NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २२ गते

कुलमान बर्खास्तीको चौतर्फी विरोध, कांग्रेसका महामन्त्रीद्वय पनि साखुल्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको चौतर्फी आलोचना भएको छ । विपक्षी दलका नेताले मात्र नभएर सत्तासाझेदार दलकै नेताले समेत ‘सरकारले उल्टो बाटो लिएको’ भन्दै यसको विरोध गरेका छन् ।

घिसिङलाई प्राधिकरणमा दोस्रो कार्यकालका लागि नियुक्त गर्ने तत्कालीन सरकारको नेतृत्व गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान हटाउने सरकारको निर्णय बिल्कुल गलत र आपत्तिजनक भएको टिप्पणी गरेका छन् । दुई तिहाइ बहुमतको दम्भमा सरकारले यस्तो निर्णय लिएको आरोप लगाउँदै उनले यसको निन्दा गर्न र प्रतिरोधमा उत्रिन सबैलाई आग्रह गरेका छन् ।

‘आशा गरौं, यो खबर असत्य सावित होस् । यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ,’ प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले सामाजिक सञ्जालमा यसबारे प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘दुुई तिहाइ बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गर्दछु ।’

देशले लोडसेडिङको मार खेपिरहेका बेला आफू नेतृत्वको सरकारले घिसिङलाई ऊर्जा विज्ञका रूपमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको पनि उनले स्मरण गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बत्ती निभाएर एक मिनेट मैनबत्ती बाल्दै सरकारको निर्णयको सांकेतिक विरोध गरेका छन् । मंगलबार राति फेसबुक लाइभमा आउँदै उनले विरोधको फरक शैली अपनाएका हुन् ।

एक मिनेट २२ सेकेण्ड लाइभमा आएर मौन बसेका उनले भिडियो सेयर गर्दै लेखेका छन्– कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् ।

सरकार सञ्चालनका लागि गठन गरिएको दुई दलीय संयन्त्रका सदस्यसमेत रहेका कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णय गलत भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकार गलत बाटोमा हिँडेको टिप्पणी गरेका छन् । ‘निर्णय गलत छ सरकार, उल्टो बाटो हिँडेर सही गन्तव्यमा पुगिँदैन,’ थापाले लेखेका छन् ।

डेलिभरीबाट आमनागरिकको असन्तुष्टि मत्थर पार्न आफूहरू लागे पनि सरकारले उल्टै बलेको आगोमा मट्टितेल हाल्ने काम गरेको उनको भनाइ छ ।

कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले कुलमान हटाउन कांग्रेस पदाधिकारीको सहमति नभएको दाबी गरेका छन् । कुलमानलाई नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमै सजग गराइएको भए पनि सरकारका राम्रा काम छायामा पार्नेगरी निर्णय गरिएको उनको भनाइ छ ।

सरकार सञ्चालन संयन्त्रमा भूमिका निर्वाह नगरी सार्वजनिक खपतका लागि साखुल्य बनेको भन्दै महामन्त्रीद्वयको भने सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

चर्चित हास्यव्यंग्य कलाकार हरिवंश आचार्यले कुलमान हटाउने निर्णयको भद्र विरोध गर्दै नेपाली कुलकै उज्यालो कुलमानलाई हटाएर अँध्यारो पार्न नहुने लेखेका छन् ।

‘कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउन हुँदैन थियो,’ आचार्यले फेसबुकमा लेखेका छन् ।

यसैबीच, कुलमान हटाउने सरकारको निर्णयविरुद्ध सडकमा समेत प्रदर्शन हुन थालेको छ । मंगलबार बिहानै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहरूले संघीय राजधानी काठमाडौंमा कुलमान हटाउने निर्णय गलत भएको भन्दै प्रदर्शन गरेका छन् ।

आगामी साउन २४ मा चारवर्षे कार्यकाल सकाएर बिदा हुन लागेका कुलमानलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हटाए पनि सरकारले भने यो निर्णयलाई अहिलेसम्म गोप्य नै राखेको छ । सोमबार सञ्चारकर्मीहरूले कुलमान हटाउने निर्णयबारे सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वी सुुब्बा गुरुङसँग जिज्ञासा राखेका थिए । जवाफमा उल्टै सञ्चारकर्मीलाई प्रतिप्रश्न गर्दै उनले त्यस्तो कुनै निर्णय नभएको भन्दै ढाँटेका थिए ।

सरकारको डेलिभरीका कारण व्यवस्थाविरुद्ध आक्रमण भइरहेका बेला इमानदार र कर्तव्यनिष्ठ व्यक्तिको छवि बनाएका घिसिङलाई हटाएर सरकारले व्यवस्थाविरुद्ध अहिले भइरहेका गतिविधिलाई मलजल गरेको टिप्पणी सामाजिक सञ्जालमा भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष