NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते
मुद्दा

पशुअधिकारकर्मीको गुनासो– खोरमा थुनेर पाल्दा कुखुराको स्वतन्त्रता हनन् भो !

एकको अगाडि अर्को पशु वध गरिएकोप्रति पनि आपत्ति, ५ मापदण्ड अवलम्बन गर्न माग

काठमाडौं । पशुपन्छीमाथिको ज्यादति थेगिनसक्नुसँग बढेको भन्दै सरोकारवालाले यससम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अवलम्बन गर्न सरकारसँग माग गरेका छन् । पशुपन्छी कल्याणको पैरवी गर्दै आएको एनिमल नेपालले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले पशुमाथिको ज्यादति अन्त्यमा जोड दिँदै तिनलाई स्वतन्त्रता प्रदान गर्न आग्रह गरे । यसक्रममा हेर्दा सामान्य लाग्ने तर गम्भीर विषय पनि वक्ताहरूले उठाए ।

एनिमल नेपालकी प्रमुख सुलक्षणा राणाले पशुपन्छी तथा जनावरलाई स्वतन्त्रपूर्वक बाँच्न दिन अन्तर्राष्ट्रियस्तरमा पाँच मापदण्ड अभ्यासमा रहेकाले त्यसलाई नेपालमा पनि अंगीकार गर्न सरकारसँग माग गरिन् ।‘पशुपन्छी बाचुन्जेल स्वतन्त्र रहन पाउनु पर्छ । यसका लागि अन्तर्राष्ट्रियमा पाँच मापदण्ड कायम छन् । त्यो अब नेपालमा पनि कायम हुनुपर्छ,’ उनले भनिन् ।

राणाका अनुसार, पशुपन्क्षीको स्वतन्त्रताको पाँच मापदण्डमा भोक, प्यास र कुपोषणबाट मुक्त गर्नु, डर, त्रासमुक्त हुनु, विषाक्त किसिमको केमिकल उत्पन्न हुन नदिनु, आवश्यक तापक्रम, हावापानी उपलब्ध गराउनु र घाउ, चोट नदिनुलगायत पर्छन् ।

उनले जनावरबाट मान्छेमा सर्ने रोग आगामी दिनमा बढ्ने चिन्तासमेत व्यक्त गरिन् । कतिपय रोग पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने भए पनि यसप्रति गम्भीरताबोध नदेखिएको उनको भनाइ छ ।

मानव स्वास्थ्यलाई मध्यनजर गरेर सरकारले कतिपय एन्टिबायोटिकलाई प्रतिबन्ध लगाए पनि भित्रिरहेको र त्यो कुखुरालगायत पन्छीमा प्रयोग हुँदा मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको उनले बताइन् ।

‘अण्डा र मासुलाई प्रोटिनका रूपमा प्रयोग गरिरहेका छौं । तर कतिपय ठाउँमा व्याण्ड गरिएका एन्टिबायोटिक कुखुराहरूमा प्रयोग भइरहेको छ,’ राणाको प्रश्न छ, ‘यसले मानिसलाई कसरी राम्रो गर्छ ।’

कुखुराको दानालगायतमा फिड सप्लिमेन्टमा मिसाइएको एन्टिबायोटिकले एन्टिबायोटिक रेसिस्टेन्स बढाएको भन्दै सरकारले त्यसको प्रयोग तथा आयातमा प्रतिबन्ध लगाएको छ । विज्ञहरूले एन्टिबायोटिक रेसिस्टेन्स भयावह बन्दै गएको तर्फ चिन्ता प्रकट गर्दै सन् २०५० देखि विश्वभर वार्षिक डेढ करोड मानिसले यसकै कारण ज्यान गुमाउने चेतावनी दिइरहेका छन् । एन्टिबायोटिक यति संवेदनशील विषय भए पनिसचेतनाको कमी र फितलो नियामकको फाइदा उठाउँदै दानालगायत फिड सप्लिमेन्टमा एन्टिबायोटिकको निर्वाध प्रयोग भइरहेको छ ।

अप्राकृतिक रूपमा पशुपन्छीपालन गरिएको दृष्टान्त प्रस्तुत गर्दै उनले यो पशु कल्याण र मानव दुवैका लागि हितकर नभएको बताइन् ।

अत्यन्तै क्रुर तरिकाले पशुपन्छीको ढुवानी भइरहेकोप्रति पनि उनले चिन्ता जाहेर गरिन् । राणाका अनुसार, नेपालगञ्ज, कैलाली, महेन्द्रनगरलगायत २४ घण्टा लामो दूरीबाट निर्मम तरिकाबाट पशुपन्छीको ढुवानी भइरहेको छ ।

कुखुरा थुनेकोमा आपत्ति

कार्यक्रम संयोजक मधु कट्टेलले कुखुराको स्वतन्त्रता हनन भएकाले त्यसलाई खोरमा थुनेर नभई स्वतन्त्र ढंगले बाँच्न बताइन् ।

‘कुखराहरूले स्वतन्त्र रूपमा घुमेर खेल्न र चर्न पाउनु पर्छ,’ उनले भनिन्, ‘खोरमा थुनेर यातना दिन पाइँदैन ।’

पशु वधशालामा पशुको अगाडि अर्को पशु वध गरिएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरिन् । यस्तो क्रियाले डर त्रास उत्पन्न भई पशुमा मानसिक असर पर्ने उनको भनाइ छ ।

‘मासु पसलहरूमा एउटा पशुले टुलुटुलु हेरेर बस्ने र अर्को पशुलाई काट्ने प्रवृत्ति छ । यसले हेर्ने जनावरमा नकरात्मक हर्मान उत्पादन भई मानसिक शिकार हुनुका साथसाथै डर त्रास उत्पन्न हुन्छ । त्यसैले यस्तो क्रिया बन्द हुनुपर्छ,’ उनले भनिन् ।

सौगात सप्लायर्सका सञ्चालक सूर्यमान शाक्यले ठूला व्यावसायिक फर्म अर्थात् बेटरी केजबाट उत्पादित अण्डा ७० प्रतिशत र साना किसानले उत्पादन गरेका ३० प्रतिशत अण्डा बजारमा उपलब्ध भइरहेको जानकारी दिँदै लेबलिङ नहुँदा उपभोगमा अन्योल सिर्जना भएको बताए । चेकजाँचबाट अयोग्य भनिएका अण्डा डिस्पोज गरिनुको सट्टा बजारमा पुनः प्रयोग भइरहेकोमा चिन्ता जाहेर गरे ।