युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम दिदैँ सन्धिखर्क नगरपालिका
अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको सन्धिखर्क नगरपालिकामा सीपमूलक तालिम सुरु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यस्थलमा आधारित सीप, क्षमता विकास र जीवन उपयोगीसम्बन्धी ५० दिनसम्म ‘प्लम्बिङ’ तालिम सुरु भएको हो ।
आज यहाँ आयोजित एक समारोहका बीच सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले तालिमको उद्घाटन गरे। तालिममा १२ वटा वडाका ४० जना सूचीकृत बेरोजगारमध्ये अधिकांश महिला रहेका उनले बताए ।
बेरोजगारलाई स्वरोजगार र उद्यमी बनाउने, युवालाई रोजगारीका अवसर सृजना गरी वैदेशिक रोजगारीमा जान रोक्नेलगायत बजारको माग अनुसार दक्ष जनशक्ति तयार पार्न यो तालिम आयोजना गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।
विदेशपलायन भइरहेका युवायुवतीलाई स्वदेशमा रोजगारीका अवसर सृजना गर्न सकियोस् भनेर यो तालिम आयोजना गरिएको उनको भनाइ छ । बेरोजगारलाई उद्यमशीलतातर्फ उन्मुख गराउन, स्वरोजगार बनाउन र विदेश हुने पलायनदर रोक्न सङ्घीय र प्रदेश सरकार तथा सबै पालिकाले यस्ता सीप तथा रोजगारमूलक तालिम आयोजना गर्न जरुरी रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए ।
कार्यक्रममा सन्धिखर्क–१ का वडाध्यक्ष माधव श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष पदमबहादुर भुसालसहित स्थानीय तहका कर्मचारी तथा प्रतिनिधि, तालिममा सहभागी हुनेलगायतको उपस्थिति थियो ।
ताजा अपडेट
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक


प्रतिक्रिया