NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

नेपालको उच्च शिक्षा, उपलब्धि र विद्यार्थीको विदेश पलायन

उच्च शिक्षा लिन किन धमाधम पलायन हुुँदैछन् विद्यार्थी ?

०३६ सालमा उच्च शिक्षा क्षेत्रमा काम गर्दैगर्दा लाग्थ्यो, हामी शिक्षाको क्रसरोडमा छौं । अहिले त झन् विभिन्न प्रकृतिको क्रसरोडमा रहेको प्रतीत हुन्छ । त्यस समय यो क्रसरोड हामीबीच मात्र सीमित थियो । तर अहिले त बाहिर जाने, त्यहाँका विश्वविद्यालयबाट सम्बन्धन लिने र यहाँ कलेज सञ्चालन गर्न थालियो । शैक्षिक क्षेत्रलाई महत्त्वका साथ हेर्नुपर्ने निकायले गम्भीरतापूर्वक नसोच्दाको नियति हो, क्रसरोडको समस्या ।

कोभिड–१९ महामारीपछि उच्च शिक्षाको भर्नादर विश्वव्यापी रूपमै घटे पनि यसको अलि बढी मारमा नेपाल प-यो । यसको मतलब भर्नादर घट्नुमा कोभिड मात्र जिम्मेवार छ भन्ने होइन । यसका पछाडि अन्य २/३ वटा त्यसमा पनि बलिया कारण छन् । एउटा त, शिक्षानीतिको निर्माणदेखि कार्यान्वयनको अधिकारप्राप्त निकायसम्मको कमजोरी छ । हामीलाई नियन्त्रण तथा नियमन गर्ने यी निकायमाथि नियन्त्रण आवश्यक भए पनि संयन्त्र बनाइएको छ जस्तो लाग्दैन । यसले निजीले समस्या भोग्ने तर सरकारी निकायले यो थाहा नपाउने अवस्था बनेको छ ।
निजी शैक्षिक संस्थालाई ‘लुुटेर खाने’ अपमानित नजरियाले हेर्ने गरिएको छ । विद्यार्थीहरूमाझ निजी शैक्षिक संस्थाले लुटे भन्ने भाष्य जबरजस्त स्थापित गर्न खोजिदैछ । निजी शैक्षिक संस्थालाई निकालिदिने हो भने यहाँको शैक्षिक धरातल के होला ? निजी शैक्षिक क्षेत्रलाई गाली गर्नेहरू कसैले यो कुरा सोचेको पाइँदैन । निजी शैक्षिक क्षेत्रबारे वस्तुपरक ढंगले नसोसिदिँदा एक्लै लडिरहेजस्तो भान हामीलाई हुुन्छ ।

निजी शैक्षिक संस्थालाई नीतिले नियमन गर्नुपर्नेमा व्यक्तिको नियन्त्रण बढी भइराखेको छ । यसले स्पष्ट नीतिनियम बनाएर त्यसकै आधारमा अघि बढ्नुपर्छ भन्ने दृष्टिकोणलाई नजरअन्दाज गरिरहेको छ ।

निजी शैक्षिक संस्थालाई भर्ना गर्ने विद्यार्थीको संख्या किटेर दिइएको हुन्छ । त्यसलाई पछ्याएर निश्चित अवधिमा परीक्षा सञ्चालन गनुपर्ने हुन्छ । यसले हामीलाई धेरै हदमा बाँधेको छ । नेपालमा चल्ने सबै शैक्षिक निकाय, शिक्षा प्रदायकलाई त्यही नियमले बाँधिन्थ्यो भने अन्यथा भन्न मिल्दैनथ्यो । तर अवस्था त्यस्तो छैन । सरकारी शैक्षिक संस्थाका लागि जुन नियम छ, निजीलाई पनि त्यही छ । तर विद्यार्थी र अभिभावकको अपेक्षाचाहिँ सरकारीसँग भन्दा निजीसँग बढी देखिन्छ ।

कोभिडपछिको उच्च शिक्षा

कोभिडकालमा कक्षाहरू अनलाइन हुनुका साथै घरबाटै काम गर्ने अभ्यास सुरु भयो । धेरै सानो अनलाइन कोर्स गर्नेहरूले पनि अधिकांश कोर्सको पढाइ सञ्चालन गरे र अन्वेषण गरे । नेपाल अझै पनि अनलाइन शिक्षा वा दूर शिक्षाका लागि तयार भइसकेको छैन । त्यसो त अनलाइन सिकाइ कक्षा कोभिडकालमा मात्र नभएर पहिले पनि भएको थियो ।

पहिले विद्यार्थीहरू सिधै कक्षामा जाने भएकाले अन्वेषण हुँदैनथ्यो । अनलाइन कक्षामा अन्वेषण जोडिएपछि धेरैमा वैकल्पिक माध्यमको ज्ञान भयो । धेरैलाई एउटा तहसम्मको शिक्षा नहुुँदा पनि काम गरेर खान सकिने रहेछ भन्ने भयो । त्यसले गर्दा नै भर्नादर कम भएको हो ।
विश्वव्यापी भर्नादर कम हुुँदा धेरै विश्वविद्यालय विद्यार्थी खोज्न हिँडे । कति आफ्नो देश त कति अन्य देशमा । त्यहीँबाट अफर दिएर खोज्न आउने भएपछि विद्यार्थी आकर्षित हुनु स्वाभाविक हो । उच्च शिक्षा लिन विदेश जाने र त्यहाँको ज्ञान लिएर फर्कने हो भने त्यो नराम्रो होइन । नफर्कंने गरी विद्यार्थी विदेशिनु चाहिँ असाध्यै दुःखदायी कुरा हो ।

विद्यार्थीमा अहिले ‘नेपालमा केही हुँदैन’, ‘भविष्य छैन’ भन्ने भाष्य स्थापित छ । जसका कारण बच्चाहरू धमाधम विदेश जाने लहर बढ्दैछ । विदेश गएपछि अभिभावलाई पनि ‘मेरो बच्चाले के गर्दैछ’ भन्ने थाहा हुदैन् । बच्चाहरूले सामाजिक सञ्जालमा राखेको तस्बिर हेर्दा सबै ठीक छ जस्तो देखिन्छ तर वास्तविकता थाहा हुँदैन । विदेशमा विद्यार्थीहरूले दुल्ख पाएको देख्ने धेरै कम हुन्छन् । दुःख पाएकाले पनि यसबारे हत्तपत्त घरपरिवारलाई भन्दैनन् ।

पहिले प्रतिस्पर्धा देशभित्र मात्र हुन्थ्यो । तर अहिले यो फैलिएर विश्वव्यापी भएको छ । वदेशतिर माध्यमिक तहको पढाइ सकाएपछि आफैं कमाएर पढ्ने प्रचलन हुन्छ । जसका कारण उनीहरूले पढाइ दोहो–याउँदैनन् । तर हाम्रोमा अभिभावकका लागि पढिदिने हो भन्ने मानसिकता छ । गाह्रो काम नगरेर सजिलो गर्ने अर्को परिपाटी पनि छ । त्यसैले अहिलेका बच्चालाई म वाइवाई जेनेरेसनको संज्ञा दिन्छुु । उनीहरूलाई तयारी चाउचाउजस्तो कुनै कुरा भन्ने बित्तिकै चाहिन्छ । धैयर्ता भन्ने कुरा एकदम कम छ, उनीहरूमा ।

नेपालमा उच्च शिक्षाको गुणस्तर

‘नेपालमा शिक्षाको गुुणस्तर नै छैन’ भन्न मिल्दैन । हाम्रो देश सानो भएता पनि विविधताले भरिएको छ । तर समस्या के भने हाम्रा सबै विश्वविद्यालयको रोजाइमा म्यानेजमेन्ट, एजुकेसन मात्र प-यो ।

कृषि विश्वविद्यालयले कृषिको शिक्षा मात्र नदिएर अनुसन्धान पनि गरोस् । देशलाई कृषिप्रधान बताइरहँदा कृषि विश्वविद्यालय कति सक्रिय छ ? सरकारले बजेट कति दिएको छ ? यसतर्फ ध्यान फिटिक्कै ध्यान गएको पाइँदैन । संस्कृतले पनि म्यानेजमेन्ट गर्ने, ओपन विश्वविद्यालय पनि यही गर्ने भएपछि प्रतिस्पर्धा बढी भयो । केन्द्रित विश्वविद्यालयमा काम गर्न सकियो भने त्यसले नजितजासँगै गुणस्तरमा पनि सुुधार आउँछ ।
अहिले सबै संस्थाकाे नाम पछाडि रिसर्च सेन्टर जोड्ने गरिएको छ । तर यस्ता पुच्छर झुण्ड्याएका संस्थाले के अनुसन्धान गरे ? कसले प्रमाणित गर्ने ? हस्पिटल एण्ड रिसर्च सेन्टर भनेर अनुुमति दिएको सरकारले उनीहरूले साच्चै के अनुसन्धान गरिरहेका छन् भनेर कहिले खोजी गर्ने ?

उच्च शिक्षाका उपलब्धिहरू

१९१८ मा पहिलो पटक नेपालमा त्रिचन्द्र कलेजको स्थापना भयो । यसरी हेर्दा हाम्रो उच्च शिक्षाको इतिहास एक शताब्दी कटिसकेको छ । एउटा कलेजबाट त्रिुुभवन विश्वविद्यालय बन्न झण्डै दुुई दशक लाग्यो । यसमा पनि अझ अर्को विश्वविद्यालय चाहिन्छ भनेर सोच्न अर्को दुुई÷तीन दशक लाग्यो । सन् १९८६ मा काठमाडौं विश्वविद्यालय सुुरु भएपछि मात्र प्राइभेट विश्वविद्यालय पनि हुँदोरहेछ भनेर अन्य खुुल्न सुुरु भएका हुन् । तैपनि अझै यो फैलन सकेको छैन ।

विश्वविद्यालयहरूको नेतृत्व गर्नेहरू नाम कमाएर जानुपर्छ पर्ने सोचबाट टाढा भएको देखिन्छ । फेकेर हेर्ने हो भने पहिला इमानदापूर्वक शिक्षालाई योगदान दिने धेरै थिए । अहिले त अलिकति सानो कार्यक्रम ग-यो कि सामाजिक सञ्जालमा देखाउनै हतारो हुन्छ । त्यसले गर्दा अपेक्षा पनि कम हुँदै जान्छ । यसबीचमा राम्रो काम नभएका होइनन् ।

व्यावहारिक शिक्षालाई जसरी मान्यता दिइएको छ । त्यो राम्रो हो । पहिला कोर्सको कुरा गर्दा कमर्स, मानविकी र एजुुकेसन मात्र थियो । अहिले यसभित्र पनि विभिन्न विधा समेटिएका छन् । अन्तर्राष्ट्रियस्तरमा हेर्दा नेपालको शैक्षिक अवस्था त्यति खराब छैन । हाम्रा कोर्सहरू गहिरो नै छन् । तैपनि विद्यार्थीहरू विश्वस्त हुुन सकिरहेका छैनन् । जानेको कुुरा अगाडि बोल्न समेत डराउँछन् विद्यार्थी । यसमा धेरै हदसम्म ‘केटाकेटी भएर बढी बोल्नु हुँदैन भन्ने सामाजिक सोचले काम गरेको छ ।

प्रविधि र प्रयोग

प्राविधिक विकासको उपज नयाँ प्रविधि र उपकरण हाम्रोमा छ्ट्टिै आए पनि यसको निर्माणको पछाडि विशिष्ट प्रकृतिको मिहिनेत र लगनशीलताले काम गरेको हुन्छ । तर यो कुरा हाम्रा विद्यार्थीले बुझेनन् । अधिकांश नयाँ प्रविधि राम्रो हो कि होइन भन्ने बहसमा मात्र केन्द्रित भएको पाइन्छ ।

सबैको राम्रो र नराम्रो पक्ष हुुन्छन् । हामीले कुुन पक्षलाई प्रयोग गर्ने, यो प्रयोग गर्नेको हातमा हुुन्छ । इन्टरनेटको माध्यमबाट धेरै बाहिरी कुराको ज्ञान लिन सकिन्छ । तर यसमा छनोटले ठूलो भूमिका खेल्छ । अहिलेका बच्चालाई प्रविधिबाट टाढा राख्न सकिँदैन् तर सजिलो नभए पनि नियन्त्रण र जवाफदेही बनाउनै पर्छ ।

(नेपालवाचको भिडियो प्रस्तुति एजुकेसन डायलगमा एपेक्स कलेजकी प्रधानाध्यापक दुर्गा रिजालले राखेको भनाइको सम्पादित अंश)