NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

फेरि शक्तिमा फर्किए सिटौला

काठमाडौं । गृहमन्त्री रहेकै वेला ०६३ असारमा माओवादी अध्यक्ष प्रचण्ड र अर्का नेता डा. बाबुराम भट्टराईलाई कास्कीको सिक्लेसबाट हेलिकोप्टर चढाएर काठमाडौं ल्याउने कांग्रेस नेता कृष्णप्रसाद सिटौला शान्ति प्रक्रियाका एक प्रमुख पात्र हुन् । शान्ति प्रक्रियाको सुरुवाती दिनमा समन्वयकारी भूमिका खेलेका सिटौलालाई संयोगले पुन: शान्ति प्रक्रिया टुंग्याउने एक पात्रको जिम्मेवारीमा फर्काएको छ ।

बिहीबार उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् र सम्भवतः उनले यो सभाको नेतृत्व गर्ने मौका पाउँदै छन् । सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक सदनमा विचाराधीन छ । यदि सिटौला राष्ट्रिय सभा अध्यक्ष भए भने विधेयक पारितमा उनको भूमिका अर्थपूर्ण नै रहनेछ ।

प्रधानमन्त्री प्रचण्डसँगको निकटताले सिटौला आफूले चाहेको अवस्थामा सहजै राष्ट्रिय सभा अध्यक्ष हुनेछन् । सिटौला प्रचण्डका पनि रोजाइका पात्र हुन् भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी नेताहरूकै बैठकमा बताएका थिए । राष्ट्रिय सभा उम्मेदवार छान्ने बैठकमा देउवाले भनेका थिए, ‘प्रचण्डजीको पनि चाहना छ, कोशीमा सिटौलाजीलाई उम्मेदवार बनाऔँ ।’

दुईवटा संसदीय निर्वाचनमा पराजय भोगेका सिटौला केही वर्ष राष्ट्रिय राजनीतिमा नभई कांग्रेसका आन्तरिक राजनीतिमा सक्रिय थिए । तर, ०७४ पछि संसदीय जिम्मेवारीबाट बाहिर रहेका सिटौला राष्ट्रिय सभामार्फत संसद् फर्केका छन्, यसले कांग्रेसको आन्तरिक मात्र नभई राष्ट्रिय राजनीतिमा पनि अर्थ राख्छ ।

संसद् प्रवेशसँगै उनी राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारीमा रहन्छन् भन्ने धेरैको बुझाइ छ । सिटौला निर्वाचित भएलगत्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले त राष्ट्रिय सभा अध्यक्षको भूमिका निभाउने अपेक्षासहित बधाई दिएका छन् । ‘कोशीमा एक सिटबाहेकमा सबैमा गठबन्धनकै पक्षमा परिणाम आएको छ । अब उहाँको भूमिका राष्ट्रिय सभा अध्यक्षकै हो । उहाँलाई पार्टी र गठबन्धनमा सल्लाह सहमतिअनुसार उम्मेदवार बनाइएको हो । उहाँलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन गठबन्धनमा पूर्वसहमति भएको हो । अन्य भूमिकाको विषय छैन । यसमा कुनै आशंका गर्न जरुरी छैन,’ महामन्त्री शर्माले भने ।

तर, कोशीमा माओवादी उम्मेदवार पराजित भएपछि भने गठबन्धनमा शंका उत्पन्न गराएको छ । माओवादी उपमहासचिव वर्षमान पुन निर्वाचन परिणामबारे गठबन्धन दलमा छलफल हुने र बाँकी विषय टुंगो लाग्ने बताए । ‘निर्वाचनको परिणाम सबै स्थानमा गठबन्धनको पक्षमा छ । कोशीमा कांग्रेसको एक तप्काका कारण माओवादी उम्मेदवार पराजित हुनुभएको देखिन्छ । अब गठबन्धनको बैठक बसेर समीक्षा र बाँकी विषय टुंगो लगाउँछौँ,’ उनले नयाँ पत्रिकासँग भने ।

माओवादी महासचिव देव गुरुङ गठबन्धनको बैठकमा सिटौलालाई अध्यक्ष बनाउने विषयमा भएको सहमतिबारे आफूलाई जानकारी नभएको दाबी गर्छन् । तर, माओवादीका एक अर्का पदाधिकारी गठबन्धनमा सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति बनेको बताउँछन् । ‘उम्मेदवारीअघि सिटौलाजीलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने गरी सहमति भएको हो, तर परिणामपछि अवस्था फेरियो,’ उनले भने, ‘धोका पनि दिने अनि कांग्रेसले भनेको खुरुखुरु मानेर जाने नहुन पनि सक्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।