दुई विद्यार्थी, दुई शिक्षक ! प्रअ भन्छन्, दिन बिताउन गाह्रो भो

ढोरपाटन । बागलुङको जैमिनी नगरपालिका–८, छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्र मात्र अध्ययनरत छन् ।
उनीहरूमध्ये एक जनाले कक्षा १ र एक जनाले कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् ।
स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेको प्रधानाध्यापक गोविन्द अधिकारीले जानकारी दिए ।
विसं २०८० मा तीन जना हुँदै नयाँ शैक्षिकसत्रमा दुई जनामा सीमित भएको छ । उनका अनुसार विसं ०४६ मा स्थापना भएर ०४७ सालमा अनुमति पाएको विद्यालयमा ०७८ सालसम्म ११ जना विद्यार्थी थिए । विसं ०७९ मा त्यो सङ्ख्या १० जनामा झर्यो । विद्यालयमा एक जना स्थायी दरबन्दीको शिक्षक, एक अस्थायी र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।
बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व नै धरापमा परेको छ । पैतीस वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडि विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो । तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थी संख्या स्वाट्टै घटेको छ ।
धुसगाउँ भौगोलिक हिसाबले अलि विकटमा हुँदा धेरैले आफ्ना बालबालिका सुविधायुक्त विद्यालयमा पठाउँदा विद्यार्थी कम भएको प्रअ अधिकारीले बताए । गाउँभन्दा नजिकै गुल्मीको पूर्तिघाटमा निजी विद्यालय रहेको हुँदा गाडीले घर नजिकै लिन आउँदा धेरै विद्यार्थी त्यता जान थालेको उनको सुनाए । “विद्यार्थी कम हुँदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्न नसकेको, आफूहरूमा नैराश्य छाएको छ । पछिल्लो समय गाउँमा बालबालिका पनि कम छन् । भएका पनि सहरबजार जाने प्रचलन बढेको छ । हामी त जागिर खानका लागि यहाँ आइयो विद्यार्थी धेरै नहुँदा सिक्न र सिकाउन पाइएको छैन, दिन बिताउन साह्रै गाह्रो हुन्छ, पहिलेको जस्तो भुइँमा बसेर पढ्नुपर्ने अवस्था छैन, धेरै सुविधा थपिएको छ,” उनले भने ।
खासगरी यस गाउँका स्थानीय बसाइँसराइ गरी चितवन, रुपन्देही गएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले विद्यालयको भौतिक संरचनादेखि अन्य व्यवस्थापन गरेको तर धेरै विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको बताए । नगरपालिकाले कम विद्यार्थी भएको विद्यालयलाई समायोजन गर्ने नीति रहेको उनले जानकारी दिए । उनले भने, ,“नगरपालिकाले नगर शिक्षा ऐन बनाएको, त्यसअन्तर्गत रहेर दरबन्दी मिलान अगाडि बढाएको , विद्यालय समायोजनसम्बन्धी कार्यविधि बनाएर काम अगाडि बढेको छ । विद्यालय समायोजनपछि नगरपालिकाले सञ्चालन गरेको ‘लिड’ विद्यालयमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा प्राप्त हुनेछ ।”
जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले ताराज्योति प्राथमिक विद्यालयलाई छिट्टै समायोजन गर्ने जानकारी दिए । अहिले नगरपालिकाले कुन विद्यालय समायोजन गर्ने, कुन तह मिलान गर्ने भन्ने विषयमा अध्ययन गरिसकेको उनले बताए ।
प्रतिक्रिया