NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

सेयर बजार सुधार्न सरकारले गर्नुपर्ने कामहरू

सेयर बजार पछिल्लो तीन वर्षयता लगातार ओरालो लागेको छ । बजार अवस्था नसुध्रिएकाले लगानीकर्ता निराश छन् । नयाँ अर्थमन्त्री आएपछि उहाँ अलिकति बजार बझेको, बजारमैत्री हुनुहुन्छ भन्ने हामीलाई लागेको थियो । किनभने, अर्थमन्त्री हुँदै गर्दा उहाँले सेयर बजारबारे चासो राखेर सुझाव मात्रै माग्नुभएको थिएन, तीन वर्षदेखि लगातार घटिरहेको सेयरबजारलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको थियो ।

अर्थमन्त्रीज्यूको सेयर बजारबारेको उक्त धारणाले थोरै भए पनि हामी लगानीकर्ताको निराशा आशामा परिणत भएको थियो । तर उहाँ पूर्ववत् बाचा कार्यान्वयन गर्नेतर्फ अग्रसर देखिनुभएको छैन । अहिलको थिलथिलो पुँजीबजार बोलेर मात्रै सुध्रिनेवाला छैन, काम नै गर्नुपर्ने खाँचो छ ।

अर्थमन्त्रीले बजार सुधारबारे सुझाव मागेपछि संस्थागत रूपमै ७–८ वटा बुँदा समेटेर दिएका थियौं । स्वास्थ्य अवस्थाका कारण आफू जान नपाए पनि पछि अर्थमन्त्रीलाई भेटेर पुँजीबजारका समस्याबारे ध्यानाकर्षण गराएको थिएँ । अर्थमन्त्रीज्यूले तत्काल गर्नुपर्ने काम यी–यी छन् भनेर पनि अवगत गराएको थिएँ ।

यति बेला लगानीकर्ताको ‘सेन्टिमेन्टल’ एकदमै कमजोर छ । यसलाई उकास्न अर्थमन्त्रीज्यूले धेरै कुरा गर्नै पर्दैन, मात्रै दुई वटा काम गरिदिए पुग्छ । पहिलो, सेयर बजारमा लगाइएको क्याप हटाउनुपर्छ । कसैसँग सम्पति छ, त्यसलाई धितो राखेर कर्जा लिन्छु भन्दा पाउनु पर्छ ।

राष्ट्र बैंकले जहिले पनि साना लगानीकर्ताको पक्षमा काम गरेको भन्छ । ठूला लगानीकर्तालाई बजारबाट विस्थापित गरेर साना लगानीकर्तालाई राम्रो गरेको तर्क पनि उसले गर्ने गरेको । त्यसले गर्दा ४/१२ को क्याप  खारेज गर्नुपर्छ । राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार १२५ मा पु¥याएको छ । त्यसलाई १०० मा झार्नुपर्छ ।

बजारमा अर्को पनि के देखिएको छ भने एउटै पुँजीगत लाभकर (क्यापिटल गेन  ट्याक्स) रहेको छ । त्यसलाई पनि घटाउनुपर्छ । यसलाई सर्ट टम, लङ टर्म र मिड टर्मको लागि छुट्याउनु प्रभावकारी हुन्छ ।

सेयर बजारमा लगानीबारे विभिन्न बजारमा विभिन्न जिज्ञासा देखिन्छन् । त्यसमध्ये एउटा अहिलेको समय लगानीका लागि उपयुक्त हो कि होइन भन्ने छ । अहिलेको अवस्थामा लगानी नगर्ने भन्ने नै हुँदैन । बजार अलिकति घटेकै समयमा हो लगानीकर्ताले लगानी गर्ने । अहिले तीन वर्षदेखि ‘रिर्टन’को लागि जो लगानीकर्ताहरु बसिरहनुभएको छ, उहाँहरूलाई घाटा भइरहेको छ । तर जो नयाँ लगानीकर्ता सेयर बजारमा लगानी गर्छु भनेर बसिरहनुभएकोछ, उहाँहरूका लागि अहिलेको समय निकै नै उपयुक्त छ ।

हामीले बजार बढाइ देऊ भन्दा पनि बजारलाई परिपक्क बनाऔँ भनेका हौं ।  किनभने, कुनै पनि घर मजबुत पार्न जगैदेखि बलियो हुनुपर्छ । नेपालको पुँजीबजारले चार दशक यात्रा पार गरे पनि भर्खर बामे सर्दैछ । करोडौं लगानी खन्याएका पुँजी बजार लगानीकर्ता अहिले सडकमा बसेर मेरो सम्पति जोगाइ देऊ भन्ने अवस्थामा छन् । एउटा अर्थमन्त्री आउँदा १०० ले बढेको सेयर अर्को आउँदा उति अंकले घटेको छ । यो हुनु हुँदैन । यसका लागि सबैभन्दा पहिले पुँजीबजारलाई परिपक्व बनाउनु पर्छ । त्यसपछि अर्थमन्त्री परिवर्तन हुँदा पनि केही फरक पर्दैन । नीतिगत सुधार राम्रो भइदियो भने बजार राम्रो हुन्छ ।

खर्बौं रूपैयाँको कारोबार हुने पुँजीबजार अर्थतन्त्रको मेरुदण्ड हो । तर यो निकै कठिन अवस्थाबाट गुज्रिरहेको छ । अर्थमन्त्रीज्यूले यो कुरा मनन गरेर नीतिगत सुधार गरिदिने हो भने सेयर बजारको भविष्य सुनौलो छ ।

सेयर बजार पुँजीपतिको लागि मात्रै भनेर अवहेलना गरिदिँदा बजारको अवस्था अन्योलग्रस्त छ । सेयर बजारमा पुँजीपति वर्ग मात्र नभएर न्यून आय भएका व्यक्ति पनि लागेका छन् । युवा, गृहिणीदेखि सबै क्षेत्रका मान्छे पुँजीबजारमा आबद्ध छन् । यति बुझेर सेयर बजारलाई परिपक्व बनाइदिने हो भने धेरै कुरा समाधान हुनेछन् ।

सेयर बजारको भविष्य अर्थ मन्त्रालय र राष्ट्र बैंकको हातमा छ । किनभने, धितोपत्र बोर्डले मात्रै केही काम गरिदिने हो भने त्यो अर्थ मन्त्रलयामा पुगेर टुंगिन्छ । बजारमा प्रत्यक्ष असर गर्ने कुराहरू मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नै चलाउँछ । (पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष हुन्)