NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कांग्रेसले विश्वास गुमायो, गठबन्धनबारे समीक्षा गर्नुपर्छ : पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेस गठबन्धनप्रति इमानदार नभएको आरोप लगाएका छन् । कांग्रेसले विश्वास गुमाउँदै गएकाले गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने उनले बताए ।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका जनप्रतिनिधिको मत क्रसले माओवादी उम्मेदवार पराजित भएको पर्सिपल्ट माओवादीका प्रभावशाली नेता पुनले यस्तो औंल्याएका हुन् । उनले माओवादी उम्मेदवारलाई हराउन कांग्रेसबाट धोका भएको भन्दै राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको बताए ।

‘हरेक निर्वाचनमा माओवादीले कांग्रेसलाई इमानदारितापूर्वक मत दिए पनि कांग्रेसबाट धोका खाने क्रम जारी छ । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ । कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं,’ पार्टीका जनप्रतिनिधि र जिल्लास्तरीय नेतालाई प्रशिक्षण दिन गृह जिल्ला रोल्पा पुगेका पुनले भने ।

गत माघ ११ मा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी उम्मेदवारलाई कांग्रेसले मत नदिँदा एमाले उम्मेदवार विजयी भएका थिए । त्यस्तै कोशीमा सरकार गठनका क्रममा पनि कांग्रेसबाट माओवादीले धोका पाएको थियो । यी दुई घटनाक्रमलाई लिएर माओवादीभित्र कांग्रेसप्रति तीव्र असन्तुष्टि प्रकट भइरहेको छ ।

यसबारे गठबन्धन दलको बैठकमा छलफल हुने उल्लेख गर्दै  उनले कांग्रेससँग यसलाई बैठकको एजेण्डा बनाएर छलफल गर्न माग गरे ।

नेता पुन गैरकम्युनिस्टसँग नभएर कम्युनिस्टसँग गठबन्धन गर्नुपर्ने मत राख्ने माओवादीका सीमित नेतामध्येमा पर्छन् । उनले एमालेसँगको गठबन्धनलाई निरन्तरता दिन प्रयाससमेत गरेका थिए । नेता पुनको पछिल्लो गठबन्धनबारे समीक्षा गर्नुपर्ने अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।