NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

गायक योगेश्वर अमात्यको जग्गा हिनामिना गर्ने सिआइबीद्वारा पक्राउ

काठमाडौँ । गायक योगेश्वर अमात्यको जग्गा हिनामिना गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–४ जावलाखेलबाट उविन्द्रराज शाक्य र शोभा शाक्य पक्राउ गरेको हो ।
गायक अमात्यको बारास्थित १२ बिघा जग्गाको किर्ते कागजात बनाएर १९ करोड रुपैयाँ बैंकबाट निकालेर ठगी भएको थियो । प्रहरीले २०७८ कात्तिकमा चार जनालाई पक्राउ गरेको थियो। त्यसमध्ये दुई जना फरार रहेकोमा हाल पक्राउ परेका हुन् ।
जग्गाको रेखदेख गर्नेबाट उनको जग्गामा अनधिकृत व्यक्तिहरू आएर शङ्कास्पद गतिविधि गर्ने गरेको जानकारीका आधारमा खोजबिन गर्दा उनको जानकारीबिना नै जग्गा कुमारी बैंक न्युरोड शाखामा धितो राखेर १९ करोड रुपैयाँ बराबरको कर्जा लिएको खुलेपछि उनले प्रहरीमा उजुरी दिएका थिए।
अनुसन्धानमा काठमाडौँका एसके महर्जन र मुक्तिलाल गौतमले नक्कली लालपुर्जा बनाएर कुमारी बैङ्कको बारा शाखाबाट ऋण निकाल्न प्रक्रिया सुरु गरेर काठमाडौँको न्युरोड शाखाबाट ऋण निकालेको खुलेको थियो।

सिआइबीको अनुसन्धानमा बैङ्कको कर्मचारीसहितको मिलेमतोमा डेनियल ट्रेडिङ कम्पनी प्रालिका नाममा अमात्यको हक हस्तान्तरण गरेको देखाएर ठगी गरेको पत्ता लगाएपछि २०७८ कात्तिकमा बैंकका कर्मचारीसहितलाई मुद्दा दायर भएको थियो ।