगो रुपमा रोजगारी तथा उद्यम गर्न सक्ने वातावारण यो कर्जाले दिने उनको भनाइ थियो ।

बैंकका कार्यकारी निर्देशक (सिईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल दक्ष प्रवासी उद्यमशील कर्जा योजनाले देशको अर्थतन्त्रलाई राहत पुग्ने र सीप सिकेर आएका नेपालीलाई व्यापार व्यवसाय खडा गर्नमा सहयोग पुग्ने बताए । त्यस्तै उनले यो कर्जा विस्तारपछि फर्मल च्यानलबाट आउने रेमिट्यान्समा समेत वृद्धि हुने विश्वास व्यक्त गरे ।

नबिलले ल्याएको यो कर्जा योजना कर्जा मात्रै नभएर देशमा उद्यम र रोजागरीको सिर्जना हुने र व्यापार व्यवसाय खडा हुँदा अर्थतन्त्रमा सहयोग पुग्ने उल्लेख गरे ।

कार्यक्रममा श्रम स्वरोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुसँग सीप हुने भएकोले नबिल बैंकको यो कार्यक्रम प्रभावकारी हुने बताए।

रोजगारबाट फर्किएका व्यक्तिहरुसँग सीपसँगै काम गर्ने संस्कृतिसमेत बोकेर आएको हुने हुनाले स्वदेशमै केही गर्छु भन्न चाहने व्यक्तिहरुको लागि यो कार्यक्रमले थप टेवा पुग्ने उनले बताए।

‘विदेशबाट आएका व्यक्तिहरुले विशेषगरी तीन कुरा ल्याएका हुन्छन् पहिलो सीप, दोस्रो काम गर्ने संस्कृति र तेस्रो पुँजी।’ उनले भने, ‘तर यसरी फर्कीएका व्यक्तिहरुसँग स्वदेशमै केही गर्छु भन्नको लागि चाहिएजति पुँजी हुँदैन त्यसैले नबिलले ल्याएको यो कार्यक्रमले रिटर्नीहरुलाई स्वदेशमै केही गर्छु भन्नको लागि प्रोत्साहन गर्छ।’

देशमा युवा शक्ति रित्तिइरहेको अवस्थामा नबिल बैंकको यो कर्जा निकै नै महत्त्वपूर्ण र प्रभावकारी हुने उनले बताए। साथै विदेशीने युवाहरुको संख्या बढिरहेको तथ्याङ्कहरु बाहिर आइरहेको भएपनी ती युवाहहरुलाई पुर्याउन गएका जहानहरु कुनैपनि खालि नआएको र सबै जहाज भरिएर नै आएरहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘विदेशीने युवाहरुको संख्या बढ्यो भनिरहदा ती युवाहरुलाई पुर्याउन गएका जहाजहरु कुनै खाली पनि त फर्किएका छैनन् यसको मतलब उतिकै मात्रामा उनीहरू फर्किरहेका पनि त छन्। यो कुरालाई नबिल बैंकले ध्यानमा राखेर यो नयाँ कार्यक्रम सुरु गरेकोमा खुशी लागेको छ।’

‘युवा विदेशिनु दयनीय अवस्था हैन विदेशिएका युवाहरू स्वदेश नफर्कनु र उतै सेटल भएर बस्नु चाहिँ चिन्ताको विषय हो’ उनी भन्छन्, ‘तर अब हामीले उनीहरुलाई स्वदेशमै केही गर्ने बातावरण दिन सक्नुपर्छ जसमा नबिल बैंकको पनि यो कार्यक्रम मार्फत ठुलो भूमिका रहनेछ।’

आप्रवासी नेपाली कामदारहरूलाई स्वदेश फर्कन र स्वदेशमै उद्यम गर्न सहज वातावरण दिने उदेश्यस्वरुप आप्रवासी उद्यमशील कर्जा ल्याएकोमा नबिल बैंकलाई उनले धन्यवाद समेत दिए।

त्यस्तै कार्यक्रममा श्रम, रोजगार मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले विदेशिनेको संख्याका साथै फर्कने संख्या पनि ठूलो रहेकाले नबिलको यो योजनाले उनीहरुलाई नेपालमा उद्यम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘सरकारले विदेशबाट फर्कनेका लागि पनि हाल विभिन्न कार्यक्रम अगाडि सार्ने तयारी गरिरहेको छ।’ उनी भन्छन्, ‘सरकारको यो तयारी र गर्न खोजेको कामलाई नबिल बैंकको कर्जा योजनाले सहयोग गर्नेछ।’

विदेशबाट फर्कने नेपालीलाई सहुलियत कर्जा योजना सञ्चालन गरेर बैंकले सामाजिक उत्तरदायित्व नभुलेको उनले बताएका छन्। बैंकलाई विदेश जाने तयारी थालेका तथा भिसा लागेका व्यक्तिका लागि पनि सहुलियत कर्जा व्यवस्था गर्न उनले सुझाव दिए साथै हाल संचालनमा ल्याएको कार्यक्रमले कृषि क्षेत्रको विकासमा मद्दत गर्ने अपेक्षा लिएको बताए।