NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

घरमा बालबालिकाको सिकाइ र हुर्काइ कस्तो हुनुपर्छ ?

काठमाडौं । अभिभावकलाई घरको दरिलो खम्बा मानिन्छ । अझ विशेषगरी बालबालिकामा अभिभावको महत्व झनै धेरै हुन्छ । किनभने एउटा बच्चा जन्माउदेखि हुर्काउनसम्म अभिभावकले आफ्नो जीवनको अमूल्य समय छुट्याउनु पर्छ ।

अझ भनौं, बच्चा हुनासाथ अभिभावक उसको पालनपोषणदेखि शिक्षादिक्षा र भविष्यसम्म योजना बुन्ने गर्छन् । उनीहरुको भविष्यका लागि उच्च शिक्षा दिलाउन लागि पर्छन् । त्यसैले पनि अभिभावकलाई बालबालिकाको पहिलो विद्यालयसमेत भनिन्छ ।

यी सबै जिम्मेवारी वहन गर्ने क्रममा अभिभावकले आफ्ना बालबालिकालाई घरमा कस्तो सिकाइको वातावरण बनाइरहेका छन् त ? यही क्रममा हामीमध्ये कतिपय अभिभावकले आफ्ना बच्चाहरूको भावना बुझ्ने कोसिस गरेका छौं ?

नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको यसपटकको श्रृंखलामा बच्चा हुर्काउने तरिका र अभिभावकबाट हुने कमी कमजोरीका बारेमा छलफल गरिएको छ ।

छलफलमा सहभागी हुँदै बृहस्पति विद्यासदनका प्रधानाध्यापक कुमार थापाले अभिभावकले बच्चा हुर्काउँदा उनीहरूलाई सिकाउने विषयमै ठूलो खाडल रहेको बताए । कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालसँगको उक्त कुराकानीमा उनले अभिभावक र बच्चाबीचको दूरीलाई मिहिन ढंगले साझा गरेका छन् ।

‘अहिलेको बालबालिकामा हामीले सोचेको भन्दा फरक छन् । त्यसैले अभिभावकले पहिले अभिभावकत्व सिक्न एकदमै जरुरी छ,’ दुई बीच संवादमार्फत नै दूरी कम गर्नुपर्ने बताउँदै उनले भने, ‘यो सिकियो भने यसमा जति आनन्द अन्य कुरामा आउँदैन ।’

प्रधानाध्यापक थापाको बुझाइमा अभिभावकले अभिभावकत्वको कसरी पूरा गर्ने भनेर सिक्नुपर्छ । उनका अनुसार अभिभावकले आफ्नो धारणा अनुसार बच्चाहरूलाई ढाल्न खोज्नु सिकाइको दायराभित्र पर्दैन । जुन अधिकांश अभिभावकहरूले गर्दै आइरहेका छन् ।

अभिभावकले घरमा कस्तो गतिविधि गरेका छन् ? के बोल्छन् ? भन्ने कुरालाई बच्चाहरूले ख्याल गरिरहेका हुन्छन् । त्यसैले आफैंले गरिरहेका क्रियाकलापबारे पनि सचेत हुनुपर्ने आवश्यकता थापाले औंल्याए ।

अभिभावकत्व कसरी पुरा गर्ने ?

थापाका भनाईंमा घरमा बालबालिकाले मनमा लागेको कुरा बिना कुनै डर अभिभावकलाई आफ्नो राख्न सक्ने बनाउनु नै अभिभावकत्वको राम्रो विशेषता हो । बाहिर वातावरणमा खुल्न नसकेको बच्चा आमा बाबुसँग खुल्न सकिने बनाउन सक्नु पर्ने बताउँछन् उनी । यसको लागि बलबालिकासँग समय बिताउन कोशिस गर्नु आवश्यक रहेको उनले बताए ।

बालबच्चालाई मायाले मात्र पुग्दैन

अन्य देशमा बच्चा हुकाउने कुरालाई अत्यधिक संवेदनशिल रुपमा लिइने गरिन्छ । तर नेपालको सन्दर्भमा यसमा खासै ध्यान नदिइनुलाई समस्याको रूपमा थापाले प्रस्तुत गरे ।

अधिकांश अभिभावकमा बालबालिकालाई आवश्यक सबै कुरा पुर्याएपछि, राम्रो विद्यालयमा भर्ना गरेपछि आफूले पूरा जिम्मेवारी निभाएको विश्वास हुन्छ । यो नै उनीहरूका लागि मायाको प्रतिक हो । तर यतिमात्रै नभएर अभिभावकले आफ्ना बच्चाको भावना पनि बुझ्न जमर्को गर्नुपर्ने दायित्वबारे थापाले सचेत गराए ।

थापाको बुझाइमा बच्चाले दुःख पाउलान् भन्ने डर अभिभावकमा बढ्दो हुन्छ यो एक हिसाबले ठिक पनि हो तर अभिभावकमा यस्तो डर हुँदा यसले अझ बढी चुनौती थपिन्छ । त्यसैले डर भन्दा पनि अभिभावकले संयम भएर बालबालिकालाई कुन कुरामा बन्देज लगाउने र के कुरामा स्वतन्त्र छाड्ने भनेर दिशानिर्देश गर्नुपर्छ । यसले बालबालिकामा अभिभावक प्रति सकारात्मता पनि आउँछ जसले बाहिरी वातावरणमा खुल्न र भन्न नसकेको कुरा उसले अभिभावकलाई सुनाउन सक्छ ।

‘बरु डर भन्दा पनि चलिरहेको समयमै कहिलेकाहि बालबालिकाकाले गर्ने साना साना गतिविधिहरू जस्तै बच्चा पढाइप्रति कतिको रुचि राख्छ, उसले के खाइरहेको छ, कत्तिको सामाजिक छ, साथीसंगत कस्तो छ भनेर हेर्नु पर्छ । डरले व्यत्तिलाई खुम्चाउँछ यसले झन् समस्या निम्याउँछ,’ उनले भने ।

पढाइ मात्र सिकाइ होइन्, बालबालिकालाई घरको काम पनि लगाऔं

अभिभावकहरु घरमा बच्चालाई इन्गेज गराउन गृहकार्य र ग्याजेट दिने गर्छन् । तर यो समाधान नभइ अन्य तरिका छन् भन्ने कुरा बुझ्नुपर्ने उनी बताउँछन् । ‘तिम्रो काम पढ्ने मात्र हो अरु केही गर्नुपदैन भन्ने अभिभावकहरू यो सोंचबाट बाहिर निस्कनु पर्छ । बरु घरका साना–साना काममा उनीहरूलाई सहभागी गराउन सकिन्छ ।’

ग्याजेटको समस्या

थापाका अनुसार अहिले बालबालिका र अभिभावक नै मोबाइल तथा ग्याजेटको लतमा छन् । अभिभावकले नै मोबाइलमा लामो समय व्यतित गर्दा बालबालिका अझ बढी यसको लतमा पर्दै गएका छन् । यसले अभिभावक र बालबालिका दुवैलाई असर परिरहेको छ । कोकेनको सेवनले व्यक्तिमा जस्तो असर पर्छ, ग्याजेट तथा मोबाइल फोनले पनि मस्तिष्कमा उस्तै किसिमको असर पर्ने उनको बुझाइ छ । उनी भन्छन्, ‘कोेकेनले मस्तिष्कमा जस्तो असर पर्छ, मोबाइल धेरै चलाउँदा पनि लगभग त्यस्तै हुन्छ । यसलाई बुझेर अभिभावकले उनीहरुलाई सिर्जनशील काममा लगाउनतिर ध्यान दिनुपर्छ ।’

छलफलको पूरा अंश तलको भिडियोमा हेर्न सक्नुहुनेछः