NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

किमाथाङ्का । मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । संखुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकालु गाउँपालिका–२ मा आठ हजार तीन सय ५० को उचाइमा पुगेका फ्रान्सेली नागरिक सालिबा अचानक बिरामी परेका थिए । उद्धार गरी उपचारका लागि लैजाँदै गर्दा बिहीबार बिहान ३ बजे बाटैमा उनको मृत्यु भएको हो ।

पर्वतारोही सालिबाको शव हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको स्नोवी होराइजन टे«क्स एक्स्पिडिसनका प्रबन्धक निर्देशक बोधराज भण्डारीले बताए । उनीसँगै गएका अन्य फ्रान्सेली नागरिक भने सकुशल रहेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा पर्दछ ।

एक साताअघि मकालु हिमाल आरोहण गरी फर्किने क्रममा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेन्जे शेर्पाको मृत्यु भएको थियो ।