मुकुलको गम्भीर आरोपबारे बोले डा.स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट हटाइएका मुकुल ढकालले लगाइएका आरोपबारे डा.स्वर्णिम वाग्ले बोलेका छन् । कारबाहीको तोडमा ढकाल बर्बाराएको झुटको जवाफ दिन आवश्यक नभएको उनको भनाई छ ।
ढकालले एक टेलिभिजन अन्र्तवार्तामा भारतीय राजदूतसँगको भेटमा डा.वाग्लेले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने हो भने नेपाललाई भारतको प्रान्त बनाउन आफुहरु सहमत रहेको भनेर प्रस्ताव राखेको गम्भीर आरोप लगाएका थिए ।
त्यससम्बन्धमा डा.वाग्लेले सामाजिक सञ्जालमा उनले लेखेका छन्–
**लाजनीति**
वर्षौंको मिहेनत, इमान र लगनबाट आर्जन गरेको यो स्थान कुनै कारबाहीको तोडमा टक-शो धाएर बर्बराइएको झुटको जवाफ दिंदै हिंड्नलाई त म पनि तलै झर्न पर्ला, सरी, त्यसो गर्न सकिन्न। कुभलो चिताउने विपक्षीहरुलाई आफ्नो हैसियत देखाउन यो बर्बराहटले मद्दत नै गरोस्, शुभकामना!
त्यस्तै रास्वपाकै नेता मनिष झाले समेत मुकुलमाथि चर्काे टिप्पणी गरेका छन्।
उनले लेखेका छन्–
स्पष्ट रूपमा अरूबाट परिचालित देखिनेगरि रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका पार्टीबाट कारबाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दैछन।
प्रेस मिट गरे, साराले गाली गरे। टिकाराम यात्रीसँग अन्तर्वार्ता गरेर कसलाई के आरोप लगाउँदा जनताले पत्याउँछन् भन्ने सोचेर झुठ माथि झुठ बोले, जग हँसाइ भो, थप गाली खाए। अब मलाई कुट्न आँटे भनेर हल्ला मच्चाउदैछन, स्वर्णिम वाग्ले जस्तो शालीन व्यक्तिले त्यस्तो गर्नु होला भन्ने कुरा मान्छेले पत्याउलान् भन्ने अवस्थामा मुकुल जी पुगेछन। समानुपातिक लगायतका विषयमा पार्टी भित्र निरन्तर संवाद र बहस चलिरहेकै छ।
मुकुलजीले खोजे अनुसार मिडियाले अझै अटेन्सनपनि देला।
अब यसपछिको मुकुलजीको सम्भावित प्लान:
– जिल्ला जिल्ला जाने, यसै गरी अन्ट सन्ट बोल्ने, कुटाई खाने प्रयास गर्ने र भन्ने रविले, स्वर्णिमले मान्छे लगाएर कुटाए।
– कुनै कृत्रिम दुर्घटनाको योजना बनाउने र दोष लगाउन खोज्ने।
– महामन्त्री अझै पनि मै हुँ भनेर अनधिकृत रूपमा पार्टी कार्यालय आउने, हुल हुज्जत गर्ने र गिरफ्तार हुने अनेकौँ प्रयास गर्ने
– त्यसपछि फेरि पार्टी कार्यालय अगाडि आमरण अनसन बस्ने
– अनेकौँ अप्रिय प्रयासहरू गर्ने र दोष पार्टी र नेताहरूलाई लगाउने।
म एक शुभचिन्तकको नाताले मुकुलजीको परिवारलाई उहाँको राम्रो हेरचाह गर्न अनुरोध गर्दछु।
प्रतिक्रिया