कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

गलेश्वर । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ । सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ ।
उक्त कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु आयात र निर्यात दुवै सहज हुने उनले बताए । विशेषगरी भेडा च्याङ्ग्रा आयात निर्यातमा सहज हुनुका साथै नाकामा आवतजावत तथा व्यापारिक कारोबार सजिलो हुने आशा गरिएको छ ।
अध्यागमन कार्यालय स्थापना भएपछि भिसा लगाएर नाका वारपार गर्न सकिने सहायक प्रजिअ सुवेदीको भनाइ छ । “हाल मुस्ताङवासी मात्र नाका प्रवेश अनुमतिपत्र लिएर आवतजावत गर्ने गरेका छन् । अध्यागमन कार्यालय सञ्चालनमा आएपछि सबै नेपाली भिसा लगाएर नाका वारपार गर्न पाउने छन् । चिनियाँ पर्यटक पनि भिसा लगाएर यही नाका हुँदै मुस्ताङ आउन पाउनेछन्”, उनले भने ।
उनका अनुसार अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको छ ।
चिनियाँ भन्सारको आमनेसामने पारेर १० कोठे अध्यागमन तथा सुरक्षा पोष्टको भवन बनाइएको छ । आवश्यक पूर्वाधार निर्माण गरी कोरला नाकाबाट एकीकृत सेवा दिने तयारी गरिएको छ । नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालयसँगै राख्ने तयारी भएको सुवेदीले जानकारी दिए ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया