माओवादीको पत्रकार संगठनमा नयाँ नेतृत्व, गिरी बने अध्यक्ष

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालले नयाँ कार्यसमिति पाएको छ । केही पदमा निर्वाचन र केहीमा निर्विरोध ढंगले पदाधिकारी तथा सदस्य चयन भएका हुन् ।
अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी दीपेन्द्र रावललाई फराकिलो मतान्तरमा पराजित गर्दै गिरी अध्यक्ष बनेका हुन् । गिरीले ३६६ मत पाउँदा रावलले मात्रै १७५ मत बटुले ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी विजयी भएका छन् । प्रतिस्पर्धामा रहेका सुरेश वर्देवालाई पाखा लगाउँदै अधिकारी निर्वाचित भएका हुन् ।
उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
महासचिवमा मनोज घर्ती मगर निर्वाचित भए । महासचिवका अर्का प्रत्यासी दीपेन्द्र शर्मालाई रोक्दै मगर महासचिवमा निर्वाचित भएका हुन् । मनोज ३७९ मत पाएर विजयी हुँदा दीपेन्द्र १७९ मतमा रोकिए ।
उपमहासचिवमा पाँच उम्मेदवारबीच प्रतिस्पर्धा चलेकोमा ज्ञानप्रसाद पौडेल १६५ मत ल्याएर विजयी बने ।
भूगोल बाहेक उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठान प्रदेशबाट केशव भुल र एशोसिएट प्रदेशबाट नन्दलाल तिवारी निर्विरोध निर्वाचित भएका छन् ।
खुलातर्फको २ सचिवका लागि भएको प्रतिस्पर्धामा सन्तोष देउजा र सुरेन्द्र चालिसे विजयी भए ।
त्यसैगरी, सचिव महिलामा अञ्जली थापा, सचिव समावेशीमा अवतार राई, कोषाध्यक्षमा वसन्त गिरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया