जिबी राईलाई अघिल्लो सरकारले भगाएको रवि लामिछानेको आरोप
‘छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न पाउनुपर्छ’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईलाई अघिल्लो सरकारले पक्राउ नगरेर उल्टै भगाएको आरोप लगाएका छन् । भगाइएको हुनाले खोजी गर्न समय लागेको उनको भनाइ छ ।
‘नियन्त्रणमा लिन प्रयास भइरहेको छ । तर, यत्रा समस्या आउँदाआउँदै भगाएको चाहिं किन भन्ने प्रश्न सोध्न सकिन्छ नि,’ जिबी राई अहिलेसम्म किन पक्राउ परेनन् भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने ।
लामिछानेको यस्ता भनाइपछि सञ्चारकर्मीले भगाउने को हुन् भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले ‘त्यतिबेला सरकारमा को थियो ?’ भन्ने प्रतिप्रश्न गरे ।
जिबी राईलाई नियन्त्रणमा लिन प्रयास भइरहेकाले केही समय धैर्य गरिदिन उनले आग्रह गरे ।
लामिछानेले आफूमाथि लागेको अभियोगबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नेसम्बन्धमा असहमति नभएको पनि प्रष्ट पारे । तर आफूमाथि लागेका अभियोगबारे संसदमा भने बोल्न पाउनुपर्ने उनको माग छ । उनले आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती पनि दिए ।
‘छानबिन समिति बनाए पनि हुन्छ । तर संसद्मा बोल्न पाउनुपर्छ,’ उनले भने, ‘नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘यसो गर, त्यसो नगर’ भनेर आदेश दिने होइन ।”
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचतलगायत देशका विभिन्न सहरमा खोलिएका सहकारी संस्थाका १० हजार बढी बचतकर्ताको रकम जिबी राईले अपचलन गरेको र त्यसमा गृहमन्त्री लामिछाने पनि मुछिएको आरोप लाग्दै आएको छ । यसमाथि छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि संसद् अवरोध गर्दै आए पनि गृहमन्त्री लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आइरहेका छन् ।
फरक प्रसंगमा उनले प्रहरीले सवारीचालक अनुमतिपत्र घोटलादेखि ठूला अनियमिततासम्मका फाइल अनुसन्धान गरिरहेको बताए । उनले प्रश्न गरे, ‘बालमन्दिरको जग्गाको विषय कहिलेदेखि अड्किएको थियो । अहिले २० जनालाई पक्राउ पुर्जी जारी गरिएको छ ।’
प्रतिक्रिया