घुस लिने–दिने दुवैलाई कैद सजाय
काठमाडौं । घुस लिने–दिने दुवैलाई बिशेष अदालतले दोषी ठहर गरेको छ। विशेष अदालतले अदालतमा प्रतिकूल बकपत्र गरेको भन्दै घुस दिनेलाई पनि एक महिना कैद सजाय सुनाएको हो । शुक्रबार विशेषले सरकारी साक्षी भएर पनि प्रतिकूल बकपत्र गरेको भन्दै घुस दिने नबि अख्तर मियाँलाई सजाय सुनाएको हो ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यसससम्बन्धि फैसला सुनाएको हो ।
मालपोत कार्यालय बारामा कार्यरत खरिदार रामविश्वास साह र कलैया महानगरपालिका २५ का गौरीशंकर कुशवाह घुससहित पक्राउ परेका थिए । जग्गा रजिस्ट्रेसन पास गर्न भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ माग गरिरहेको सूचना आएपछि हेटौँडाबाट खटिएको आयोगको टोलीले साह र कुशवाहका साथ घुस लिइसकेको १५ हजार रुपैयाँ बरामद गरेको थियो ।
खरिदार साहले कुशवाहलाई घुस रकम लिन लगाएको अख्तियारको अनुसन्धानले देखाएको थियो । जसपछि कुशवाहलाई मतियार र साहलाई मुख्य कसुरदारका रूपमा प्रतिवादी बनाई २९ जेठ ०८० मा मुद्दा दायर भएको थियो ।
यस मुद्दामा विशेषले कसुर कायम हुने फैसला गर्दै साहलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकेको छ । यसैगरी, मतियार कुशवाहलाई भने १५ दिन कैद तथा ७५ सय रुपैयाँ जरिवाना हुने भएको छ ।
यस मुद्दामा घुस बुझाउने मियाँलाई विशेषले सरकारी साक्षीका रूपमा सजाय छुट दिँदै अदालतमा पेस गरेको थियो । तर, उनले अख्तियारमा गरेको बयानभन्दा फरक बकपत्र गरेपछि अख्तियारले उनलाई सजाय माग गर्दै पछि मुद्दा चलाएको थियो ।
यस कसुरमा मियाँ दोषी पाइएपछि एक महिना कैद सजाय भएको हो । उनीविरुद्ध विशेषमा १२ असोजमा प्रतिकूल बकपत्रको निवेदन दर्ता भएको थियो ।
मुद्दाबाट सफाइ पाउन साक्षीलाई प्रतिकुल बकपत्र गराउन लगाए पनि सबै दोषी ठहर भएका छन् ।
प्रतिक्रिया