NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ९ गते

शिक्षा मन्त्रीमा मेरो रुचि छैन : डा. शाक्य

काठमाडौं । राष्ट्रियसभाकी सदस्य डा. अन्जन शाक्यले शिक्षा मन्त्रीका लागि आवश्यक विज्ञता र रुचि दुवै आफूसँग नभएको स्पष्ट पारेकी छन् ।

राजधानीमा करिब तीन सातादेखि जारी शिक्षक आन्दोलनबीच शिक्षा मन्त्री विद्या भट्टराईले सोमबार मन्त्री पदबाट राजीनामा बुझाएपछि डा. शाक्यको नाम उक्त पदका लागि चर्चामा आएको थियो । यहीबीच शाक्यले शिक्षा मन्त्रीका लागि आफ्नो विज्ञता नभएको र रुचिसमेत नराखेको प्रष्ट पारेकी हुन् ।

‘केही सञ्चारमाध्ययममा म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर डाक्टर अन्जान शाक्य शिक्षा मन्त्री बन्दै भन्ने खालका भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो,’ डा. शाक्यले सामाजिक सञ्जालमा लेखेकी छन् ।

डा. शाक्यले अन्तर–व्यवस्थापिका सङ्घ (आइपियू) को दिगो विकास स्थायी समितिमा नेपालको इज्जत र प्रतिष्ठा उचो बनाउने गरी आफू सक्रिय हुने पनि बताएकी छन् । शाक्य हालै अन्तर–व्यवस्थापिका सङ्घ (आइपियू) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नातेदार भएका कारण अवसर दिइएको भन्ने आरोपतर्फ संकेत गर्दै उनले आफू कर्तव्य र इमानदारिताका लागि अन्तर्राष्ट्रिय समुदायबाट सम्मानित भएको नबिर्सन पनि स्मरण गराएकी छन् ।

‘पूर्वराजदूतको समेत जिम्मेवारी सम्हालिसकेको अनुभव मात्रै होइन आफ्नो कर्तव्य र इमानदारिताका लागि विश्व समुदायबाट सम्मानित भएर अन्तर्राष्ट्रिय पुरस्कारहरू समेत पाइसकेको व्यक्ति हुँ भन्ने जानकारी पनि यहाँ स्मरण गराउँन चाहन्छु,’ उनले भनिन् ।

ताजा अपडेट

नेपालवाच विशेष