यी चार प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका चार प्रदेशमा वर्षा हुने प्रक्षेपण गरेको छ ।
आफ्नो दैनिक मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको आकलन गरेको हो । बुलेटिनमा यी प्रदेशमा आज दिउँसो हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ ।
त्यस्तै, मंगलबार दिउँसो नै देशका बाँकी भूभागमा पनि हल्का वर्षाको आकलन गरिएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा पनि हिमपात हुनसक्छ ।
देशका पहाडी भू–भागका केही स्थानमा रातिको समयमा पनि हल्का वर्षा हुने बताइएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपात हुने मौसमविद्को अनुमान छ ।
नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको छ । यही वायुको प्रभावका कारण मौसममा बदलीदेखि वर्षासम्म भइरहेका छन् ।
प्रतिक्रिया