NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

झुटा प्रचार गरेर वाइवाईलाई निशाना बनाइयो : निर्वाण चौधरी

काठमाडाैं । चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले  आफ्नो उत्पादन वाइवाई चाउचाउलाई बदनाम गर्ने  प्रयासस्वरूप गलत हर्कत भइरहेको बताएका छन्। चौधरी समूहविरुद्ध झुटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएको भन्दै उपभोक्तालाई त्यसको भ्रममा नपर्न आग्रह गरेका छन् ।

केही दिनअघि कम गुणस्तरका वाइवाइ चाउचाउ भेटिएपछि महानगरले दुई लाख  रूपैयाँ जरिवाना गरेको थियो ।

यस्तो छ उनको पूरा वक्तव्य-

वाइवाई नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्रान्ड बनिसकेछ र यो अझै विश्वका अन्य देशहरूमा फैलिँदै गएको छ। हालै जब हामीले आईपीओमा जाने घोषणा गर्‍यौँ, त्यसपछि वाइवाई ब्रान्डलाई बदनाम गर्ने प्रयासस्वरूप केही गलत हर्कतहरू भइरहेका छन् भन्नेमा कुनै शंका छैन। चौधरी समूहविरुद्ध झुटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन्। जसमा वाइवाईलाई निशाना बनाइएको छ। हामीले पटकपटक भनेका छौँ कि वाइवाईले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ। खाद्य प्राविधिज्ञहरूले वाइवाईको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्।

अचम्मकै कुरा भन्नुपर्छ- वाइवाई विश्वभर लोकप्रीय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ। नेपाली पहिचानकै रूपमा विश्वव्यापी ब्रान्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून्। त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौँ र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ।