NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

चिनियाँ विद्यार्थीको ‘उत्पीडन’ अन्त्य गर्न अमेरिकासँग बेइजिङको आग्रह

एजेन्सी । चीनका सार्वजनिक सुरक्षामन्त्रीले भियनामा भएको भेटमा अमेरिका प्रवेश गर्ने चिनियाँ विद्यार्थीमाथिको ‘अपमानजनक व्यवहार’ रोक्न अमेरिकी गृहसुरक्षा मन्त्रीलाई आग्रह गरेका छन् ।

यात्राका लागि वैध कागजात भएका चिनियाँ नागरिकलाई अमेरिकी विमानस्थलमा कडाइका साथ अनावश्यक सोधपुछ गर्ने गरेको र निर्वासनको सामना गर्नुपरेको बेइजिङले बारम्बार आरोप लगाउँदै आएको छ ।

गत महिना वासिङ्टनस्थित दूतावासले चिनियाँ यात्रुलाई राजधानीको डुलेस विमानस्थलबाट टाढै रहन भनेको थियो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार वाङ सियाओहोङ र अलेजान्ड्रो मेयरकासबीच आइतबार भएको वार्ताको पूर्वसन्ध्यामा वासिङ्टनले ‘कुनै स्पष्ट कारणबिना चिनियाँ विद्यार्थीलाई अपमानजनक व्यवहार र जाँच गर्न बन्द गर्नुपर्ने’ बेइजिङले बताएको छ ।

मेयरकाससँगको भेटमा वाङले संयुक्त राज्य अमेरिकालाई ‘चिनियाँ नागरिकहरूले उचित प्रवेश व्यवहार र पूर्ण सम्मानको आनन्द लिने सुनिश्चित गर्न’ आग्रह गरेका थिए । वाङले चीनलाई लागुऔषध ओसारपसार गर्ने वा उत्पादन गर्ने प्रमुख देशको सूचीमा राख्ने अमेरिकी निर्णयलाई ‘सच्याउन’ मेयरकासलाई दबाब दिए ।

हेरोइनभन्दा कैयौं गुणा शक्तिशाली र संयुक्त राज्य अमेरिकामा वर्षेनी ७० हजारभन्दा बढी मानिसको मृत्यु हुने फेन्टानिलको व्यापारमा चीनको संलग्नता रहेको अमेरिकी अधिकारीहरूले आरोप लगाउँदै आएका छन् ।  गत महिना बेइजिङमा अमेरिकी र चिनियाँ अधिकारीहरूले फेन्टानिल बनाउने सामग्रीको उत्पादन रोक्न सहकार्य गर्न सहमत भएका थिए । आइतबारको वार्ताको एक अमेरिकी विज्ञप्तिमा भनिएको छ, “वाङ र मेयरकासले पूर्ववर्ती रसायनहरूको फैलावट रोक्न आवश्यक कदमहरूबारे स्पष्ट र रचनात्मक छलफल गरेका थिए ।”

दुवै पक्षले कानून कार्यान्वयन सहयोग, वैज्ञानिक र अन्य विशेषज्ञहरूबीच प्राविधिक द्विपक्षीय आदानप्रदान, अग्रगामी रसायनहरूको तालिका र बहुपक्षीय सहयोगलाई अगाडि बढाउने सम्बन्धमा पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

वासिङ्टन र बेइजिङले बालबालिकालाई अनलाइन बाल यौन शोषण र दुव्र्यवहारबाट जोगाउने लडाइँमा सहयोग विस्तार गर्ने विषयमा पनि छलफल गरेका छन् ।वासिङ्टनले बेइजिङसँग वार्तालाई अघि बढाएपछि चीन र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्ध विगत एक वर्षमा गहिरो भएको छ ।

तर चीन सरकार अझै पनि उन्नत सेमीकन्डक्टरको निर्यातमा प्रतिबन्ध र चिनियाँ फर्म र व्यक्तिहरूमाथि प्रतिबन्धसहित अमेरिकी उपायहरूको विरोध गर्दछ । गत साता म्युनिखमा भएको वार्तामा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकाले ‘गैरकानुनी एकतर्फी प्रतिबन्ध हटाउनुपर्ने’ बताएका थिए ।

चिनियाँ विदेशमन्त्री वाङले अमेरिकालाई चिनियाँ नागरिकमाथि अवाञ्छित उत्पीडन र सोधपुछ बन्द गर्न पनि आग्रह गरेका छन् ।