NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

डोनाल्ड ट्रम्प सबै ३४ अभियोगमा दोषी ठहर, के अब चुनाव लड्न पाउँछन् ?

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प हश मनी प्रकरणमा अदालतबाट दोषी ठहर भएका छन् ।

न्युयोर्कको अदालतमा दुई दिनसम्म ट्रम्पमाथि लागेका ३४ अभियोगमाथि सुनुवाइ चलेको थियो । अदालतका १२ जुरीले यी सबै अभियोगमा ट्रम्पलाई दोषी करार गरेको हो ।

पोर्नस्टार स्टोर्मी डेनियल्ससँग यौन सम्बन्ध राखेर यसको गोपनीयता कायम गर्न रकम दिएको, आफ्नो कारोबारका विवरण हेरफेर गरेको, राष्ट्रपति निर्वाचनको परिणाम हेरफेर गर्न संसदमा तोडफोड गरेकोलगायत २४ अभियोग लगाएर ट्रम्पविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । ट्रम्पले भने आफूमाथि लगाइएको कागजात छेडछाड गरेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले स्टर्मी डेनियलसँग यौन सम्पर्क गरेको कुरालाई पनि अस्वीकार गरेका छन् ।

पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक अभियोगमा मुद्दा दर्ता भएर दोषी ठहर भएको अमेरिकी इतिहासमै पहिलो घटना हो ।

ट्रम्प झण्डै तीन दर्जन अभियोगमा अदालतबाट दोषी ठहर भए पनि सजाय भने सुनाइएको छैन । बिबिसीका अनुसार, आगामी जुलाई ११ मा अदालतले यसबारे निर्णय लिने छ ।

ट्रम्पले यो निर्णयलाई लाजमर्दो र धाँधलीको संज्ञा दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको अभियान टोलीले भने ‘कानूनभन्दा माथि कोही नभएको’ भन्दै निर्णयलाई उचित ठहर गरेको छ ।

डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् ।

उनलाई दोषी ठहराएपछि ट्रम्पको अभियान टोलीले उनलाई ‘राजनीतिक बन्दी’को रूपमा प्रस्तुत गरेको र यसपछि ठूलो संख्यामा मानिसले चन्दा दिएको दाबी गरेको छ ।

बाइडेन सत्तारुढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन् ।

के ट्रम्प चुनाव लड्न पाउँछन् ?

आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवारसमेत रहेका ट्रम्पको उम्मेदवार अदालतको फैसलापछि के हुन्छ भन्ने जिज्ञासा उत्पन्न भएको छ । अदालतबाट दोषी ठहर भए पनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्नेछन् ।

अमेरिकी संविधानअनुसार, राष्ट्रपति पदमा उम्मेदवार हुन केही न्यूनतम योग्यता चाहिन्छन् जसमा कम्तीमा ३५ वर्षको उमेर भएको, संयुक्त राज्यको आजीवन नागरिक भएको र कम्तीमा १४ वर्षसम्म संयुक्त राज्य अमेरिकामा बसेकोको हुनुपर्छ ।

आपराधिक अभिलेख भएका व्यक्तिले पनि अमेरिकाको राष्ट्रपतिमा चुनाव लड्न पाउँछन् । यसअनुसार जेलमा रहेका व्यक्तिले पनि राष्ट्रपतिको चुनावमा भाग लिन सक्छन् ।