NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १९ गते

नेपालले आफैं किन छापिरहेको छैन नोट ?

नेपाली मुद्रा कमजोर हुनुका कारणदेखि वित्तीय साक्षरतासम्म 

नेपालमा नोट छपाइ नहुने भएकाले विदेशमा छापिएर आउने गरेको छ । यसरी विदेशमा पैसा छपाइ गर्दा देशको ठूलो धनराशी बाहिरिन्छ । नोट, त्यसमा प्रयोग हुने स्टिकर स्वदेशमा छपाइ गर्दा विदेशिने रकम रोकिने भएकाले ‘यतै छाप्नु पर्छ’ भन्ने सोच नआएको होइन । सरकारमा रहेकाहरूले बेलाबेला यो विषय उठाउँदा नेपाल राष्ट्र बैंकले सकारात्मक रूपमा ग्रहण गर्दै आइरहेको छ ।

म नेपाल राष्ट्र बैंकको गभर्नर छँदै स्वदेशमा पैसा छाप्ने भनेर संस्था खोल्ने प्रक्रिया अघि बढेको थियो । तर त्यसले मूर्तरूप पाउन सकेन, बीचमै रोकियो । त्यसयता बेलाबेला यो विषय उठ्ने र क्रमशः सेलाएर जाने गरेको छ । पैसाको छपाइ अत्यन्तै संवेदनशील त छ नै उत्तिकै खर्चिलो पनि छ । यो काम उच्च सुरक्षा व्यवस्था गरेर मात्र गर्न सकिन्छ । प्राविधिक, मानवीय स्रोतलगायत कुरा यसमा आवश्यक हुन्छ ।

पैसा जति पनि छाप्न मिल्छ, नमिल्ने होइन । तर यसरी धेरै पैसा छापेर बजारमा पठाउँदा पैसा बढी हुने, सामान कम हुने हुन्छ । मूल्य वृद्धि हुन्छ ।

यसको मतलब नेपालमा पैसा छाप्नै सकिँदैन भन्ने होइन । नेपालमा नोट छपाइ गर्न सकिन्छ । तर त्यसका लागि सरकारले पहलकदमी लिनुपर्छ । तपाईं–हामीलाई लाग्न सक्छ, पर्याप्त मात्रामा पैसा छापेर बजारमा पठाए हुन्थ्यो नि । पैसा जति पनि छाप्न मिल्छ, नमिल्ने होइन । तर यसरी धेरै पैसा छापेर बजारमा पठाउँदा पैसा बढी हुने, सामान कम हुने हुन्छ । मूल्य वृद्धि हुन्छ । पैसा पनि अन्य सामान या वस्तु जस्तै हो । बढी हुनेवित्तिकै यसको मूल्य कम भइहाल्छ भने कम हुनेबित्तिकै मूल्य बढी हुन्छ ।

एक पटक जिम्बाब्बेले ‘आफैं किन नछाप्ने’ भनेर पैसा छाप्यो । १५ वर्षअघि सम्म राम्रो अर्थतन्त्र भएको जिम्बाब्बेको अवस्था यति खराब भयो कि पाउरोटी लिनका लागि पनि १० लाखको नोट छाप्नुपर्ने भयो । पैसाले देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्ने भएकाले मुलुकको अर्थतन्त्र हेरेर निश्चित मात्रामा छाप्नु पर्छ । यो बजारमा बढी पनि हुनु हुँदैन, कम पनि । त्यसैले पैसा छपाइको काम अत्यन्तै संवेदनशील र जिम्मेवारीको काम हो ।

पैसा जति बेला मन लाग्यो त्यतिबेला छाप्न पाइँदैन । यसको आफ्नै नियम र प्रक्रिया हुन्छ । विश्वका कतिपय तानाशाहले ‘मेरो पैसा हो, जति पनि छाप्छु’ भनेर छापेका छन् । तर तिनको पैसाको औचित्य देशभित्रै नगन्य हुने गरेको छ । त्यसैले आफूसँग भुक्तानी क्षमता जति छ, त्यति मात्रै छाप्नुपर्छ ।

पहिले विदेशी मुद्राको सञ्चिती र सुनलाई आधार मानेर पैसा छाप्ने गरिन्थ्यो । पछि अर्थतन्त्र विस्तारै चलायमान हुँदै गयो । ७० र ८० को दशकपछि ‘हामी अनुशासित हुन्छौं’ भनेर विदेशी सञ्चिति नराखीकन पनि देशहरूले पैसा छापे । आफ्नो आधारबाट पैसा छापेर पनि ती देश विकसित भएका छन् ।

हामीले अहिले वार्षिक अर्बौं रूपैयाँ खर्च गरेर नोट छापिरहेका छौं । पैसा छपाइमा यति ठूलो धनराशी खर्चिनुको कारण मुद्रा प्रेस नहुनु नै हो । पैसा छाप्ने प्रेस खरिदका लागि टेन्डर प्रक्रिया थालिएको थियो । तर पछि त्यो त्यतिकै रोकियो । मैले माथि नै भनेँ नि सरकारले चाहेमा उच्च सुरक्षामा नोट छाप्न सक्छ । तर त्यसका लागि प्रविधिदेखि दक्ष जनशक्तिसम्मको प्रबन्ध गर्नुपर्छ ।

नयाँ र पुरानो पैसाको मूल्य एउटै भए पनि दशैंमा केन्द्रीय बैंकदेखि विभिन्न बैंकहरूमा नयाँ नोटका लागि भीड लाग्ने गरेको छ । बढी पैसा तिरी तिरी नयाँ नोट लिएको पाइन्छ । यस्तो अनौठो प्रवृत्ति संसारका कुनै पनि देशमा हुँदैनन् ।

नोट सफा राख्नुपर्छ भन्नेमा हाम्रो ध्यानै पुगेको छैन । पूजा गर्दा नोटलाई रातो टीका लगाइदिनैपर्ने चलन छ । भगवान्को पूजा गर्दा टीका लगाउने, फूलमाला लगाइदिनेभन्दा पनि बेग्लै राख्ने, धूप गर्ने चलन हाम्रो छैन । जबकि, भारतमा भगवानलाई छुन पाइँदैन । दान गर्नुछ भने दान पेटिकामा खसाल्नु पर्छ । नोट प्रयोग गर्दा अलिकित अनुशासित हुने हो भने झुत्रो र फोहोर हुँदैन ।

बजारको माग र आपूर्तिअनुसार मुद्राको मूल्य तोक्ने गरिन्छ । भारतले आफ्नो पैसाको मूल्य कम हुनेबित्तिकै अमेरिकी डलर बजारमा पठाइदिन्छ । त्यसपछि भारु अलिकति माथि जान्छ । तर हामी त्यो स्थितिमा छैनौं ।

नयाँ नोट छाप्न मात्र होइन, पुरानो नोट जलाउन पनि उत्तिकै खर्च हुन्छ । यी दुवै काम गर्दा अर्बौं खर्च हुने गरेको छ । त्यसैले डिजिटल भुक्तानी प्रणाली प्रचलनमा आएकाले यसतर्फ जोड दिन सकिन्छ । यसको प्रयोगले नोट नै कम छापिने, झुत्रे नहुने र जतन बढी हुने हुन्छ ।
नेपाली मुद्रा अरू देशको तुलनामा कमजोर छ । हाम्रो अर्थतन्त्र कमजोर भएकाले यस्तो भएको हो । हाम्रो निर्यात अत्यन्तै कमजोर हुँदा आयात बढिरहेको छ । आर्थिक विकास भयो भने मुद्रा बलियो हुन्छ ।

नेपाली मुद्राको माग बाहिरबाट बढ्नुपर्छ । पर्यटन व्यवसायलाई बढाउन सकियो भने अर्थतन्त्र उकासिन्छ । पैसाको मूल्य आफैं बढ्छ । नेपालभित्र आर्थिक क्रियाकलाप बढ्नुका साथै नेपाली मुद्रा बलियो बन्न जान्छ ।

पहिलो कुरा हो, पैसाको मूल्य (भ्यालु) । त्यो मुद्राले बजारमा किन्दा के हुन्छ ? धेरै पाइन्छ कि थोरै पाइन्छ ? यसले पैसाको मूल्य निर्धारण हुन्छ । दोस्रो हो, उपयोगिता । देशभित्र र बाहिर पैसाको उपयोगिता कति हुन्छ ? अरू देशले पनि नेपाली पैसा राख्यो भने उपयोगिता बढ्छ । तेस्रोमा छ, रिजर्भ । वैदेशिक व्यापारका लागि एक देशले अर्को देशको पैसा रिजर्भ गरेर राख्दा पनि पैसाको मूल्य बढ्छ । नेपालमा यी तीन कुरामध्ये अलिकति त्यही मूल्य छ, त्यो पनि आन्तरिक रूपमा । अरू देशको तुलानमा नेपाली मुद्रा कमजोर हुनुको कारण यही हो ।

बजारको माग र आपूर्तिअनुसार मुद्राको मूल्य तोक्ने गरिन्छ । भारतले आफ्नो पैसाको मूल्य कम हुनेबित्तिकै अमेरिकी डलर बजारमा पठाइदिन्छ । त्यसपछि भारु अलिकति माथि जान्छ । तर हामी त्यो स्थितिमा छैनौं । भारुको अरू देशसँगको के सम्बन्ध हुन्छ, त्यहीअनुसार हाम्रो मुद्रा प्रभावित हुन्छ ।

भारतीय सरकारसँग नगर्ने हो भने हामी आफैंले फ्लोड गरिदिनुपर्छ । फ्लोर्ड गर्दा बजारमा हाम्रो मुद्राको मूल्य भारु बराबर १०० नेपाली पनि हुनसक्छ, भारु १०० बराबर १६० पनि हुनसक्छ । त्यसको जोखिम कसले लिने ? त्यसैले आइएमएफले अहिले नै फ्लोड गर्ने स्थितिमा छैनौं भनेर नेपाललाई भनेको हो । किनभने, अर्थतन्त्र मजबुत भएर गइसकेपछि स्थिर विनिमय प्रणाली नराखेर आफैं गरे हुन्छ । त्यसका लागि नेपालको अर्थतन्त्र बलियो हुनुपर्यो । निर्यात बढ्नुपर्यो, पर्यटनलगायत व्यवसाय राम्रोसँग सञ्चालन हुनुपर्यो ।

हामी प्राकृतिक स्रोत–साधनले धनी छौँ तर आर्थिक रूपमा निकै कमजोर । वित्तीय रूपमा पनि हामी साक्षर छैनौं । पैसा कमाइरहे पनि त्यसको उपयोग जानेका छैनौं । देशले पनि चालु आर्थिक वर्षको ९ महिनामा एक खर्ब रूपैयाँ मात्र पुँजीगत खर्च गरेको छ । जबकि, चालु आवमा तीन खर्ब पुँजीगत खर्च गर्ने भनेर बजेटमा भनिएको छ ।

वित्तीय साक्षरता संवेदनील विषय हो । पैसालाई तपाईले कसरी गणना गर्नु हुन्छ र लगानी गर्नुहुन्छ ? त्यो महत्त्वपूर्ण हुन्छ । धनी हुनु र गरिब हुनुमा पैसाको व्यवस्थापनले काम गरेको हुन्छ । लगानीको ज्ञानबिना ह्विमको पछि लाग्दा पनि देश र जनता पछि परेका छन् ।

वित्तीय साक्षरतासम्बन्धी शिक्षा स्कुल तहदेखि नै सिकाउनुपर्छ । तर स्कुलहरूमा यो विषय नै पढाइँदैन । अभिभावकले घरमै पैसाबारे बच्चालाई सिकाउनुपर्छ । तर त्यस्तो कुरा हाम्रोमा छैन । हाम्रोमा ‘तैँले अहिले पैसाको कुरा गर्ने बेला भएको छैन, स्कुलमा गएर पढ्, जागिर खा’ भन्ने मानसिकता हाबी छ । जुन चिज हामीले स्कुलमा पढेका हुँदैनौं, त्यसको पछि लागेका छौं ।

नेपालमा केन्द्रीय बैंकले पनि विगत लामो समयदेखि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दैै आएको छ । म राष्ट्र बैंकमा जाँदाखेरि ३० प्रतिशतको हाराहारीमा वित्तीय साक्षरता थियो, छोड्दा ६२ प्रतिशत पुग्यो । अहिले बढेर ७० प्रतिशत भइसकेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले पनि वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गर्दै आएका छन् ।

अहिले धेरै युवाहरू विदेश पलायन भइरहेका छन् । त्यसलाई स्वदेशमै केही गर्ने वातावारण बनाउन सरकारसँगै बैंक तथा वित्तीय संस्थाले केही गर्नुपर्ने हुन्छ । नयाँ स्टार्टअप र सर्टेन बिजनेसको लागि बैंकहरूले त्यो क्षेत्रमा आवश्यक पर्ने सहयोग गर्नुपर्छ । जसबाट वित्तीय संस्थाको पैसा पनि नडुब्ने हुन्छ । साना तथा मझौला घरेलु उद्योगमा लगानी गर्नको लागि आयोजनाहरू निर्माण गरेर लिने स्थिति गराइदियो भने नेपाली युवा बाहिर नगई देशभित्रै बस्न तयार हुनेछन् ।

(नेपालवाचको नयाँ भिडियो प्रस्तुती कुरा पैसाको कार्यक्रममा नेपालले राखेको कुराको सम्पादित अंश)