‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।
जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरुको समूह (भी–२०) का अर्थमन्त्रीहरुको बुधबार वासिङ्टनमा भएको बैठकमा उनले नेपालजस्ता हिमाली देशलाई जैविक विविधता संरक्षणका निम्ति अनुकूलन कोषबाट सहयोग हुनुपर्ने बताए ।
अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावको जोखिम घटाउन तथा त्यसबाट भएको क्षति परिपूर्ति गर्न अनुकूलन कोष, विकसित राष्ट्र र अन्य अन्तर्राष्ट्रिय निकायले नेपाललगायत जलवायु परिवर्तनमा कुनै योगदान नगरेका देशलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिएको वासिङ्टनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
अर्थमन्त्रीले विकसित देशहरुलाई जोखिममा रहेका मुलुकको संरक्षण गर्ने प्रतिबद्धताबाट पछि नहट्न आग्रह गरे । उनले नेपालजस्ता देशले सामना गर्नुपरेका जलवायु प्रभावजन्य जोखिम घटाउन विश्वसमुदायको साथ र सहयोग अपरिहार्य भएको बताए । अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावका कारण नेपालका निर्धन एवं सीमान्तकृत वर्गले भोग्नुपरेका समस्याबारे जानकारी दिँदै जलवायु परिवर्तनका प्रभाव वृद्धिमा नेपालको कुनै योगदान नरहेको दोहो-याए ।
उनले जलवायु परिवर्तन प्रभावका कारण अनपेक्षित रुपमा नेपालमा वर्षा, बाढी, पहिरो र खडेरी बढिरहेको जानकारी पनि दिए । त्यसबाट प्रकृतिक विपत्ति थपिएका र दिगो विकासका प्रयास, मानव स्वास्थ्य एवं जनजीविकामा असर परेको उनले बताए।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया