NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ९ गते

वडा सदस्यको लोभलाग्दो मेवाखेती

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले खरबुजाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय उनले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलपुर भएको छ। मेवा टिपेर बजार पठाउन उनी अहिले व्यस्त छन् ।

तीन बिघामा मेवाखेती गरेका महतोले ६० टन मेवा बिक्री गरिसकेका छन् । मेवा बिक्रीबाट करिब रु १८ लाख आम्दानी गरेको उनले बताए । मेवाको बिक्रीमा खासै समस्या नभएको उनको भनाइ छ । उत्पादन भएको मेवा मुख्यगरी वीरगन्जमा खपत हुने गरेको छ । वीरगन्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा सबैजसो माग गरेअनुसार पठाउँदै आएको उनको भनाइ छ । केही मेवा काठमाडौं पनि बिक्री गरेको महतोले बताए ।

गत वर्ष चैतमा नयाँ बिरुवा लगाएका महतोले असोजबाट बिक्री सुरु गरेका हुन् । असोजबाट फल पाक्न थालेको अहिलेसम्म लगातार बजारमा पठाउँदै आएका छन् । “मेवा बिक्रीका लागि बजारको खासै समस्या छैन, उत्पादन भएको मेवा बजारमा गएकै छ, अझ धरानबाट पनि मेवाका माग थियो, तर त्यता पठाइनँ, वीरगन्जमै खपत भएको छ,” उनले भने ।

मेवा प्रतिकेजी रु ३० देखि ४० सम्ममा बिक्री हुने गरेको किसान महतोले बताए । मेवाखेतीमा करिब रु १३ लाख खर्च भएको र यो याममा हालसम्म करिब रु पाँच लाख फाइदा लिइसकेको उनले बताए । अझै फल लाग्ने र पाक्ने क्रम जारी रहेकाले असारसम्म बिक्री हुने उनले बताए । उक्त समयसम्म करिब रु २०–२१ लाखको मेवा बिक्री हुने उनको अनुमान छ । यसले आम्दानी पनि बढाउने उनले बताए ।

मेवाखेतीबाट उनले आम्दानी मात्र लिएका छैनन्, स्थानीय २२ जनालाई कामका आधारमा ज्याला प्रदान गर्नेगरी रोजगारी दिएका छन् । मेवाको लगाएदेखि विभिन्न समयमा यसको गोडमेल गर्ने, मेवा टिप्ने, प्याकेजिङको काम गर्ने कामदारले मात्र करिब रु ९ लाख ज्यालाबापत बुझेको उनको भनाइ छ । कामदारसहित मुख्यगरी कम्पोस्ट मल र बीउमा खर्च हुने उनको भनाइ छ । सुरुमा लगानी गर्दा छ महिनासम्म आम्दानी नहुने हुँदा केही समस्या भए पनि त्यसपछि क्रमशः आम्दानी दिन थाल्ने हुँदा मेवाखेती त्यति गाह्रो पेसा नभएको उनको भनाइ छ ।

अहिले लगाएका बिरुवा असारसम्म फल टिपेपछि उक्त जग्गामा तरकारीखेती लगाउने महतोको भनाइ छ । हालका बिरुवाले अर्को याममा समेत फल दिने भए पनि सानो फल्ने भएकाले अर्को वर्ष पुनः नयाँ बोट लगाउनुपर्ने उनी बताउँछन् । उनले रेडलेडी प्रजातिको मेवाखेती गरेका छन् ।

मेवाखेतीका लागि कावासोती नगरपालिकाले रु तीन लाखसम्मको अनुदान उपलब्ध गराएको महतोले बताए । मेवाखेती गर्नुअघि उनले उक्त जग्गामा खरबुजाखेती गरेका थिए । खरबुजाबाट समेत राम्रो आम्दानी भएको महतोले बताए । कावासोती नगरपालिका–१७ का वडा सदस्यसमेत रहेका महतो यस क्षेत्रको कृषि पेसामा अरूका लागि अनुकरणीय बनेका छन् ।

रोजगारीका लागि सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले स्वदेशमा समेत मिहिनेत गरे राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेका छन् ।

“मलाई काम गर्न अप्ठ्यारो लाग्दैन, विदेशमा पनि लामो समय बसेँ, अहिले यहाँ कृषिमा रमाएको, आम्दानी ठीकै छ, मिहिनेत गरे सम्भावना नेपालमा पनि छ, सहजै त हुँदैन केही त गर्नैपर्यो,” उनले भने ।