NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

हनि ट्रयापिङ गिरोहसँग निकट एसपीसँग सिआइबीले लियो बयान

काठमाडौं । हनि ट्रयापिङ गिरोहसँग साँगगाँठ देखिएका नेपाल प्रहरीका एसपी कमल थापासँग केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले बयान लिएको छ । सरकारी वकिल कार्यालयको निर्देशनमा उनको बिहीबार बयान कागज भएको सिआइबी स्रोत बताउँछ ।

एक व्यवसायीलाई युवती लगाएर बलात्कार मुद्दामा फसाइदिने भन्दै थुनामा राखेर ३० लाख रुपैयाँ असुलिएको घटनामा एसपी थापाको शंकास्पद भूमिका देखिएको छ । हनि ट्रयापिङ गिरोह र भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख इन्सपेक्टर बिनुकुमारी शाहीलाई उनैले भेटघाट गराइदिएका थिए। लगत्तै ती व्यापारीलाई भैंसेपाटी प्रभागमा थुनामा राखेर प्रहरी मिलेमतोमै पैसा असुलिएको थियो । गिरोहका नाइके ताज इस्लामसँग एसपी थापाको निकटस्थ सम्बन्ध देखिएको छ । तर, इस्लामको मोबाइल प्रहरीले नै गायब बनाएकाले प्रमाणहरु नष्ट गरिएका छन् । यसरी मोबाइल गायब बनाउने इन्सपेक्टर शाहीलाई अझै पक्राउ गरिएको छैन ।

यो घटनामा प्रहरी हवल्दार महेन्द्र महाल, गिरोहका नाइके ताज इस्लाम, हनि ट्रयापमा फसाउने युवती सुष्मा विक र खाताधनी भिमादेवी थापा प्रहरी हिरासतमा छन् । उनीहरुविरुद्ध संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धान भइरहेको छ ।