हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित
डुम्रे । हुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । यही जेठ १७ गते अपराह्न आएको हुरीले विद्यालयको दुईवटा भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको हो ।
विद्यालयका प्रधानाध्यापक रविचन्द्र वाग्लेले भीषण हुरीले दुवै भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको जानकारी दिए । उनका अनुसार हुरीले विद्यालयको पाँचवटा कोठाको छाना उडाएको छ । उनले भने, “अहिले हुरीले छाना नउडाएका तीन कोठामा नौवटा कक्षा सञ्चालन गर्न बाध्य भएका छौँ । एउटा कोठामा भने कार्यालय सञ्चालन गरिएको छ ।”
छाना र गारो समेत भत्काउँदा रु चार लाखभन्दा बढीको क्षति भएको प्रधानाध्यापक वाग्लेले बताए । क्षतिको विवरण वडा कार्यालयलाई जानकारी गराइसकेको उनको भनाइ छ । वडा कार्यालयमा निवेदन दिने र व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखामा जानकारी गराइसकिएको उनले बताए । उक्त विद्यालयको आधारभूत तहमा ४० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
गर्मी अत्यधिक बढेकाले कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा चौतारी र रूखमुनि राखेर पठनपाठन गराउनुपर्ने बाध्यता आएको प्रधानाध्यापक वाग्लेले बताए । तत्काल विद्यालयको मर्मत गरी पठनपाठन सञ्चालन गर्न सम्बन्धित निकायसमक्ष आग्रह गरिएको उनले जानकारी दिए ।
सोही दिन आएको हुरीले व्यास–९ माझफाँटस्थित माहेन्द्री मावि, व्यास–१२ कमलबारीस्थित सिद्धेश्वरी माविलगायत विद्यालयमा क्षति पुर्याएको नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाले जनाएको छ । नगरपालिकाका विभिन्न विद्यालयमा क्षति पुर्याएकाले तथ्याङ्क सङ्कलन भइरहेकाले हालसम्म यकिन विवरण आइनपुगेको शाखाले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया