NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ८ गते

हाजिरी जमानीमा छुटे धवलशमशेर, रवीन्द्रको सम्भावना के छ ?

काठमाडौं । तीनकुने क्षेत्रमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्नको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवलशमशेर राणालाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ । हाजिरी जमानीमा छाडे पनि उनीविरुद्धको मुद्दा भने अघि बढ्नेछ ।

गत चैत १६ गते पक्राउ परेर २४ दिनदेखि प्रहरी हिरासतमा रहेका उनलाई प्रहरीले श्रीमतीको जिम्मा लगाएर आइतबार राति हाजिरी जमानीमा छाडेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले स्वास्थ्यका कारण राणालाई रिहा गरिदिएको जनाएको छ ।

यसअघि क्यान्सरबाट संक्रमित बनेका राणाको अप्रेसन गरिएको ठाउँमा मासु पलाएको भन्दै परिवारका सदस्यले हाजिरी जमानीमा छाड्न प्रहरीसमक्ष निवेदन दिएका थिए । प्रहरीले यसबारे सरकारी वकिलको कार्यालयसँग अनुमति लिएर उनलाई रिहा गरिदिएको हो ।

राणा प्रहरी हिरासतबाट मुक्त भए पनि उनीविरुद्धको मुद्दा प्रक्रिया भने अघि बढ्ने प्रहरीले जनाएको छ ।

गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साएको आरोपमा प्रहरीले राणासँगै राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई पनि पक्राउ गरेको थियो । उनी भने अहिले पनि प्रहरीको हिरासतमै छन् । संगठित अपराध कसुरमा प्रहरीले कुनै पनि व्यक्तिलाई ६० दिनसम्म नियन्त्रणमा लिएर अनुसन्धान गर्न सक्छ ।

त्यसैगरी, सोही घटनामा संलग्नको आरोपमा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत अन्य ८० जना पनि अहिले प्रहरी हिरासतमा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष