NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

विकलांगको सहारा बन्दै नबिल बैंक र सबल केन्द्र : समात्नलाई हात, हिँड्नलाई खुट्टा

काठमाडौं । सुर्खेत निवासी खगेन्द्र शाहीको १६/१७ वर्षको उमेरमै खुट्टामा समस्या देखियो । घाउ भइरहने, निको नहुने भइरह्यो । देशभित्र उपचार सम्भव नभएपछि भारतको लखनउ पुगे । अन्ततः एमआरईबाट पत्ता लाग्यो, मेरुदण्डका नशा सुकेकाले त्यस्तो भएको रहेछ ।

कुर्कुच्चामा देखिएको सानो घाउले खुट्टा नै काट्नुपर्ने अवस्थामा पुगेको पीडादायक क्षण सम्झिँदै उनले सुनाए, ‘सुरुमा कुर्कुचामा सानो घाउ भएको थियो । सानो अप्रेसन गरेर घाउ काटेर फालेँ । तर घाउ झन् बढ्दै गएर हड्डीसम्म पुग्यो र घुँडामुनि काट्नुपर्ने बाध्यता आइलाग्यो ।’

सग्लो खुट्टा गुमाउनुको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ । ‘सुरुमा आफूलाई समाल्नै सकिनँ । तर समयसँगै विस्तारै पीडा कम हुँदै गयो, दैनिक जीवनमा आफूलाई हरेक काममा बानी पार्दै लगेँ,’ आफ्नो भोगाइ साझा गर्दै उनले भने ।

जीवनमा नसोचेको खण्ड आइलागेपछि उनले कृत्रिम खुट्टा हाल्ने सोच नबनाएका होइनन् । तर कमजोर आर्थिक अवस्था उनको चाहनामा तगारो बन्यो । परिस्थितिसँग निरीह उनी ‘जे पनि भोग्नुपर्छ’ भन्दै एक खुट्टाकै भरमा जीवनलाई जसोतसो अगाडि बढाइरहेका थिए । त्यस्तैमा एक दिन नातामा भाइ पर्नेले बर्दघाटस्थित चिसापानी अस्पतालमा कृत्रिम खुट्टा जोड्नेसम्बन्धी कार्यक्रम सञ्चालन हुन लागेको बारे सुनाए । कृत्रिम नै सही, उनी त्यसबाट जीवनयापनमा सहज हुने आशाले त्यहाँ पुगे । तर त्यो दिन सम्भव भएन । ‘त्यो दिन कृत्रिम खट्टा लिने चाहना पूरा नभए पनि त्यसको बाटो भने यसले खोलिदियो,’ उनले त्यो क्षण स्मरण गरे ।

खगेन्द्रका अनुसार, चौधरी फाउण्डेसनको सहयोगमा गैंडाकोटमा कृत्रिम हातखुट्टा केन्द्र सञ्चालनमा रहेको र त्यहाँबाट यो सुविधा पाइने जानकारी उनले त्यही कार्यक्रमबाट थाहा पाए ।

चौधरी फाउण्डेसनको सहयोगमा सञ्चालित गैंडाकोटस्थित कृत्रिम हातखुट्टा केन्द्रबाट खुट्टा पाएपछि अहिले उनको खुशी फर्किएको छ । ‘सुरुमा खुट्टाको नाप लिनुभयो । त्यसपछि कृत्रिम खुट्टा बनाएर दिनुभयो । कसरी लगाउने भनेर अभ्याससमेत गराउनुभयो,’ कृत्रिम खुट्टा लगाएपछिको अनुभव साझा गर्दै उनले भने, ‘सुरुसुरुमा लगाउन अलि असहज भयो, पछि बानी पर्दै गयो, अहिले त कुनै गाह्रो लाग्दैन । गुमेको खुशी फर्किएको महसुस गरिरहेको छु ।’

कृत्रिम खुट्टा बेलाबेला मर्मत र परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै उनले यी सबै सेवा सबल केन्द्रबाटै लिइरहेको बताए । निःशुल्क रूपमा केन्द्रले प्रदान गरेको कृत्रिम खुट्टाबाट हिँड्डुल तथा काममा सहजता महसुस गरेका उनले आभार प्रकट गरे ।

पूर्ण बहादुर रेग्मी अहिले ४७ वर्षका भए । ०४७ सालको एक दिन उनका लागि कालो बनेर आयो । उनी साइकलमा कतै यात्रा गर्दै थिए । त्यतिकैमा पछाडिबाट गाडीले ठक्कर दियो । चक्कामा उनको देब्रे खुट्टा पर्यो ।

हतारहतार उनलाई अस्पताल त लगियो । तर देब्रे खुट्टा चिकित्सकले बचाउन सकेनन् । काटेर फ्याँक्नु पर्यो । ‘दुर्घटनामा मेरो ज्यान त जोगियो तर देब्रे खुट्टा सदाको लागि गुमाउनुपर्यो,’ जीवनको अत्यासलाग्दो क्षण उनले स्मरण गरे ।

दुई खुट्टाले हिँड्ने बानी परेका रेग्मीलाई खुट्टाबिनै हिँड्नुपर्ने चिन्ताले नराम्ररी सताउन थाल्यो । जीवन अब कसरी अगाडि बढ्ला भनेर उनी हरदम चिन्तित भइरहन्थे । डाक्टरले कृत्रिम खुट्टा राख्न सकिने बताएपछि भने उनमा केही आशा पलायो ।

कृत्रिम खुट्टा राख्ने सुविधा त थियो तर नेपालमा त्यतिबेला यो सम्भव थिएन । महँगो भएकाले पैसा तिरेर फेर्न सक्ने अवस्था पनि थिएन । नेपालमा यो सुविधा नभएपछि उनले भारतको खरिदाबादमा गएर कृत्रिम खुट्टा हाले । यो अवसर भने उनले एक आफन्तमार्फत पाएका थिए ।

कृत्रिम खुट्टा सक्कली खुट्टाजस्तो हुँदैन । केही समयपछि त्यसलाई बदल्नुपर्छ ।  पूर्णबहादुरको पनि कृत्रिम खुट्टा फेर्नुपर्ने अवस्था आयो । उनले त्यो सुविधा यस पटक भने नेपालमै लिन पाउने भए, त्यो पनि निःशुल्क । सबल केन्दबाट उक्त सुविधा पाएको उनले प्रसन्न मुद्रामा सुनाए । पहिला पनि कृत्रिम खुट्टा लगाइसकेकाले कुनै असहज नभएको र अर्डर दिएको दुई दिनमै तयार भएको उनको भनाइ छ ।

सबल केन्द्रबाट कृत्रिम खुट्टासम्बन्धी सबै सुविधा सहज तरिकाले लिन पाएकोमा उनी खुशी छन् । भन्छन्, ‘कुनै समय कृत्रिम खुट्टाको लागि आवश्यक पर्ने बेल्ट, कपडा, नट फेर्नुपर्दा काठमाडौं धाउनुपर्ने बाध्यता थियो, अहिले यी सबै सुविधा सबल केन्द्रबाटै लिन पाएका छौं ।’

सामान्यतया कृत्रिम खुट्टा लगाएपछि लामो समयसम्म हिंड्डुल  गर्न, दौडन, खोला तर्न मिल्दैन । तर कृत्रिम खुट्टाले दैनिक जीवनयापनमा भने सहजता थपेको पूर्णबहादुरको अनुभव छ । कृत्रिम खुट्टा लिएर पूर्णबहादुर अहिले घरमा आइपर्ने सामान्य काम मात्र गर्दैनन्, मोटरसाइकलमा समेत हुइकिन्छन् ।

नवलपरासी होप्सेकोट गाउँपालिकाका ४७ वर्षीय दिलबहादुुर शिरिष मगर आजभन्दा ५ वर्षअगाडि वैदेशिक रोेजगारीको लागि दुबई जाने तयारीमा थिए । त्यसभन्दा अगाडि पनि उनी कामकै सिलसिलामा कतार र मलेसिया गएका थिए ।

दुबईको लागि भन्दै कहिले काठमाडौं त कहिले गाउँमा उनको आउजाउ भइरह्यो । तर भिसा झरेन । गाउँदेखि सहर, सहरदेखि गाउँ आउजाउ गर्दा उनले दुुई/चार लाख पैसा सकाए । त्यसपछि उनले गाउँमै सानोतिनो काम गर्ने सोच बनाए ।

गाउँ फर्केर उनले एउटा भर्खर खुलेको फर्निचरमा काम गर्न थाले । तर दिलवहादुरले फर्निचरमा काम गरेको केही समयमै हात गुमाउनुपर्यो । काम गर्ने क्रममा आरोमा हात परेर उनको तीन वटा औला काटियो । त्यसलगत्तै उनलाई अस्पताल पु¥याइयो । उक्त दिनको घटना सम्झिदै दिलवहादर भन्छन्, ‘डाक्टरले हात काट्नुनपर्ने नि हुनसक्छ भन्नुभएको थियो । तर पछि क्यान्सर हुन्छ, काट्नुपर्छ भनेर दाहिने हात काटियो ।’

आर्थिक स्थिति कमजोर भएका दिलबहादुरलाई हात गुमाएपछि अब के गरेर खाने भन्ने चिन्ताले सताउन थाल्यो । विदेश जान पाएको भए यो दिन देख्नुपर्थेन भनेर भक्कानिन्थे । यत्तिकै त होला नि भनेर आफ्नो दैनिकी गुजारा गर्दै थिए दिलबहादुर । त्यही क्रममा गाविस अध्यक्षले मध्यबिन्दु अस्पतालमा कृत्रिम हात निःशुल्क राख्दिन्छ भनेपछि भन्ने थाहा पाए । उनी खुसीले गदगल हुँदै मध्यबिन्दु पुगे, नभन्दै उनले निःशुल्क हात पाए ।

अहिले दिलवहादुर गाउँमै बाख्रापालन गर्दै बसेका छन् । उनको दैनिकी भनकै बाख्रा चराउने हो । बाख्रा चराउने बेला भने उनले कृत्रिम हात कम प्रयोग गर्छन् । हातै नहुनुभन्दा कृत्रिम हातले दैनिकी जीवनमा धेरै राहत मिल्ने उनी सुनाउँछन् ।

माथि उलिलखित कृत्रिम हात÷खुट्टा लिनेहरूको प्रसंग प्रतिनिधि उदाहरण मात्रै हुन् । सबल केन्द्रले हात खुट्टा गुमाएर असहजता सामना गरेका धेरैलाई कृत्रिम हात, खुट्टा दिएर जीवनमा अघि बढ्ने हौसला प्रदान गरिरहेको छ ।

सबल केन्द्रले कसरी दिइरहेको छ सेवा ?

सबल केन्द्रको कार्यसमिति ०७७ चैत्र ०६ गते गठन भए पनि बीचमा कोरोनाको कारण काम अघि बढ्न नसकेको केन्द्रका फोकल पर्सन दीपक केसी बताउँछन् । उनका अनुसार मध्यबिन्दु अस्पताल र चौधरी फाउण्डेसनको सहकार्यमा ०७८ फागुन १८ गतेबाट औपचारिक रूपमा सबल केन्द्रको स्थापना भएको हो ।

चौधरी फाउण्डेसनले भगवान् महावीर विकलाङ्ग सहायता समिति र भारतीय दूतावाससँगको सहकार्यमा नेपालमा कृतिम हातखुट्टा वितरण गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो । दुर्घटना भएर वा अन्य कुनै कारणले हातखुट्टा गुमाएकाहरूलाई कृत्रिम हात/खुट्टा जडान गरेर सबल बनाउने उद्देश्य केन्द्रले बोकेको केसीको भनाइ छ । हालसम्म यो केन्द्रबाट २७५ जनाले कृत्रिम हात/खुट्टाको सेवा लिइसकेका छन् । जसमध्ये चार जनाले मात्रै कृत्रिम हात जडान गरेका छन् । कृत्रिम हात÷खुट्टाका लागि चाहिने सामान भारतस्थित जयपुरबाट आउने र हातको लागि चाहिने सामान अभावको कारण खुट्टाको तुलनामा कम जडान गर्न सकेको केसीले बताए ।

आफैं पैसा तिरेर कृत्रिम हात/खुट्टा जडान गर्न निम्न वर्गको लागि लगभग असम्भवजस्तै छ । निम्न वर्गको लागि सबल केन्द्र साँच्चिकै टेक्ने र समात्ने आधार बनेको छ ।

केसीकाअनुसार सबल केन्द्रमा बनाइने कृत्रिम खुट्टा (जयपुर फुट) घुँडाभन्दा मुनिकालाई ३० देखि ३५ हजारसम्म पर्न जान्छ । त्यस्तै कम्मरभन्दा मुनिकोलाई ८० देखि ९० हजारसम्म पर्न जान्छ । तिघ्रा नै नभएको अवस्थामा हिपलाई सर्पोट लिएर बनाउनेलाई कम्तीमा सवादेखि डेढ लाख पर्न जान्छ । जोइन्टबाट तलतिरको कृत्रिम हात बनाउनुपरेमा ४० देखि ४५ हजार लाग्छ । यो जयपुर फुटको मात्रै मूल्य हो । अन्य कम्पनीका यो भन्दा पनि महंगो हुनसक्ने केसीले बताए ।

सबल केन्द्रले त्यहाँ आउने सबैलाई निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । त्यहाँ सेवा लन आउने प्रायः स्थानीयभन्दा बाहिरका छन् । निःशुल्क कृत्रिम हात/खुट्टा मात्रै होइन, टाढा–टाढाबाट आएका आर्थिक स्थिति अत्यन्त कमजोर भएकालाई खाना र बस्नको लागि पनि निःशुल्क गरिदिएको केसी बताउँछन् । यसले आर्थिक अवस्था न्यून भएकालाई ठूलो राहत मिलेको छ ।  केसीका अनुसार त्यहाँबाट सेवा लिएका २७५ मध्ये कतिपयलाई बाटो खर्चसमेत दिएर पठाएको बताए ।

सबल केन्द्रले हाल यसको शाखा चिसापानी अस्पतालमा पनि खोलेको छ । हरेक शुक्रबारको दिन उक्त अस्पतालबाट सेवा दिने गरेको केसीले जानकारी दिए ।

सबल केन्द्रले स्थापनाकालदेखि हालसम्म निःशुल्क रूपमा निरन्तर कृत्रिम हात÷खुट्टाको सेवा दिँदै आएको छ । यसरी आजसम्म केन्द्र सञ्चालन हुन सक्नुमा नबिल बैंकको ठूलो हात रहेको केसीको भनाइ छ । ‘नबिलले सुरुदेखि नै सबल केन्द्रलाई सहयोग गरिरहेको छ । नबिल बैंकले आर्थिक सहयोग नगर्ने हो भने यो संस्थाबीचमै हराइसक्थ्यो,’ उनले भने ।

सबल केन्द्रलाई हालसम्म नबिल बैंकले मात्रै आर्थिक सहयोग गर्दै आएको छ । प्रदेश सरकारले मध्यबिन्दु अस्पताललाई गत आर्थिक वर्षमा १० लाख रुपैयाँ सहयोग गरेको थियो । त्यही सहयोगबाट सबल केन्द्रमा कार्यालय सहयोगी कर्मचारी थप गरिएको छ । हाल सबल केन्द्रमा केसी र अर्का एक सहायक प्राविधिक छन् ।

सबल केन्द्रलाई नबिलको साथ

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्र्तगत रहेर मध्यबिन्दु अस्पतालबाट सञ्चालन भइरहेको सबल केन्द्रलाई ०७८ सालदेखि आर्थिक सहयोग गर्दै आइरहेको छ । आर्थिक स्थिति कमजोर भएर कृत्रिम हात खुट्टा जोड्न नसक्नेहरूलाई राहत होस् भनेर आर्थिक सहयोग गर्दै आइरहेको नबिल बैंकले जनाएको छ ।

नबिलले सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न संघसंस्थाहरूसँग मिलेर फरक–फरक समयमा कार्यक्रम गर्दै आइरहेको छ ।

नबिल बैंकका अनुसार बैंकको सिएसआरअन्र्तगतका मुख्य क्षेत्रहरू स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, प्रकोप, महामारी, व्यवस्थापन रहेका छन् । यी क्षेत्रअन्र्तगत रहेर आगामी दिनमा यस्तै कार्यक्रमलाई निरन्तरता दिने योजना नबिलको छ ।

सबल केन्द्रले निम्न वर्ग र पिछडिएका जातिहरूलाई बढी प्राथमिकतामा राखेको छ । यो सेवा लिएर फर्किएकाहरूको मुहारमा छुट्टै खुशी देखिएको त्यहाँ पुगेकाहरू बताउँछन् । ‘वैशाखीमा सेवा लिन आएकाहरू सेवा लिएपछि हिँडेर गएको घटना सुन्दा खुशी लाग्छ । उहाँहरुलाई सहयोग गर्न पाउँदा हामी हर्षित छौँ,’ नबिल बैंकका एक अधिकारी भन्छन् ।