जीवाको सफलता राज

काठमाडाैं । जीवा लामिछाने एक सफल उद्यमी/व्यवसायी हुन् । उनको स्वदेश तथा विदेशका विभिन्न सहरमा व्यवसाय सञ्चालनमा छ । लामिछाने र साथीहरू मिलेर खोलेको ट्रिप इन होटल त जर्मनीलगायत विभिन्न देशका सहरहरूमा सञ्चालित छन् ।
लामिछाने कुनै व्यावसायिक घरानामा नभएर सामान्य किसान परिवारमा जन्मिएका हुन् । ०२३ सालमा चितवनको पद्मपुरमा जन्मिएका लामिछानेको बाल्यकाल गाउँमै आम सर्वसाधारणजस्तै सामान्य तरिकाले बित्यो । लामिछानेले स्थानीय सरकारी विद्यालयबाट सन् १९८३ मा प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरे । त्यसपछि उच्च शिक्षाको लागि उनी काठमाडौं आएका उनले सन् १९८६ मा पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा सर्वोत्कृष्ट अंकसहित प्रवीणता प्रमाणपत्र तह पूरा गरेका थिए । त्यसपछि नेपाल सरकारको छात्रवृत्तिमा तत्कालीन सोभियत संघको ‘मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङमा भर्ना भएका उनले सन् १९९२ मा इन्जिनियरिङमा स्नातकोत्तर गरे ।
व्यावसायिक यात्रा र सफलता
हरेक छोराछोरीको पहिलो विद्यालय घर र शिक्षक आमाबुवा हुन् । जीवा लामिछानेको जीवनमा पनि यही कुरा लागू भयो । किसान भए पनि जीवाका बुवामा व्यवसाय सम्बन्धी ठीकै चेत थियो । जुन कुरा आफूले सानै उमेरमा सिक्न सकेको जीवा स्मरण गर्छन् ।
किसानको आम्दानीको मुख्य स्रोत भनेकै तिनले उत्पादन गर्ने कृषि उपज हुन् । अहिलेजस्तो व्यावसायिक खेती नहुने त्योबेलाको प्रमुख बाली थिए, धान, मकै र गहुँ । तराईमा चाहिँ बढी प्रचलित अन्नबाली धान थियो । अहिले पनि छ । किसानले असार/साउनमा खेती लगाउँदा लिएको ऋण मंसिरमा धान पाकेपछि त्यसैलाई बिक्री गरेर तिर्थे । त्यतिबेला धानको भाउ अहिलेजस्तो थिएन, किसानले सस्तो मूल्यमै खलाबाटै धान बिक्री गर्थे । लामिछानेका बुवा चलाख थिए । उनी सस्तोमै खलाबाट धान उठाउँथे र त्यसलाई बजारमा बिक्री गरेर मुनाफा निकाल्थे । कहिलेकाहीँ यसरी किसानको खलाबाट उठाइएको धान बिक्री गर्दा घाटा हुने अवस्था आउँथ्यो । त्यसबखत उनी त्यसलाई बिक्री नगरी थन्काएर राख्थे । फाइदा हुँदा बेच्ने र नहुँदा त्यसलाई होल्ड गरेर बजार सुधारिएपछि बिक्री गर्ने व्यवसायको सामान्य नियम भए पनि जीवामा नजानिँदो ढंगले व्यवसायको भ्रूण प्रवेश गरिरहेको हुन्थ्यो ।
बुवाले गर्ने व्यापारलाई नजिकबाट नियालिरहेका जीवालाई बाबुले हिसाबकिताब राख्न सिकाउन थाले । त्यतिबेला जीवा मात्रै १०/१२ वर्षका थिए ।
लामिछानेको लक्ष्य व्यवसायीभन्दा पनि इन्जिनियर बन्ने थियो । असलमा यो उनको मात्र नभएर बाबुआमाको पनि सफना थियो । बाल्यकालमै व्यवसायबारे धेरथोर सिक्ने अवसर पाएका जीवामा भने युवाअवस्थामा पुग्दै गर्दा यसको प्रभाव एकपछि अर्को बढ्दै गयो, पूर्णिमाको चन्द्रमामा चमक फैलिएझैं ।
तत्कालीन सोभियत संघमा ०४३ सालमा जीवा विद्यार्थी भएर जाँदा वर्षको दुई महिना गृष्मकालीन छुट्टी हुन्थ्यो । प्रवेश सहज भएकाले उनी युरोपियन देश जान्थे । उनी भन्छन्, ‘त्यतिबेला कलेजका सिनियर साथीहरूले युरोपिएन देशबाट सामान ल्याएर बेच्दा राम्रै मार्जिन बस्ने मलाई सुनाए । मलाई साथीहरूको कुराले आकर्षित ग–यो र एक सेट टिभी, अडियो प्लेर, भिडियो टेपलगायत इलेक्ट्रोनिक सामान ल्याएर बेच्थ्यौं । त्यसबाट राम्रै आम्दानी हुन्थ्यो ।
सन् १९९२ लामिछानेले इन्जिनियरिङको औपचारिक शिक्षा सकाए । त्यो समय उनीसामु दुई विकल्प थिए, पढाइको डिग्री बोकेर स्वदेश फर्कने कि त्यहीँ बसेर व्यवसाय गर्ने । उनले दोस्रो विकल्प रोजे ।
सुरुमा लामिछानेले ग्रोसरी मार्ट खोले । तर यसले लय पक्डन सकेन । त्यसपछि उनले मःम पसल खोले । यसले पनि उनलाई निराश पा–यो । त्यसपछि उनले सन् १९९२ मा मस्कोमा भाइसँग मिलेर इलोक्ट्रोनिक्स सामानको व्यवसाय सुरु गरे । त्यहाँ इलोक्ट्रोनिक्स सामान विशेगरी टिभी, भिडियो डेकोर, म्युजिकल सिस्टमको माग उच्च हुन्थ्यो । ती सामानहरू त्यहीँ बन्थे तर गुणस्तरको नहुने हुँदा जापनिज, जर्मनी ब्राण्ड उपभोक्ताको रोजाइमा हुन्थे । लामिछानेले जापान, जर्मन, सिंगापुरजस्ता देशबाट ल्याएर सामान बेच्न थाले । यो व्यवसायबाट निकै राम्रो आम्दानी गरेको लामिछाने बताउँछन् ।
विस्तारै उनको व्यवसाय बढ्दै गयो । सुरुसुरुमा स्थानीय होलसेलरबाट ल्याएर रिटेलमा बेच्ने गरे पनि पछि उनले जर्मनी, सिंगापुरबाट सामान आयात गर्न थाले । उनको कम्पनीले रुसमा सोनी, पानासोनिक, क्यानन, निकोनलगायत अन्य विद्युतीय सामग्रीको आधिकारिक बिक्रेता भएर काम गर्न थाल्यो ।
इलोक्ट्रोनिक व्यवसायपछि होटल व्यवसायतिर
लामिछानेले लामो समय इलोक्टोनिक व्यवसाय सञ्चालन गरे । उनी गैरआवासीय नेपाली संघमा पनि आबद्ध भए । लामिछाने व्यावसायिक काम र संघको कामको लागि जर्मनीसहित विभिन्न देशमा गइरहनुपथ्र्यो । जर्मनीमा आउजाउ गर्ने क्रममा लामिछानेको भेट कुमार पन्थसँग भयो । कुमार होटल व्यवसायमा थिए । उनीबाटै होटल व्यवसायको सम्भावना राम्रो छ भन्ने थाहा पाएपछि त्यतातिर आकर्षित भए । पन्थसँगको साझेदारीमा खोलिएको होटलले राम्रो मुनाफा मिल्दै गयो । त्यसपछि थप होटलहरू सञ्चालन गर्दै गए । जर्मनीमै पढिरहेका केही नेपालीहरूसँगको साझेदारीमा पनि उनले थप होटलहरू खोले । जुन ट्रिप इन होटल समूह हो । जसको संख्या ५० भन्दा बढी पुगिसकेको छ ।
सफलता सूत्र
लामिछानेको अनुभवमा व्यवसायमा सफल हुनलाई चाहिने पहिलो कुरा नै इमानदारिता हो । इलोक्ट्रोनिक व्यवसायको सुरुआती चरणमा लामिछानेलाई पुँजीको अभाव थियो । व्यवसाय राम्रो चले पनि पुँजी अभावको कारण सामान आयात गरेर बेच्न सक्ने स्थिति बनिसकेको थिएन । उनको इलोक्ट्रोनिक पसल १० बजे खुले पनि ९ बजेदेखि ग्राहकको लाइन हुन्थ्यो । यी सबै गतिविधि सिंगापुरका एक सप्लायर्सले नजिकैबाट नियालिरहेको थिए । यस्तो दृश्य दिनभरि नियालेपछि ती व्यक्तिले आफूसँग भेटेर चासो राखेको लामिछाने सुनाउँछन् । लामिछानेले स्थानीय बजारबाट ल्याएर सामान बेच्ने गरेको बताएपछि सप्लायर्सले आफैं कन्टेनर पठाउने प्रस्ताव ग–यो । सोही प्रस्तावअनुसार बिना पुँजी नै उताबाट सामान आउन थाल्यो । यसरी आएका सामानको बिक्री राम्रो भएपछि सिंगापुरबाट निरन्तर सामान आउन थाले । यी सबै इमानदारिता र विश्वासकै कारण सम्भव भएको लामिछानेको बुझाइ छ ।
व्यवसाय सञ्चालनका निम्ति पुँजी आवश्यक भए पनि त्योभन्दा बढी महत्त्वपूर्ण कुरा इमानदारिता ठान्छन् जीवा। यसका अलावा लगनशीलता, कामप्रतिको समर्पण पनि उत्तिकै आवश्यक हुने उनकाे ठम्याइ छ ।
स्वदेश र विदेशमा व्यवसायको भिन्नता
नेपालमा र विदेशमा गरिने व्यवसायको अन्तर निकै फरक हुने गरेको लामिछाने बताउँछन् । विदेशमा व्यवसाय गर्दा नियम कानुनअनुसार हुन्छ । तर नेपालमा व्यवसाय गर्दा निकै नै हन्डर खेप्नुपर्ने लामिछानेको अनुभव छ । ‘युरोपियनलगायत विकसित मुलुकमा सबै कुरा पद्धतिअनुसार चल्छ । तर नेपालमा कुनै काम पूरा गर्न जुत्ताको तलुवा फटाउनुपर्छ,’ नेपाल र विदेशमा व्यवसाय सञ्चालन गर्दाका भेद उल्लेख गर्दै उनले सुनाए ।
उद्यमी लामिछानेका अनुसार नेपालको सबैभन्दा ठूलो समस्या सुशासनको हो । पूर्वाधारको समस्या पनि उत्तिकै छ । विदेशमा सुशासन रहेकाले काम गर्न सहज भएको उनको बुझाइ छ । नेपालमा जस्तो विदेशतिर व्यवसायीले पाइला पाइलामा कठिनाइ र प्रतिकूलता झेल्नुपर्दैन ।
नेपाली डायस्पोरा
नेपालीहरू विदेश जाने परम्पराको सुरुवात दुई सय वर्षअघिदेखि भए पनि नेपाली डायस्पोराको इतिहास भने लामो छैन । ०४६ सालको परिवर्तनपछि नै नेपालीहरू ठूलो संख्यामा विदेश जान थालेका हुन् । अध्ययन तथा रोजगारीका लागि नेपालीले विदेशलाई गन्तव्य बनाउने गरेको पाइन्छ । अध्ययनका लागि गएकामध्ये धेरैले त्यहीँ सीप सिकेर व्यवसाय गरिरहेका छन् ।
छिमेकी मूलुक भारतको डायस्पोरको कुरा गर्ने हो भने २ सय वर्ष पुरानो इतिहास छ । आजको समयमा विदेशमा तिनीहरूको एउटै व्यक्ति, एउटै व्यावसायिक घरना छ । लामिछानेको अनुसार यदि तिनीहरूले आफ्नो मूल देश (जन्मभूमि) मा केही गर्न चाहेको अवस्थामा ठूलठूला लगानी ल्याउन सक्ने र परोपकारी काम गर्न सक्ने हैसियत बनाइसकेका छन् । तर नेपालीहरू त्यो अवस्थामा पुगिनसकेको उनी सुनाउँछन् । ‘हामी विदेशमा सघर्ष गरेर भर्खरभर्खर उठ्न लागेका छौं । देश नै कायपलट हुने गरी लगानी ल्याउने, परोपकारी काम गर्ने हैसियत बनिसकेको छैन,’ उनले भने ।
पछिल्लो समय विदेशमा बस्ने नेपालीहरूमा उद्यमशीलताको विकास भने उच्च रूपले बढ्दै गएको लामिछाने बताउँछन् । उनी भन्छन्, ‘अबका १०/१५ वर्षमा नेपालीहरू ठूलठूला मल्टी नेसनल कम्पनीहरू चलाउन सक्ने हैसियतमा पुग्छन् ।’
गैरआवसीय नेपाल संघ स्थापना हुँदाको समयदेखि अहिलेसम्म धेरै परिवर्तन भइसकेको लामिछाने सुनाउँछन् । पहिले व्यवसाय गर्ने नेपाली औंलामा गन्न सकिने रहेकोमा अहिले हजारौं पुगेका छन् । रियल स्टेटमा ठूला–ठूला प्रोजेक्ट बनाउनेहरू, होटल व्यवसाय सञ्चालन गर्नेहरू संसारभरि छरिएका छन् । उनका अनुसार नेपाली डायस्पोरा इमर्जिङ हुँदै गइरहेको छ । नेपाली डायस्पोराले अबको १० वर्षभित्रमा ठुल्ठूला काम गर्न सक्ने अवस्थामा पुग्ने उनको विश्वास छ ।
ताजा अपडेट
-
विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
ग्लोबलआइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यास ब्याक
-
‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित
-
पाठेघर परीक्षण : महिलामा पाठेघरको मुखको क्यान्सरदेखि पाठेघर खस्ने समस्या
-
भारततर्फ सामान निर्यातको बाटो खुल्यो
प्रतिक्रिया