राजावादीको प्रदर्शन हिंसात्मक, निजी घरमा आगजनी, दुई जनाको मृत्यु

काठमाडौं । राजावादीहरूले शुक्रबार राजधानीमा गरेको प्रदर्शन हिंसात्मक बनेको छ । यसक्रममा एक पत्रकारसहित दुई जनाको ज्यान गएको छ ।
राजावादीहरूले शुक्रबार ११ बजे काठमाडौंको तीनकुनेमा भेला हुन आफ्ना समर्थकलाई आह्वान गरेका थिए । सुरुमा शान्तिपूूर्ण रहेको प्रदर्शन १ बजेपछि हिंसात्मक बनेको हो । प्रदर्शनकारीले सुरुमा कोटेश्वरको एक घरमा ढुंगामुडा प्रहार गरेर आगो लगाइदिएका थिए । जसमा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको पुष्टि भएको छ ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले गोलीसमेत चलाएको थियो । त्यसक्रममा काठमाडौं कीर्तिपुरका सविन महर्जन नाम गरेका एक प्रदर्शनकारीको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । घटनामा दुवैतर्फ गरी ३५ जना घाइते भएका छन् ।
राजावादीहरूले प्रहरीले भीडलाई उत्तेजित बनाएका कारण आजको अप्रिय घटना हुन पुगेको दाबी गर्दै त्यसको जिम्मेवारी उसैले लिनुपर्ने बताएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि घोषणा गरिएको जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सभा गर्न आफूहरूले बनाएको मञ्चमाथि निजी घरबाट प्रहरीले अश्रुग्यास प्रहार गरेपछि उत्तेजित समूहले त्यसमाथि आगजनी गरेको बताए । प्रदर्शनकारीमाथि दमन गरेर उत्तेजित पारेकाले यसको जिम्मा पनि सरकारले नै लिनुपर्ने उनको भनाइ छ ।
प्रदर्शनकारीले जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा पनि आगो लगाइदिएका छन् । यद्यपि, उक्त आगो केहीबेरपछि नियन्त्रणमा आएको छ ।
उग्र प्रदर्शनकारीले निजी तथा सरकारी गाडीहरूमा समेत आगजनी गरेका छन् । उनीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गर्दै लुटपाटसमेत गरे ।
प्रहरीका अनुसार, प्रदर्शनकारीहरू नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय र सो पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइको घरमा समेत आगजनीको प्रयास गरेका छन् ।
आन्दोलनकारीले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा समेत आगजनीको प्रयास गरेका थिए । त्यसलाई प्रहरीले निस्तेज पारिदिएको थियो ।
सरकारले घटनाको निन्दा गर्दै दोषीउपर कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव छवि रिजालले घटनाको सूक्ष्म अनुसन्धान गरेर दोषीमाथि कडाभन्दा कडा कारबाही गरिने बताए ।
प्रतिक्रिया