NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

अदालतमा कहिले दर्ता हुन्छ रविविरुद्धको मुद्दा ?

काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका गोरखा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा अदालतमा दर्ता गर्ने अन्तिम तयारी  गरिएको छ ।

रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीले गत सोमबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा प्रहरीले रविसहित, गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलगायत व्यक्तिविरुद्ध १ अर्ब ५१ करोड बिगो माग दाबी गर्नुपर्ने राय दिएको छ ।

प्रतिवेदन प्राप्त भएसँगै जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले रविविरुद्ध चलाउने मुद्दाबारे निर्णय लिन अहिले त्यसको अध्ययन गरिरहेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका अनुसार प्रतिवेदन अध्ययनको काम करिब करिब सकिएको छ ।

रविबारे प्रहरीले दिएको प्रतिवेदन अध्ययनका लागि समय अपुग भएपछि यसअघि हिरासतमा राख्न थप गरिएको चार दिनको समय आज गुज्रँदैछ । त्यसैले सकेसम्म आजै र त्यो सम्भव नभए आइतबार मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।

सहकारी ठगीबारे छानबिन गर्न एमाले सांसद सूर्य थापाको संयोजकत्वमा प्रतिनिधिसभामा गठित संसदीय विशेष छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । सोही दिन काठमाडौंबाट हिँडाएर कास्कीस्थित नेपाल प्रहरीको हिरासतमा पु–याइएका उनलाई प्रहरीले गोरखा मिडियामा रकम सारिएका सहकारी रहेकै रूपन्देही, काठमाडौं, चितवन र पर्सा लगेर बयान लिएको थियो ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष