NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २२ गते

आज गणतन्त्रवादी र राजावादी दुवै संगठनले छुट्टाछुट्टै प्रदर्शन गर्दै

सवारी आवागमन रोकिँदा बिहानैदेखि जनजीवन प्रभावित

काठमाडौं । संघीय राजधानी काठमाडौंमा शुक्रबार एकैदिन गणतन्त्रवादी र राजावादी संगठनले प्रदर्शन गर्ने भएका छन् ।

नेकपा (माओवादी केन्द्र), एकीकृत (नेकपा समाजवादी), नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी आबद्ध समाजवादी मोर्चाले गणतन्त्र तथा नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राजसंस्थाको पक्षमा शुक्रबार फरक–फरक स्थानमा प्रदर्शन गर्न लागेका हुन् ।

व्यवस्थाको रक्षासँगै सरकारको कुशासनविरुद्ध प्रदर्शन गर्न लागेको समाजवादी मोर्चाले विभिन्न स्थानबाट जुलुस निकालेर प्रदर्शनीमार्गमा सभा गर्दैछ ।

सभामा एक लाखभन्दा बढी जनता उतार्ने मोर्चाको तयारी छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदर्शन दिउँसो १२ बजेपछि हुनेछ । एसइईका परीक्षार्थीलाई मध्यनजर गर्दै कार्यक्रमको तालिका बनाइएको मोर्चाले जनाएको छ ।

त्यसैगरी, राजावादी संगठनले बिहान ११ बजे काठमाडौंको तीनकुनेमा भेला भएर शक्ति प्रदर्शन गर्दैछन् । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा हुन लागेको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले पनि स्वामित्व लिएको छ । दुर्गा प्रसाईंलाई कमाण्डर बनाइएकोमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा भने रुष्ट छ । यद्यपि, उसले पनि आजको कार्यक्रममा नैतिक समर्थन रहने जनाउँदै सहभागी हुन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

समितिले शुक्रबारदेखि सुरु हुने प्रदर्शनलाई ‘जनआन्दोलन’को नाम दिँदै राजसंस्था पुनर्स्थापना नभएसम्म आफूहरूको आन्दोलनले विश्राम नलिने दाबी गरेका छन् ।

‘भोलिदेखि हाम्रो जनआन्दोलन सुरु हुँदैछ । गणतन्त्र फालेर राजतन्त्र स्थापना नभएसम्म त्यो जारी रहनेछ,’ शुक्रबारदेखि आयोजना हुन गइरहेको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले भने ।

सवारी आवागमन प्रभावित

यसैबीच, गणतन्त्रवादी र राजतन्त्रवादीको प्रदर्शनलाई लिएर शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दुई फरक शक्तिको प्रदर्शनमा अप्रिय घटना हुन नपाओस् भनेर प्रहरीले बिहानैदेखि सुरक्षा सतर्कता बढाएको हो ।

काठमडौंको केन्द्र भागको सवारी आवागमन शुक्रबार बिहानैदेखि प्रभावित भएको छ । प्रहरीले रत्नपार्क, बागबजार, एनएसी, त्रिपुरेश्वरलगायत क्षेत्रमा सवारी रोकेका छन् । दिउँसो हुने कार्यक्रमका लागि ट्राफिक प्रहरीले बिहानैदेखि सवारी रोक्दा सर्वसाधारणले सास्ती पाएका छन् । यसबाट खासगरी एसइईका परीक्षार्थीले समस्या झेलेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष