प्रधानमन्त्रीका लागि मरिहत्ते गरेको छैन : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पदका लागि आफूले मरिहत्ते नगरेको प्रष्ट पारेका छन् । जनताको सेवालाई प्रधान मानेर अघि बढेकाले आफ्ना लागि पद गौण रहेको उनको आशय छ ।
‘जनताको चाहना, अपेक्षा र राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नुपर्छ । त्यसकारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा सोचेर बस्दिनँ,’ बुधबार पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालले भने ।
यसअघि पनि आफू रहरले नभई परिस्थितिवश प्रधानमन्त्री बनेको नेता नेपालले बताए । प्रचण्ड नेतृत्वको सरकार ढलेपछि ०६६ जेठ ११ मा नेपाल पहिलो पटक प्रधानमन्त्री बनेका थिए । देशका ३४औं प्रधानमन्त्रीका रूपमा नेपालले ०६७ माघ २२ गतेसम्म काम गरेका थिए ।
यसअघि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन छँदा नेपाललाई एक वर्ष प्रधानमन्त्री दिने भद्र सहमति भएको बताइन्छ । तर प्रचण्ड दोस्रो पटक गठबन्धन बदलेर एमालेसँग मिलेपछि नेपालले ओली र प्रचण्ड दुवैबाट प्रधानमन्त्री बन्ने आश्वासन पाए पनि उनी आश्वस्त हुन सकेका छैनन् । नेपाल सत्ता गठबन्धनसँग सन्तुष्ट हुन नसक्नुका कारणहरूमध्ये यो पनि एक भएको बताइन्छ ।
प्रतिक्रिया