के कारणले टुट्यो गठबन्धन ? यी हुन् चार आधार
काठमाडौं । सत्ता समिकरण एक वर्ष पनि नबित्दै विथोलिएको छ । गठबन्धन टुटेसँगै आम निर्वाचनको एक वर्षमा पुनः तेस्रो पटक सरकार फेरबदल हुन लागेको हो । यसअघि दुई महिनमै एमाले र रास्वपासहितको गठबन्धनबाट बाहिरिएका प्रधानमन्त्री प्रचण्ड पुनः पुरानै गठबन्धनतिर ढल्किएका हुन् । अब माओवादी, एमाले, रास्वपा र जसपासहितको गठबन्धनमा नयाँ मन्त्रिपरिषद् गठन हुने भएको छ । यस्ता छन् सत्ता समिकरणमा फेरबदल आउनुका मुख्य चार कारणः
१. प्रचण्डको कार्यकाल सकिदैं जानु
कांग्रेससहितको सत्ता गठबन्धनमा माओवादीले पहिलो दुई बर्ष सरकारको नेतृत्व गर्ने उल्लेख थियो । उक्त सहमतिअनुसार माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा अब करिब ७ महिनासम्म मात्रै यो सरकार रहन्थ्यो । समझदारी कार्यान्वयन रहेको भए अबको सात महिनापछि देउवा प्रधानमन्त्री हुने थिए । तर यो सहमतिको विपरितमा माओवादीका केही प्रभावशाली नेताहरु जनार्दन शर्मा, बर्षमान पुन, पम्फा भुषाल लगायत एमालेसँग सहकार्य गरेर पाँचै बर्ष सरकारको नेतृत्व प्रचण्डले गर्नुपर्ने पक्षमा थिए । पछिल्लो समय यसमा एमालेले पनि सहमति जनाउँदै आएको थियो । प्रचण्डलाई ५ बर्ष प्रधानमन्त्री बनाएर माओवादी पार्टीलाई एमालेमा एकीकृत गराउन अहिले एमाले आतुर छ । तर माओवादी भने केपी शर्मा ओलीको व्यवहारसँग संसकित छ ।
२. राष्ट्रिय सभाको निर्वाचनमा भएको धाँधली
एक महिना अघि सम्पन्न राष्ट्रिय सभाको निर्वाचन पनि अहिलेको सत्ता गठबन्धनमा दरार आउनुमा मुख्य कारण मानिन्छ । उक्त निर्वाचनमा सत्ता गठबन्धनले एमाले विरुद्ध उम्मेदवार उठाएको थियो । सत्ता गठबन्धन चुनावमा पनि गठबन्धनकै रुपमा जाँदा एमालेले एक सिटमात्रै जित्न सक्यो । त्यो पनि कांग्रेसले माओवादीलाई धोका दिँदा ।
कांग्रेसले माओवादीलाई दिनुपर्ने मत एमालेको उम्मेदवारलाई दिए । त्यसले गर्दा माओवादीले राष्ट्रिय सभामा एक सिट गुमाउन पुग्यो । यो घटनालाई माओवादीले सार्वजनिक रुपमा असन्तुष्टि जनाएको थियो । र गठबन्धनबारे पुर्नविचार गर्न सकिने बताएका थियो । त्यसलगत्तै माओवादी र एमालेवीच विभिन्न चरणका अनौपचारिक संवादहरु हुन थालेका थिए । यो घटना भएसँगै माओवादी र एमालेवीच सरकारमा साझेदार भएर जानेबारे बहश सुरु भइसकेको थियो ।
३. कांग्रेसको महासमिति बैठक
नेपाली कांग्रेसको महासमितिको बैठकमा भएको निर्णय पनि गठबन्धन टुट्नुको मुख्य कारण मानिन्छ । कांग्रेसका देशभरका क्षेत्रीय स्तरका नेताहरुको भेला हुने यो बैठकले पार्टीको विधान बनाउँछ । भेलाले आगामी निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । जसअनुसार आगामी निर्वाचनमा कांग्रेसले अन्य पार्टीहरुसँग एक्लै प्रतिष्पर्धा गर्नुपर्नेछ । माओवादीलाई झस्काएको यो निर्णय पनि गठबन्धन भत्किने कारण बनेको छ । माओवादीको पक्षमा जनमत कमजोर बन्दै गएको अवस्थामा कांग्रेससँग भविष्यमा कुनै चुनावमा सहकार्य हुन नसक्ने भएपछि माओवादी एमालेसँग सहकार्य र सहज हुँदा एकता गरेर जाने सकिने मनस्थितीमा माओवादी पुगेको देखिन्छ ।
यसको लागि माओवादीको तर्फबाट बर्षमान पुन, पम्फा भुषाल सहितका नेताहरु र एमालेको तर्फबाट महासचिव शंकर पोखरेल, विष्णु रिमाल सहितका नेताहरु छलफल थालेका थिए ।
४. आइतबारको बैठक
गए राति बाल्वाटारमा भएको बैठक पनि गठबन्धन भत्काउने निर्णायक आधार थियो । जुन बैठकमा कांग्रेसलाई बोलाइएको थिएन । हिजोको यो बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । अन्त्यमा यही बैठकले गठबन्धन भत्किाएर नयाँ समिकरण बनेको सन्देश दिइसकेको छ ।
प्रतिक्रिया