NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते
बहस

विद्यार्थीलाई सपना देख्नसक्ने बनाउन किन सकेनौं ?

विद्यालय र समुदायको सम्बन्ध बलियो बनाउन यसो गरौं

न् २०१५ मा गोरखा केन्द्रबिन्दु भएर गएको महाभूकम्पले धेरै विद्यालयहरू भत्किए । विद्यालयहरूमा क्षति हुँदा त्यसको प्रत्यक्ष मारमा विद्यार्थीहरू परे । यो आफैंमा दुःखद् अवस्था थियो । सँगै अवसर पनि थियो ।

भूकम्पले विद्यालय भत्किएकाले तिनलाई पुनर्निर्माण गर्नुपर्ने खाँचो टड्कारो थियो । यही आवश्यकता बोध गरेर औपचारिक रूपमा काम थालिएकाे थियाे,  किड्स अफ काठमाडौंमार्फत । संस्थाको मूल उद्देश्य शिक्षा क्षेत्रमा केही गर्नुपर्छ भन्ने थियो । अनौपचारिक रूपमा सन् २०१० देखि नै काम थाले पनि यसकाे औपचारिक सुरुवात भने सन् २०१५ देखि भएको थियो ।

भूकम्पपछि ‘टेम्पलेट’ विद्यालय

पढाइ कक्षाकोठाभित्र मात्र हुन्छ भन्ने मान्यता सही होइन । जति स्रोतसाधन गाउँमा छ, त्यति सहरमा नहुन सक्छ । गाईवस्तु चराउँदा, त्यहाँको वनस्पतिसँग खेल्दा जति सिकाइ हुन्छ, त्यति सहरमा नहुन सक्छ

भूकम्पपछि विद्यालयको तत्कालीन आवश्यकता भवन थियाे । यसलाई ध्यानमा राखेर हामीले ‘टेम्पलेट’ विद्यालय बनायौं । तर यसले एउटा बर्खा थेगे पनि अर्कोमा काम गर्ने सम्भावना थिएन । त्यसैले यसकाे दिगो समाधान गर्ने हेतुले टेम्पलेट विद्यालयलाई भवनमै रूपान्तरण गर्ने गरी अघि बढ्यौं ।

पहिलो प्राथमिकतामा विद्यालयको भवन निर्माण भए पनि हामी यसमा मात्रै सीमित छैनौं । विद्यालयका लागि आवश्यक खानेपानी, फर्निचर, शौचालय, पुस्तकालय निर्माणजस्ता काममा पनि उसैगरी जुटिरहेका छाैं ।

माटोको घर बनाउँदा पछाडि प–यो र सिमेन्टको बनाउँदा विकास भयो भन्ने सोच हामीभित्रको समस्या हो । यसबाट हामी मुक्त हुनुपर्छ

भूकम्पले भत्काएका विद्यालयको पुनर्निमार्णसँगै अधिंकाश विद्यालयका भवन नयाँ बनेका छन् । भवन निर्माणाकाे काम त्यतिबेला मात्रै गर्छाैं, जब विद्यालय र स्थानीय सरकार यसमा तयार हुन्छन् । तर यससम्बन्धी निर्णय लिनुपूर्व विद्यार्थी संख्या र पूर्वाधार अवस्था के, कस्तो छ, त्याे पनि हेर्छौं । वरपर अन्य विद्यालय छन् भने त्यस्तो स्थानमा हामी भवन बनाउँदैनौं । वृद्धिदरको राम्रो सम्भावना र सडकको अवस्थालाई पनि मध्यनजर गरिन्छ । सडक नपुगेको स्थानमा विद्यालय निमार्ण गर्न निकै अप्ठ्यारो हुन्छ । सामान बोकेर लैजानु पर्ने भएकाले यस्ता स्थानमा विद्यालय निर्माण गर्दा लागत बढ्छ ।

किड्स अफ काठमाडौंले १० विद्यालय बनाइसकेको छ भने दुई निर्माणाधीन अवस्थामा छन् । काभ्रे, सिन्धुपाल्चोक, जनकपुर, उदयपुरमा यी विद्यालय बनेका हुन् । अब कालीकोटका लागि पनि तयारी गर्दैछौं । संस्थाको नाम किड्स अफ काठमाडौं भएता पनि हामी काठमाडौंमा मात्रै केन्द्रित छैनौं । आवश्यकताअनुसार देशका विभिन्न भागमा पुगेर काम गरिरहेका छौं ।

भवन निर्माणमा अक्सर रातो इँटा प्रयोग गरिएको हुन्छ । तर हामी यस्ताे इँटाबिनै भवन निमार्ण गर्छौं । यसमा दुई तरिका छन् । पहिलो छ, –याम रक । यसमा रातो माटो, थोरै सिमेन्ट र बालुवाको मिश्रण गरिन्छ । अर्थ ब्रिक(Earth Brick) बाट पनि भवन बनाउँछौं । यसमा विशुद्ध काँचो माटो प्रयोग हुन्छ ।

धेरैको बुझाइ छ, गाउँभन्दा सहरका विद्यार्थीले राम्रो पढ्छन् । तर म यसमा सहमत छैन 

–याम अर्थ र अर्थ ब्रिक(Earth Brick) बाट भवन बनाउँदा राम्रो त देखिन्छ नै प्रकृति सुहाउँदो पनि हुन्छ । थपमा यसले प्राकृतिक थर्मलको कामसमेत गर्दो रहेछ । यो आरसिसी भवनभन्दा बलियो र दिगोसमेत हुन्छ । विद्यालय भन्नासाथ ४ देखि ५ इन्चको पर्खाल, पहेँलो रङ र निलो जस्ता हाम्रो दिमागमा आउँछ । यो परिभाषा र बुझाइमै समस्या छ । हामीले बनाएको विद्यालय प्रेरणादायी होस् र यसलाई हेरेर अन्य स्थानीय निकायले पनि सिको गरून् भन्ने हाम्रो ध्येय छ। माटोको घर बनाउँदा पछाडि प–यो र सिमेन्टको बनाउँदा विकास भयो भन्ने सोच हामीभित्रको समस्या हो । यसबाट हामी मुक्त हुनुपर्छ ।

समुदाय र विद्यालयको सम्बन्ध

शिक्षा क्षेत्रमा काम गर्दा धेरै विद्यालय अवलोकन गर्ने मौका पाइयो । समुदाय र विद्यालयको सम्बन्धबारे धेरै कुरा सिकियो । यही दौरान विद्यालय र समुदायको सम्बन्ध कसरी राम्रो हुुन्छ भन्ने कुराले मलाई निकै सतायो । यसप्रतिको बढ्दो रुचिकै कारण अमेरिकाको फ्लोरिडा युर्निभर्सिटिबाट एजुकसनमा लिडरसिप एण्ड पोलिसी अर्थात् शिक्षाको नीति र नेतृत्व विषयमा विद्यावारिधि गर्दैछु ।

शिक्षाका असीमित दायरा

विद्यालयमा समुदायको संलग्नतालाई ‘पोलिटिकल ल्याडर’ बनाइएको छ । यो अवस्थामा त्यो विद्यालयलले जित्न सक्दैन । व्यक्तिले जित्छ

धेरैको बुझाइ गाउँभन्दा सहरका विद्यार्थीले राम्रो पढ्छन् भन्ने छ । तर म यसमा सहमत छैन ।

एउटा सानो उदाहरण । एक पटक हामी विद्यालय निर्माणको सिलसिलामा काभ्रेको विकट गाउँ पुगेका थियौं । त्यसमा जुटिरहेका बेला एक दिन त्यहाँ निकै ठूलो पानी प–यो । काठमाडौंमा पढ्ने गाउँका गिनेचिनेका एक व्यक्तिका छोरा पनि गाउँ आउनुभएको थियो, त्यस दिन । भारी वर्षाका कारण हामी अगाडिको छाप्रोबाट पानी चुहिन थाल्यो । काठमाडौंको विद्यालयमा पढेका विद्यार्थीले पानी चुहिएको ठाउँमा हतार–हतार भाँडो लगेर राख्नुभयो । तर गाउँमा पढिरहेका अर्का विद्यार्थीले छतमा चढेर पानी चुहिरहेको ठाउँ पहिचान गर्नुभयो र त्यसकाे प्वाल टालिदिनुभयो । पानी चुहिने समस्या तत्काल हल भयो । यो एउटा उदाहरण मात्र हो ।

पढाइ कक्षाकोठाभित्र मात्र हुन्छ भन्ने मान्यता सही होइन । जति स्रोतसाधन गाउँमा छ, त्यति सहरमा नहुन सक्छ । गाईवस्तु चराउँदा, त्यहाँको वनस्पतिसँग खेल्दा जति सिकाइ हुन्छ, त्यति सहरमा नहुन सक्छ ।

पढाइ कक्षाकोठाभित्र मात्र हुन्छ भन्ने मान्यता सही होइन । जति स्रोतसाधन गाउँमा छ, त्यति सहरमा नहुन सक्छ । गाईवस्तु चराउँदा, त्यहाँको वनस्पतिसँग खेल्दा जति सिकाइ हुन्छ, त्यति सहरमा नहुन सक्छ 

हामीले भाइबहिनीहरूलाई सपना देखाउनै सकेनौं । ग्रामीण क्षेत्रका बालबालिका र विद्यार्थीलाई भविष्यमा के बन्ने भनेर प्रश्न सोध्दा कतार, दुबइ जाने भन्ने पाइन्छ । उनीहरूले यस्तो उद्देश्य बोक्नुको पछाडि देखावटी जीवनशैलीले काम गरेको छ ।

चिनजानका आफन्त कतार, दुबईबाट चार/पाँच वर्षमा घर फर्कंदा राम्रो लुगा लगाएर, महंगो फोन बोकेर गाउँ आउने र चोकमा सबैलाई चिया खुवाइदिने भएकाले त्यो उनीहरूलाई आदर्श लाग्न पुग्छ । अनि उनीहरू त्यस्तो जीवनशैलीप्रति सम्मोहित हुने गर्छन् ।

बहिनीहरूको हकमा पनि धेरैले शिक्षक, नर्स बन्ने इच्छा व्यक्त गर्छन् । त्यसमा पनि कसैले ‘मलाई बिहे गरेर ठूलो सहरमा जान मन छ’ भन्छन् । यो सुन्दा धेर चित्त दुख्छ । सपना त्यतिमा मात्र सीमित हुनु हुँदैन । धेरै गर्न, देख्न सकिन्छ ।

जो गोठालो जाँदा रुखमा चढ्छन्, गाइवस्तुुलाई समातेर खोरमा हाल्छन्, तिनीहरूलाई खेलकुदमा राख्दा के होला ? घर व्यवहार सबै सम्हालेर बसिरहेका नानीहरूलाई होटल व्यवसायमा ल्याउँदा उनीहरू कहाँ पुग्छन् होला ? कविता लेखेर, गीत गाएर जीविकोपार्जन गर्न सकिन्छ, भविष्यमा यसलाई पनि आफ्नो काम बनाउन सकिन्छ भनेर हामीले सिकाउन सकेनौं ।

छाप्रो चुहिएपछि काठमाडौंको विद्यालयमा पढेका विद्यार्थीले हतार–हतार भाँडो लगेर थाप्नुभयो भने गाउँमा पढेका अर्का विद्यार्थीले छतमा चढेर प्वाल टालिदिनुभयो । सहर र गाउँमा पढेका विद्यार्थीबीचको अन्तर चिहाउने यो एउटा सानो आँखीझ्याल हो

नीतिमै कमजोरी

मुख्य कुरा त, सिकाइका यी तमाम विषयलाई हामीले नीतिगत रूपमा समेट्न सकेनौं । हामीले स्थानीय निकायलाई अधिकार दिएकाले यो पूरा गर्ने जिम्मेवारी उसैको हो । जनकपुरका भाइबहिनीले के गर्न सक्छन् ? उनीहरूको सीप के हो ? मनाङका भाइबहिनीहरूको सीप के हो ? यसलाई एउटै नीतिले सम्बोधन गर्न गाह्रो हुन्छ ।

स्थानीय निकायले नै ‘भाइबहिनीहरूले यो गर्न सक्छन्, उनीहरूलाई यो अवसर दिनुपर्छ’ भनेर अघि बढ्दा यसले धेरै कुराको सम्बोधन गर्छ ।

विद्यालयमा समुदायको संलग्नतालाई ‘पोलिटिकल ल्याडर’ बनाइएको छ । यो अवस्थामा त्यो विद्यालयलले जित्न सक्दैन, व्यक्तिले जित्छ । विद्यालय व्यवस्थापन समिति र प्रशासनको समीकरण मिल्यो भने त्यो विद्यालय गुणस्तरीय हुन्छ । त्यो नहुँदा गञ्जागोलमा रुमलिन्छ ।

समुदायले चाहने हो भने विद्यालय राम्रो बनाउन सकिन्छ । संसारभरको अनुभवलाई नियाल्दा शिक्षालाई प्राथमिकतामा राखेको देशले विकासको फड्को मारेको देखिन्छ । तर नेपालको सन्दर्भमा शिक्षालाई खुड्किलो मात्र बनाइएको छ । अहिले अवलम्बन गरिएको परिपाटीमा ब्रेक लगाउने हो भने विद्यालयसँगै समग्र शिक्षा प्रणालीमा सुधार ल्याउन सकिन्छ ।

देशका लागि आवश्यक जनशक्ति विद्यालयबाट निस्कने हो । त्यो विद्यालय बन्नका लागि स्थानीयको ज्ञान कसरी एकीकृत गर्न सकिन्छ भन्ने कुरा नै मैले जान्न खोजेको हुँ । नेपाल स्रोतसाधन र विविधताले भरिपूर्ण छ । त्यसैले यहाँ यो अझै धेरै सम्भव छ ।

(नेपालवाचको भिडियो कार्यक्रम ‘एजुकेसन डालग’मा किड्स अफ काठमाडौंका निर्देशक दाहालले राखेको भनाइको सम्पादित अंश)

हेर्नुहोस् भिडियो कुराकानी