माधव नेपाललाई हराएका झक्कुले माधवकै समर्थनमा पुन: तय गरे संसदयात्रा

दाङ । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् ।
सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी सापकोटा विजयी भएकी हुन्। सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी भएकी हुन् ।
झक्कु सुवेदी उनै हुन् जो, रोल्पाबाट काठमाडौंमा गएर ०६४ सालको निर्वाचनमा नेकपा एमालेका तत्कालीन शक्तिशाली महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका थिए । तर, आज उनै झक्कु माधव नेतृत्वको पार्टी नेकपा एसको पनि समर्थनमा पुन: संसद यात्रा तय गरेका छन् ।
आज भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई हराउँदै गठबन्धनतर्फबाट उम्मेदवार बनेका सुवेदी र सापकोटा विजयी भएका हुन् । निर्वाचनमा सुवेदीले पाँच हजार चार सय ३५ र सापकोटाले पाँच हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।
निर्वाचन अधिकृत पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवार केसीले दुई हजार आठ सय ६७ मतभार र घर्ती क्षेत्रीले तीन हजार ३९ मतभार प्राप्त गरेका थिए ।
प्रतिक्रिया