भुक्तानी नपाएपछि फेरि सडकमा किसानले पोखे दूध

इलाम । इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी) लाई बिक्री गरेको दूधको भुक्तानी छ महिनादेखि नपाएको जनाउँदै इलामका किसानले बिहीबार मेची राजार्गमा विरोध जनाएका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामको आयोजनामा भेला भएका करिब दुई सय किसानले सूर्योदय नगरपालिका–१०, फिक्कल बजारस्थित मेची राजमार्गमा दूध पोखेर विरोध जनाएका हुन् ।
उनीहरूले यथाशीघ्र किसानले भुक्तानी पाउनुपर्ने माग राखेका छन् । चक्काजाम गरिँदा करिब एक घण्टा मेची राजमार्ग अवरुद्ध भएको थियो ।
दूध बेचेको पैसाले गर्जो टार्दै आएका किसानलाई छ महिनायता परिवार पाल्न मुस्किल छ । इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी) लाई बेचेको दूधको भुक्तानी छ महिनादेखि पाएका छैनन् ।
भुक्तानी नपाउँदा चामल किन्न नसकिएको इलामकी सावित्रा राउतको गुनासो छ ।
“साहुसँग ऋण काढेर मान्छेलाई चामल र गाईलाई चोकर ल्याएको आधा वर्ष भइसक्यो”, राउतले भनिन्, “हिसाब गर्दा बुझाउन रु ५० हजार पुगेछ, अब ऋण नतिरे साहुले पनि दिँदैनन्, डिडिसीले दूधको पैसा दिने छाँटकाँट देखाएको छैन ।”
भुक्तानी नपाएर किसान मारमा परेपछि किसानसम्बद्ध विभिन्न १५ सङ्घसंस्थाले दूधको भुक्तानी माग गर्दै इलामलगायत देशभर आन्दोलन जारी राखेका छन् । उनीहरूले फागुन १० देखि आन्दोलनलाई निरन्तरता दिँदै इलाम जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य हेम कट्टेल र इलाम अध्यक्ष महानन्द सापकोटासहितले सरकारलाई दूधको मूल्य भुक्तानी माग गरी ज्ञापनपत्र पेस गरेका हुन् ।
उनीहरूले लम्पी स्किन रोगले पशु मरेर, दूध बेच्न नपाएर थलिएका किसानले बेचेको दूधको भुक्तानी सरकारीसहित अन्य क्रेताले पनि दिन नसकेको गुनासो गरेका छन् । उनीहरूले किसानले उत्पादन गरेको सबै दूध बिक्ने वातावरण बनाउनेसहितका १८ बुँदे मागपत्र सरकारलाई बुझाएका हुन् । माग पूरा नभए मेचीसहित देशका मुख्य राजमार्ग बन्द गर्नेसम्मका कार्यक्रम उनीहरूले घोषणा गरेका छन् । किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल दुग्ध व्यवसायी सङ्घ, दुग्ध उत्पादक किसान सङ्घलगायत किसानका सङ्घ–सङ्गठनले संयुक्तरूपमा आन्दोलनका कार्यक्रम अघि बढाएका छन् ।
प्रतिक्रिया