सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढ्यो
पर्सा । सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पर्सामा बढ्दै गएको छ । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा चालू आवको सोही अवधिमा सवारी दुर्घटनामा ५८ प्रतिशत वृद्धि भएको छभने ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढेको छ ।
गत आवको पहिलो छ महिनामा भएका एक सय ३१ सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको तुलनामा चालू आवको सोही अवधिमा दुई सय सात सवारी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ ।
जिल्लामा भएका कुल सवारी दुर्घटनामध्ये ६५ प्रतिशत दुर्घटना मोटरसाइकलका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक नै बढी रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए।
उनले सबैभन्दा बढी सवारी दुर्घटना जिल्लाको ग्रामीण भेगमा हुने गरेको छ । उनले दुर्घटनाको मुख्य कारण द्रुतगतिमा सवारी साधन चलाउनु नै रहेको बताए । सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या वृद्धि भएसँगै दुर्घटनामा परी गम्भीर घाइते हुनेको सङ्ख्या १९ प्रतिशत र समान्य घाइतेको सङ्ख्या ५० प्रतिशतले वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
गत आवमा भएका सवारी दुर्घटनामा परी गम्भीर ४१ र सामान्य एक सय ८१ घाइते भएको तुलनामा चालू आवमा गम्भीर घाइते हुनेको सङ्ख्या ४९ र सामान्य घाइतेको सङ्ख्या दुई सय ७१ पुगेकोे निरीक्षक खतिवडाले जानकारी दिए ।
उनले बढ्दो सवारी दुर्घटनालाई न्यून गर्न ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा आयोजना गरेको चेतनामूलक कार्यक्रममा ४१ हजारभन्दा बढी व्यक्तिलाई सवारी ऐनबारे जनचेतना दिएको बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया