NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

यी चार प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा वर्षा र दुई प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपात हुने प्रक्षेपण गरेको छ ।

मंगलबार बिहान नियमित मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले चार प्रदेशमा वर्षाको आकलन गरेको हो ।

महाशाखाका अनुसार, मंगलबार दिउँसो कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भने आज हल्का हिमपातको सम्भावना छ ।

मंगलबार राति देशभर आंशिक बदली रहे पनि तीन प्रदेशमा वर्षा हुने बताइएको छ । महाशाखाका मौसमविदहरूका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

नेपालमा केही दिनयता पश्चिमी र स्थानीय वायुको प्रभाव छ । यही वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा तथा बदली भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाको मौसम पनि बिहानैदेखि धुम्मिएको छ ।

कोशी र मधेस प्रदेशमा यतिबेला बदली भइरहेको छ भने बाँकी पहाडी तथा तराई भूभागमा आंशिक बदलीदेखि मुख्यता मौसम सफा छ ।