विश्व मुद्रास्फीतिमा क्रमिक सुधार भएसँगै खुकुलो मौद्रिक नीति अवलम्बन
काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा ३.३ प्रतिशत रहेकोमा सन् २०२४ र सन् २०२५ दुवै वर्ष ३.२ प्रतिशत रहने देखिन्छ । कोषद्वारा सन् २०२४ अक्टोवरमा प्रकाशित World Economic Outlook अनुसार भूराजनीतिक तनाव, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका कारण विश्वको आर्थिक वृद्धि कोभिड–१९ पूर्वको तुलनामा अझै कमजोर छ ।
सन् २०२३ मा १.७ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्र सन् २०२४ र सन् २०२५ दुवै वर्ष १.८ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ । त्यसैगरी, सन् २०२३ मा ४.४ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन् २०२४ र सन् २०२५ दुवै वर्ष ४.२ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ ।
सन् २०२३ मा भारत र चीनको अर्थतन्त्र क्रमशः ८.२ प्रतिशत र ५.२ प्रतिशतले विस्तार भएकोमा सन् २०२४ मा क्रमशः ७.० प्रतिशत र ४.८ प्रतिशतले विस्तार हुने प्रक्षेपण छ । सन्२०२५ मा भारत र चीनको अर्थतन्त्र क्रमशः ६.५ प्रतिशत र ४.५ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ ।
विश्वको मुद्रास्फीतिमा सुधार हुँदै आएको छ । सन् २०२३ मा विश्वको उपभोक्ता मुद्रास्फीति ६.७ प्रतिशत रहेकोमा सन् २०२४ मा ५.८ प्रतिशत र सन्२०२५ मा ४.३ प्रतिशत रहने कोषले प्रक्षेपण गरेको छ । विकसित अर्थतन्त्रको मुद्रास्फीति सन् २०२३ मा ४.६ प्रतिशत रहेकोमा सन् २०२४ मा २.६ प्रतिशत र सन् २०२५ मा २.० प्रतिशत रहने प्रक्षेपण छ । उदीयमान तथा विकासशील अर्थतन्त्रको मुद्रास्फीति सन्२०२३ मा ८.१ प्रतिशत रहेकोमा सन्२०२४ मा ७.९ प्रतिशत र सन् २०२५ मा ५.९ प्रतिशत हुने प्रक्षेपण छ ।
सन् २०२३ मा भारत र चीनको औसत मुद्रास्फीति क्रमशः ५.४ प्रतिशत र ०.२ प्रतिशत रहेकोमा सन् २०२४ मा क्रमशः ४.४ प्रतिशत र ०.४ प्रतिशत रहने कोषको प्रक्षेपण छ । त्यसैगरी, सन् २०२५ मा भारत र चीनको औसत मुद्रास्फीति क्रमशः ४.१ प्रतिशत र १.७ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।
मुद्रास्फीतिमा क्रमिक सुधार देखिएसँगै अन्तर्राष्ट्रिय स्तरमा खुकुलो मौद्रिक नीति अवलम्बन गर्न थालिएको छ । अमेरिकी फेडरल रिजर्भले २०२३ जुलाईमा ५.२५–५.५० प्रतिशत पु¥याएको फेडरल फण्ड रेटलाई क्रमशः घटाउँदै २०२४ सेप्टेम्बरमा ४.७५–५.०० प्रतिशत र २०२४ नोभेम्बरमा ४.५०–४.७५ प्रतिशत कायम गरेको छ । युरोपियन केन्द्रीय बैंकले पनि २०२४ अक्टोवरमा निक्षेप सुविधा दरलाई २५ आधार विन्दुले घटाई ३.२५ प्रतिशत कायम गरेको छ । भारतीय रिजर्भ बैंकले २०२४ अक्टोवरमा गरेको मौद्रिक नीति समीक्षामा नीतिगत दर यथावत राखेको छ ।
प्रतिक्रिया