सिँचाइको व्यवस्थासँगै भरतपुरका जमिन चैते धानले हराभरा
चितवन । केही वर्ष अघिसम्म पश्चिम चितवनका जमिन आकासेखेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे ।
भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते धान रोप्न थालेको बताउँछन् । उनले भने, “पहिले यहाँ तीन बिघा जमिन हुने, एक कठ्ठा घोल खेत हुनेभन्दा गरिब गनिन्थे ।”
कतिपयले त विवाह गरेर छोरी दिनुपर्दा टाँडी जमिन हुनेलाई दिनसमेत हिच्किचाउने गरेको उनी बताउँछन् । उनले भने, “कुनै बेला सिँचाइ अभावमा खेती नहुने पश्चिम चितवनका टाँडीमा बोरिङसँगै खेती हराभरा हुन थालेको छ ।”
भरतपुर महानगरपालिका–२७, नयाँपटिहानीका जीवन महतो आइतबार मध्याह्न खेतमा पानी पटाउन तल्लीन थिए । उनले करिब दुई बिघा क्षेत्रफलमा लगाएको धानखेतीलाई सिँचाइका लागि बोरिङ सञ्चालन गरेर पानी पटाउँदै आएका थिए । “सिँचाइका कारण अहिले हाम्रो जीवनमा नै परिवर्तन आएको महसुस गरेका छौं,’ उनले भने ।
सिँचाइ भएसँगै यस क्षेत्रमा बिगौँबिघा धानखेती गर्न किसान आकर्षित भएको उनले बताए ।
स्थानीय किसान हठन महतो पहिला दुई बाली मात्रै लगाइने आफ्नो जमिनमा तीन बाली खेती गर्न थालेको बताउँछन् । सिँचाइको समस्या हुँदा आकासेपानीको भरमा धान, मकै, तोरीजस्ता बाली लगाउँदै आएको बताउने उनी अहिले आफ्नो १० कठ्ठा जग्गामा चैते धानखेती गरिरहेका छन् ।
विगत केही वर्षदेखि सिँचाइको व्यवस्था गरेर चैते धान लगाउन थालेको उनले बताए । सिँचाइ सुविधा भएपछि यस क्षेत्रका किसानले धानसँगै तरकारीखेती गर्न थालेको उनले बताए । उनले भने, “सिँचाइले गर्दा हाम्रो आयआर्जनमा सहयोग पुगेको छ ।”
स्थानीय किसान महतो अहिले दुई बाली धान र एक बाली तोरी र फापर लगाउने गरेको बताउँछन् । सुक्खा क्षेत्रका रूपमा रहेको यस क्षेत्रमा सिँचाइको व्यवस्थासँगै पश्चिम चितवनको भरतपुर महानगरपालिकाका बासिन्दामा उत्साह थपिएको उनले बताए ।
भरतपुर महानगरपालिका, चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायतले सिँचाइको व्यवस्था गरेपछि यहाँको खेती प्रणाली नै फेरिएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफू पहिलोपटक प्रमुख भएपछि थालिएको पहिलो महत्त्वपूर्ण काम सिँचाइ भएको बताइन् । पश्चिम चितवनका कतिपय टाँडी भूभागमा किसानलाई सिँचाइ अभाव भएको गुनासो आएपछि निरन्तर सिँचाइ अभियानमा जुटेसँगै यहाँको कृषि प्रणालीमा परिवर्तन ल्याउन सकेको उनी बताउँछिन् ।
आफू प्रमुख भएर आएपछि ७ हजार बिघामा थप सिँचाइ भएको उनको दाबी छ । भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना आफ्नै पहलबाट भरतपुरमा आएको भन्दै उनले तत्कालीन समयमा चितवन र झापाबाट सो कार्यालयले काम सुरु गरेको बताइन् । उनले भनिन्, “म पहिलो पटक निर्वाचनमा उम्मेदवार हुँदा पश्चिम चितवनका सुक्खा क्षेत्रका मतदाताले सिँचाइ माग गर्नुभएको थियो । त्यो क्रमशः पूरा हुँदै गएको छ ।”
यकिन तथ्याङ्क नभए पनि नेपालमा छोटो समयमा धेरै क्षेत्रमा भूमिगत सिँचाइ भरतपुरमै भएको महानगर प्रमुख दाहालको दाबी छ ।
महानगरले विगत तीन आर्थिक वर्षमा साना सिँचाइका लागि चार सय ७८ वटा बोरिङ र मझौला सिँचाइका लागि ५५ वटा बोरिङ किसानलाई वितरण गरेको छ । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले जिल्लामा दुई हजार तीन सय ९१ हेक्टर क्षेत्रफल सिँचाइ गरेको छ । कार्यालयका सूचना अधिकारी अमरसिंह राईका अनुसार भरतपुर महानगरपालिकामा मात्रै एक हजार पाँच सय ८७ हेक्टर क्षेत्रफल सिञ्चित हुने आयोजना सञ्चालनमा आइसकेका छन् ।
ताजा अपडेट
-
काठमाडौं महानगरले स्वीकृत गर्यो ‘एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’
-
नेप्से परिसूचकमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
-
नागरिकका गुनासो सुन्न ‘हेल्लो स्वास्थ्य’
-
बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर
-
म्याग्दीको मुनामा सङ्कटापन्न रेडपाण्डा
प्रतिक्रिया