ट्रम्प र जेलेन्स्कीबीच नोकझोक, अघि बढेन खनिज सम्झौता

काठमाडौं । आफ्नो देशको खनिजमा अमेरिकालाई पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्न ह्वाइट हाउस पुगेका युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच नोकझोक चलेको छ । दुईबीच चर्काचर्की चलेपछि पूर्वनिर्धारित खनिज सम्झौता प्रभावित भएको छ ।
अन्तर्राष्टिय सञ्चारमाध्यमहरूले दुईबीचको बैठकमा चर्काचर्की चलेपछि जेलेन्स्की उठेर हिँडेको र अवस्था अनपेक्षित बनेको जनाएका छन् ।
बैठक सुरु हुनेबित्तिकै अमेरिकी राष्टपति ट्रम्पले जेलेन्स्कीको प्रशंसा गरेका थिए । तर त्यसको केही समयपछि नै दुईबीच चर्काचर्की चलेपछि त्यसअघि निर्धारण गरिएको खनिज सम्झौता प्रभावित हुन पुग्यो ।
समाचार संस्था रोयटर्सले नोकझोक चलेपछि ट्रम्प आफैंले खनिज सम्झौता गर्न अनिच्छा देखाएको जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोपसमेत लगाएका छन् । युक्रेनका लाखौं मानिसको जीवनमाथि खेलबाड गरेको अर्को आरोप पनि ट्रम्पले लगाएका छन् ।
दुई देशबीचको वार्ता नोकझोकपूर्ण बनेपछि अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्सले जेलेन्स्कीलाई ह्याइट हाउस छाड्न भनेका थिए । त्यसपछि जेलेन्स्की त्यहाँबाट बाहिरिएर युरोपतर्फ प्रस्थान गरेका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खानसमेत नदिई जेलेन्स्कीलाई ट्रम्प प्रशासनले त्यहाँबाट बाहिर पठाएको उल्लेख गरेका छन् । ट्रम्प प्रशासनले पाहुनाको सामान्य मर्यादासमेत नराखेको उल्लेख गर्दै इतिहासमै कूटनीतिको सबैभन्दा भद्दा मजाक भएको टिप्पणी गरिएका छन् ।
ह्वाइट हाउसको ओभल अफिसमा भएको यो घटनाले यतिबेला विश्व नै तरंगित बनेको छ । जेलेन्स्कीको पक्षमा खडा हुँदै युरोपेली देशका नेताहरूले ट्रम्प प्रशासनको चर्को आलोचना गरेका छन् ।
प्रतिक्रिया