अदालतमा कहिले दर्ता हुन्छ रविविरुद्धको मुद्दा ?
काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका गोरखा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा अदालतमा दर्ता गर्ने अन्तिम तयारी गरिएको छ ।
रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीले गत सोमबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा प्रहरीले रविसहित, गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलगायत व्यक्तिविरुद्ध १ अर्ब ५१ करोड बिगो माग दाबी गर्नुपर्ने राय दिएको छ ।
प्रतिवेदन प्राप्त भएसँगै जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले रविविरुद्ध चलाउने मुद्दाबारे निर्णय लिन अहिले त्यसको अध्ययन गरिरहेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका अनुसार प्रतिवेदन अध्ययनको काम करिब करिब सकिएको छ ।
रविबारे प्रहरीले दिएको प्रतिवेदन अध्ययनका लागि समय अपुग भएपछि यसअघि हिरासतमा राख्न थप गरिएको चार दिनको समय आज गुज्रँदैछ । त्यसैले सकेसम्म आजै र त्यो सम्भव नभए आइतबार मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
सहकारी ठगीबारे छानबिन गर्न एमाले सांसद सूर्य थापाको संयोजकत्वमा प्रतिनिधिसभामा गठित संसदीय विशेष छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । सोही दिन काठमाडौंबाट हिँडाएर कास्कीस्थित नेपाल प्रहरीको हिरासतमा पु–याइएका उनलाई प्रहरीले गोरखा मिडियामा रकम सारिएका सहकारी रहेकै रूपन्देही, काठमाडौं, चितवन र पर्सा लगेर बयान लिएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया