बाबुरामको प्रश्न– माओवादी किन एक हुने ? प्रचण्डलाई प्रधानमन्त्री बनाउन ?

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने भन्ने तर्कको वैचारिक तथा राजनीतिक औचित्य नरहेको बताएका छन् । माओवादीले अंगीकार गरेको विचार–राजनीति र सांगठनिक ढाँचा जनयुद्धको समयमा उपयुक्त भए पनि अब त्यसले देश अघि नबढ्ने उनले दाबी गरे । नयाँ युगको नयाँ कार्यभार रहेको र त्यसलाई पूरा गर्न विचार, राजनीति, संगठन र नेतृत्वलगायत सबै क्षेत्रमा नयाँ विकास गर्नुपर्ने बाबुरामको मत छ ।
‘अब हामीले पुरानो जनयुद्धकालीन अवस्था निम्ति उपयुक्त माओवादी विचार–राजनीति र स्टालिनवादी अति केन्द्रीकृत ढाँचाको कम्युनिस्ट पार्टीको माध्यमबाट नयाँ युगका कार्यभार पूरा गर्न सक्दैनौं,’ बाबुरामले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामीले अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक–सामाजिक–सांस्कृतिक आधारबीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाँकी विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु परेको छ । त्यस निम्ति हामीले नयाँ युगको नयाँ कार्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्वलगायत सबै क्षेत्रमा नयाँ विकास गर्नु परेको छ ।’
समावेशी र सहभागितामूल्क लोकतन्त्रमा आधारित नयाँ समाजवादको मोडल विकास अहिलेको आवश्यकता भएको बाबुरामले औंल्याए ।
माओवादी विचारले अबको युगलाई डोहो-याउन नसक्ने निचोड १० वर्षअघि नै निकालिसकेका बाबुरामले प्रचण्डको स्वार्थका लागि पुनः माओवादी एकताको कुरा गरिएको आरोप समेत लगाए ।
‘पहिलो कुरा सबै माओवादीहरू किन एक ठाउँमा जम्मा हुने ? अर्को जनयुद्ध गर्न ? या भोजभतेर गर्न ? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन ? यसको वैचारिक–राजनीतिक औचित्य के हो ?’ बाबुरामको प्रश्न छ ।
समय र परिस्थिति अनुकूल कार्यदिशा, संगठन, नेतृत्वबारे बहस तथा छलफल गर्नुपर्नेमा त्यसो नगरी खालि भावनात्मक ढंगले ‘सबै पूर्वमाओवादी एक ठाउँमा आऊँ’ भनिएको बाबुरामको आरोप छ ।
माओवादी विचारधारा त्यागेर नयाँ शक्ति निर्माणमा जुटेका बाबुरामले विगतमा माओवादीले सञ्चालन गरेको आन्दोलनले केही कमीकमजोरीसहित आफ्नो ऐतिहासिक कार्यभार पूरा गरेको दाबी भने गर्न भ्याए । ।
प्रचण्डको नेतृत्वमा सुशासन र भ्रष्टाचारविरोधी आन्दोलन गछौं भन्नु जनतामाथिको ठूलो मजाक भएको टिप्पणी पनि बाबुरामले गरेका छन् । यस्ता भनाइले जनताको सहज बुद्धिकै अवमूल्यन हुने तर्क बाबुरामको छ ।
उनले अगाडि थपे ‘प्रचण्डको नेतृत्वमो भ्रष्टाचारविरोधी, सुशासनको निम्ति आन्दोलन गर्नु भनेको हिन्दी/उर्दु उखान सौ चुहा खा के बिल्ली हज करने चली भनेजस्तै हो ।’
जनयुद्धकालको मध्यचरणदेखि प्रचण्ड र शान्ति प्रक्रियापछि उनका आसोपासेको वर्ग उत्थानीकरण भएको र यसबारे लोक स्पष्ट रहेको पनि उनले दोहो-याए । हालै प्रकाशित विश्वचर्चित पुस्तक CUCKOOLAND: How the Rich Own the Truth पढ्ने जोकोही प्रचण्डको असली रूपबारे जानकार हुने उनको भनाइ छ । पुस्तकमा लगाइएका आरोपबारे प्रचण्डले कुनै कानूनी उपचार नखोज्नुलाई उनले स्वीकारोक्तिका रूपमा समेत व्याख्या गरे ।
भ्रष्टाचारका फाइल खोलेर प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले सुशासनतर्फ कदम चालेको बताउँदै आएको छ । तर भट्टराईले भने त्यसलाई आफैंले पालेका साना खसी बलि चढाउनु पौरख नभएको टिप्पणी गरे । प्रचण्डले आफ्नो पछिल्लो प्रधानमन्त्रीत्वकालमा सुशासन र भ्रष्टाचारविरुद्ध काम गरेको जिकिर गरे पनि भित्री र बाहिरी शक्तिको आडमा डेढ वर्षमा पटक पटक कांग्रेस–एमालेको सहारामा समीकरण बदलेको उनले आरोप लगाए । प्रचण्डले पदका लागि अवाञ्छित कार्य गरेकाले त्यसलाई जनताले नभुल्ने पनि भट्टराईले उल्लेख गरेका छन् ।
राजनीतिमा लागे पनि अन्तर्यमा आफूमा ऋषिमन भएको र शान्ति प्रक्रियाका कामहरू पूरा नभएकाले आफूले प्रचण्डका लागि गोरखाको निर्वाचन क्षेत्र छाडिदिएको बाबुरामले स्पष्ट पारे । गत प्रतिनिधिसभा निर्वाचनमा गोरखाको आफ्नो क्षेत्र प्रचण्डलाई छाडेका बाबुराममाथि त्यस्तो उदारता प्रकट गर्नुको कारणबारे प्रश्न उठ्दै आएका छन् ।
‘म राजनीतिमा लागे पनि अन्तर्यमा ऋषिमन भएको मान्छे हुॅ। देशमा निरन्तर राजनीतिक अस्थिरता भैरहेको, गरिबी र बेरोजगारीले युवा पलायन बढिरहको र टिआरसीलगायतका शान्ति प्रकृयाका काम पूरा नभैरहेको स्थितिमा पूर्व प्रम तथा ने का सभापति शेरबहादुर देउवा र प्रचण्डलाई बालुवाटारमा सँगै राखेर स्वेच्छाले आफू चुनाव नलड्ने तर उहॉहरू दुवैलाई सरकार बाहिर रहेर ती मुद्दामा पूर्ण रुपले सघाउने बचा गरेको हुॅ,’ बाबुरामले भने ।
प्रतिक्रिया