NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कुकुरको बीभत्स हत्या, प्रहरी मुखदर्शक

काठमाडाैं । सडक पेटीमा एउटा कुकुर आरामले सुतिरहेको छ । केही बेरमा एक  युवक नजिकै आउँछन् र कुकुरलाई ढुंगैढुंगाले हिर्काउँछन् । युवकको रीस यतिमै मर्दैन, उनले हातमा रहेको लठ्ठीसमेत त्यो अवोध पशुमाथि बर्साउँछन् । यो अमानवीय हर्कत भइरहँदा प्रहरीसमेत सँगै हुन्छ तर सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको प्रहरीसमेत अन्य प्रत्यक्षदर्शीजस्तै मुखदर्शक बनिरहन्छन् ।

घटना कञ्चनपुरकाे भीमदत्त नगरपालिकाकाे हो । यससम्बन्धी भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ । प्रत्यक्षदर्शीका अनुसार रेविज लागेका कारण कुकुरको यसरी हत्या गरिएको हो ।

यो भिडियो पशुकल्याण क्षेत्रमा काम गर्दै आइरहेका टिएफसी, स्नेहा केयरलगायतले साझा गर्दै घोर विरोध जनाएको छ ।

स्नेहा केयरले निर्दोष जनावरलाई बिनाकारण निर्ममता पूर्वक मारिएकोमा घोर आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ ।

अपराध अनुसन्धान र शान्ति सुरक्षाको निम्ति खटिएको कानुन प्रशासन नै अपराधमा सामेल भएको भन्दै संस्थाले आपत्ति जनाएको छ ।

‘आम नागरिकको सुरक्षामा मात्र सिमित नभई सामुदायिक पशुपंक्षीको सुरक्षाको समेत जिम्मेवारी वहन गर्नु पर्ने प्रहरी प्रशासनको उपस्थितीमा नै यस्तो निर्मम तरिकाले एउटा अन्जान प्राणीको हत्या हुनु अमानवताको पराकाष्ठा नाघेको मात्र नभई एकदम नै लज्जस्पद विषय बन्न पुगेको छ। रेबिजको आशंका हुँदमा सामुदायिक कुकुरको निर्मम हत्या गर्नु अपराध हो। ‘ स्नेहा केयरले विज्ञप्तिमा लेखेको छ ।

कुकुरलाई रेबिज लागेको थाहा हुने बित्तिकै समस्या समाधानको लागि त्यहाँका स्थानीयहरूले  जनावरको सुरक्षा र संरक्षणको लागि खोलिएको संघंस्थाहरुलाई, पशु अस्पताल, पशु शाखा, नगर पशु शाखालय सम्पर्क गर्नुपर्ने ठाउँमा निर्दोष जनावरलाई  विनाकारण निर्ममता पूर्वक मारिएकोमा संस्थाले विरोध जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।

मान्छेको जस्तै पशुको पनि स्वतन्त्रपूवक बाँच्ने अधिकार छ । मुलुकी अपराध संहिता २०७४ अनुरुप पशुपंक्षीमाथि हुने क्रुरताको विरुद्ध पशु हिंसा गर्नेलाई तीन महिनासम्म जेल र पाँच हजार जरिवाना तोकेको छ ।

कानुनले पशु अधिकारको प्रवर्धन गरे पनि पशु हिंसाका घटनामा कमी आउन सकेको छैन । विगतमा पनि यस्ता हर्कत भएपनि कानुनको परिपालनमा कडाइ नहुँदा समस्या दोहोरिएको पशु अधिकारकर्मीहरू बताउँछन् ।

भिडियो: