NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

फर्किए उपप्रधानमन्त्री यादव, सरकारबारे आज निर्णय लिने

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औं बैठकमा भाग लिएर स्वदेश फर्किएका छन् । पार्टी विभाजनको पर्सिपल्ट मन्त्री यादव स्वदेश फिरेका हुन् ।

राष्ट्रसङ्घको प्रधानकार्यालयमा भएको आयोगको बैठकमा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहँदा उपप्रधानमन्त्री यादवले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस तथा ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग बेग्लाबेग्लै भेटवार्ता गरी सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएका थिए ।

उपप्रधानमन्त्रीले जलवायु परिवर्तन र नेपालजस्ता अति कमविकसित देशले भोग्नुपरेका समस्या र त्यसको असरका बारेमा चर्चा गर्दै दिगो पर्यटन विकास, अन्तर्राष्ट्रिय सहयोग तथा बहुपक्षीयताको महत्वका बारेमा विचार व्यक्त गरेका थिए ।

आयोगको बैठकमा स्वास्थ्यमन्त्री यादवले नेपालको स्वास्थ्य क्षेत्र, विशेषगरी मातृ तथा प्रजनन स्वास्थ्यमा भएको सुधार, दिगो विकासका लक्ष्य प्राप्ति तथा जलवायु परिवर्तनका असरबारे जानकारी दिँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि राष्ट्रहरूबीच विश्वास, सद्भाव, ऐक्यबद्धता र सहयोग आदानप्रदान महत्त्वपूर्ण हुने बताएका थिए ।

यसैबीच, पार्टीमा आएको अनपेक्षित विभाजन र आगामी कदमबारे निर्णय लिन जसपाले मंगलबार पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सम्भवतः आज बस्ने बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने र पार्टी विभाजनविरुद्ध कानूनी उपचारमा जाने निर्णय लिने सम्भावना छ ।