NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

केन्याका धार्मिक नेतामाथि १९१ बालबालिकाको हत्या गरेको अभियोग

नैरोबी । मालिन्दी उच्च अदालतले केन्याली ईसाई पन्थ नेता पल नथेन्ज म्याकेन्जी र अन्य २९ जना संदिग्धलाई एक सय ९१ बालबालिकाको हत्या गरेको अभियोग लगाएको सिएनएनले बताएको छ ।

गत वर्ष पूर्वी केन्याको शाकाहोला जङ्गलबाट शव निकालिएको थियो । त्यहाँ म्याकेन्जी र उनका सहयोगीहरूमाथि मृत्यु संस्कार सञ्चालन गरेको आरोप लगाइएको थियो । महिनौँसम्म खोजी गरेपछि अधिकारीहरूले ती शव विशाल जङ्गलबाट बाहिर निकालेका थिए ।

यद्यपि सिएनएनका अनुसार म्याकेन्जी र अन्य २९ जनाले दोषी नभएको स्वीकार गरेका छन् । संदिग्धमध्ये एक जनालाई मुद्दा चलाउनका लागि मानसिकरूपमा अयोग्य पाइएको छ । यसका साथै म्याकेन्जीमाथि आतङ्कवाद, हत्या र बाल क्रुरतासहित अन्य थुप्रै आरोप लगाइको छ ।

गुड न्युज इन्टरनेसनल चर्च सञ्चालन गर्ने म्याकेन्जीमाथि डुम्सडे (प्रलयको दिन) पन्थको नेतृत्व गरेको आरोप छ । डुम्सडेमा उनले मृतकहरू स्वर्गमा पुग्न सकुन् भनेर आफ्ना अनुयायीहरूलाई आफू र आफ्ना छोराछोरीलाई भोकै मर्न निर्देशन दिएका थिए ।

त्यसपछि म्याकेन्जीको निर्देशनअनुसार पन्थले संसारको अन्त्यको तयारी गरिरहेको अनुसन्धानकर्ताहरूले आरोप लगाएका छन् । अनुसन्धनकर्ताहरूले प्रमाणका लागि जङ्गलमा महिनौँसम्म खोजबिन गरेकाले म्याकेन्जी गत अप्रिलदेखि हिरासतमा छन् ।

पछि शव परीक्षणको नतिजाबाट बरामद गरिएका शवहरूमध्ये धेरैको भोकमरीले मृत्यु भएको पत्ता लागेको थियो । अन्य शवमा आघात र घाँटी थिचेको लक्षण देखिएको सिएनएनले बताएको छ ।

गत महिना एक अदालतले म्याकेन्जीविरुद्ध अभियोजकहरूले आरोप नल्याए उनलाई रिहा गर्ने धम्की दिएको थियो । धेरैजसो शवहरू गम्भीररूपमा कुहिएका कारण डिएनएमार्फत पीडितहरू पहिचान गर्न लामो प्रक्रियाको सामना गर्नुपरेको अभियोजकहरूले जवाफ दिएका थिए ।