NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

दुई प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं । दुई प्रदेशमा आज वर्षाको आकलन गरिएको छ । काठमाडौंमा भने आज पानी पर्ने सम्भावना छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा हुनसक्छ । कोशी प्रदेशका एक दुई स्थानमा राति पनि फाटफुट वर्षाको योग छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बिहीबार लामो समयपछि वर्षा भएको थियो । वर्षापछि मौसम चिसिएको छ । महाशाखाले सार्वजनिक गरेको मौसम बुलेटिनअनुसार शुक्रबार बागमती प्रदेशभित्र आंशिक बदली भए पनि पानी पर्ने सम्भावना छैन ।

विभिन्न प्रदेशमा शुक्रबार पनि हिमपात हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा आज हल्का हिमपातको सम्भावना छ।

शनिबार भने कतै पनि वर्षाको आकलन गरिएको छैन । आइतबार भने तीन प्रदेशमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

पश्चिम वायुको प्रभावले केही दिनयता देशभरको मौसममा बदली आएको छ । तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको छ । मौसमविदहरूले देशभर चिसो बढेकाले यसका सम्भावित जोखिमबाट बच्न सचेत गराएका छन् ।