NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

चितवनका किसानले पाएनन् ८ महिनादेखि दूधको भुक्तानी

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु. ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ ।

११४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् ।

सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मंसिरयताको रु २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् ।

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ ।

जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन् । यहाँ १ लाख गाई र ६० हजारभन्दा बढी भैंसी पालेर दूध उत्पादन हुँदै आएको छ ।